May 30, 2009

फूल र काँडा

-अपराजिता
सहिदको पवित्र हातले रोपेको फूल जोगाउन
मालीहरु आइसके
काँडाहरुले त छिट्टै फूल झरेर जाओस् भन्ने चाहान्छन्
तर काँडाहरुको छलकपटको सोचदेखि
सारा नेपाली जनता अघाइसके
किनिक
फूलहरुका कोपिला झन्-झन बढ्दै गइरहेका छन्
बगैचामा छैन त फूल आज के भो
मानिसको आत्ममा छ
मानिसको स्वच्छ मन र स्वच्छ सोचाइमा छ
हरेक सन्ततिहरुको जन्माइमा छ
खुसीको लहर फैलाउने जमातमा छ

अर्थबिनाका काँडाहरुको अब पालो पुगिसक्यो
अब पालो केबल फूलहरुको छ
फूल जोगाउने मालीहरुको छ
सहिदको पवित्र हातले रोपेको त्यो फूल जोगाउन
विजयी हामी हुनुपर्छ
सभ्यता तुहाउने काँडाहरुलाई जरैबाट उखेल्नुपर्छ ।

क्रान्ति मन पराएँ

-ध्रुवसत्य
मेरो देश हरायो आमा ! म देश खोज्दा हराएँ
शान्तिलाई प्रेम छदैछ तर क्रान्ति मन पराएँ

कता-कता भरोसा लाग्दथ्यो छ एक सत्य माटो
यो अभिशाप धर्म र जात कसले ल्यायो फाटो ?
मेरो जात हरायो आमा ! म जात खोज्दा हराएँ
शान्तिलाई प्रेम छदैछ तर क्रान्ति मन पराएँ

धर्मयुद्ध, गृहयुद्ध, सीमायुद्ध जहाँ जे चल्छ
छैन मूल्य मान्छेको सिपाही ढल्छ, विद्रोही जल्छ
मानवता हरायो आमा ! म मान्छे खोज्दा हराएँ
शान्तिलाई प्रेम छदैछ तर क्रान्ति मन पराएँ

May 29, 2009

एउटा फूल हाँस्दैमा नै

-नदीश
एउटा फूल हाँस्दैमा नै वाग हाँस्छ र ?
एउटा मान्छे बाँच्दैमा नै धर्ती बाँच्छ र ?
रित्ता थैली भर्न जसले आफैलाई नै बेच्नुपर्छ
जून तारा छुने उसले सपना साँच्छ र ?

जीवन खोज्दै हिँड्नेहरु पल-पल मुर्छा पर्छन्
जीवन बीच सड्नेहरु ज्यूँदो बनी भ्रम छर्छन्
तिमी खुसी बाँड्छु भन्छौ दुखीलाई निमन्त्रणा
दैनिक तिम्रो जन्मदिनमा भोको नाच्छ र ?

कोटभित्रै खोट सबै लुक्छ भन्छौ तिमीहरु
नाङ्गो शरीर हुनेहरु लाज ढाकी हिँड्छन् बरु
मिली बस्नु पर्छ भन्छौ सयौँ थुङ्गा बराबरी
फूलमा काँडा मिसाई कोही माला गाँस्छ र ?

May 26, 2009

गन्तव्य नछोई

-विपल वसन्त
गन्तव्य त्यो नछोई अब
फर्कन्न त्यो राते
स्वीकार हर पराजयको
गर्दैन त्यो राते ।

खोसेर गाँस लुटेको मस्ती
त्यो भासभित्र डुबाई बस्ती
बस्ती र गाँस नफिरेसम्म
फर्कन्न त्यो राते
गरिबमाथि शोषण-दमन
मान्दैन त्यो राते ।

बन्याथ्यो कैले गाँस लहरा
पुग्याथ्यो कैले बास पहरा
मिर्मिरेसँगै लालीमा लिई
झुल्किन्छ त्यो राते
कसैको शिरमा कसैको पाउ
सहदैन त्यो राते ।

आइरहे पो दुःख-सुख

-सर्गमञ्जरी
आइरहे पो दुःख-सुख जिन्दगीको पार हुन्छ
छाइरहे पो आँसु-हाँसो जिन्दगीको सार हुन्छ

कति शान्त, उज्ज्वल छन् सधै धर्ती हेर्ने तारा
गाइरहे पो शान्ति धुनी कलहको हार हुन्छ

सिमसिमेको चालै हुन्न, आखिर धर्ती गलाउछ नै
धाइरहे पो समुन्द्रको आफ्नो छुट्टै धार हुन्छ

नुहिएको बालाभित्र स्वाभिमानको झुल्छ शिर
साइरहे पो कुना-काप्चा बाँझो धर्ती टार हुन्छ

मिर्मिरेलाई स्वागत गर्न डुब्नुपर्छ घाम पनि
पाइरहे पो सञ्जिवनी मञ्जरीको घार हुन्छ

May 25, 2009

घामलाई सलाम

-नाकिमा
क्षितिजमा उदाएको घामलाई सलाम
अँध्यारो त्यो चुमिदिने कामलाई सलाम

आखिरीमा युगले आँधी चलाएरै छाड्यो
पुराना ती पातपतिङ्गर जलाएरै छाड्यो
कायापलट गरिदिने यामलाई सलाम
अँध्यारो त्यो चुमिदिने कामलाई सलाम

तारे भीर काटे पनि शिखर टाढा छ
तर लक्ष्य छोई छाड्ने कसम गाढा छ
यस्तो साहस भरिदिने लामलाई सलाम
अँध्यारो त्यो चुमिदिने कामलाई सलाम

के छ त हुकुम

-कपिल अन्जान
अब के छ त हुकुम महारानी
उस्तै छ रोल्पा र रुकुम महारानी

मानव भएर खाएँ थालमै चुठायौ
कसरी म त्यही थुकुम् महारानी

हुन त वीर नेपालीको छोरो म त
को कस्को अघि झुकुम् महारानी

कुकुर भन्यौ ठीक छ बफादार भएँ
दैलोमा कतिन्जेल ढुकुम् महारानी

वास्तविकता सब छर्लङ्ग भएपिछ
पर्दा पछाडि किन लुकुम् महारानी

छानो सल्काएर हाँस्छन् मान्छेहरु
कसरी जलेर म दुखुम् महारानी

May 23, 2009

सम्झनाको भारी

-मंजु मार्मिका
देश तिम्ले भुल्यौ कि त चट्टै माया मारी
बिसाउँ कि बोकूँ मैले सम्झनाको भारी

टेम्के वनमा चाँप फुल्छ तिमी कहाँ फुल्छौ
गैरी खेतमा झुल्यो धान तिमी कहाँ झुल्छौ
भंज्याङ छोडी गयौ तिमी गावै एक्लो पारी
बिसाउँ कि बोकूँ मैले सम्झनाको भारी

मेलापात, पधेरीमा खाँचो हुन्छ तिम्रो
फर्की आऊ स्वदेशमै गरौं काम हाम्रो
भेलबाढीले लग्यो बरै हाम्रो खेतबारी
बिसाउँ कि बोकूँ मैले सम्झनाको भारी

आगो वर्षाउने कसम

-विशद
मुस्लोको कालो पंक्षी होइन म
आगो वर्षाउने कसम छ मेरो
ऐनाको झूठो रश्मि होइन म
बिहानी ल्याउने कसम छ मेरो

काँडा नै सही म टेकेर हिँड्छु
रोक्ने को हो म खुलेर भिड्छु
न रोक्न सक्छ कसैले
बाटो खुलाउने कसम छ मेरो
न छेक्न सक्छ कसैले
चुलीमा पुग्ने कसम छ मेरो

अठोटमा छु म अहममा होइन
कसैको मीठो भ्रममा म छैन
तिम्रो आसको भरोसा भएर
तिमीलाई जिताउने कसम छ मेरो
नयाँ युगको नयाँ सोच हेर
दुनियाँ बदल्ने कसम छ मेरो

May 22, 2009

प्यारो स्वाभिमान

-मुना निश्चल
नेपालकी छोरी हुँ म नेपाल मेरो प्राण
कंचन छ निर्मल छ प्यारो स्वाभिमान

देश छोएरै बाँच्छु म त देश ओढेरै हाँस्छु
मैले टेक्या माटोसँगै म त नाता गाँस्छु
गले गलोस् ढले ढलोस् यही मेरो ज्यान
कंचन छ निर्मल छ प्यारो स्वाभिमान

भाषा संस्कार बोक्छु म त चारै किल्ला छेक्छु
रङ्गीचङ्गी फूल फुल्या यही देशमा देख्छु
फुले फुलोस् झरे झरोस् यही मेरो ज्यान
कंचन छ निर्मल छ प्यारो स्वाभिमान