Mar 31, 2010

जाली तिलहरीहरु

- विशद
उड्न देऊ दिदी मनभित्रका चरीहरु
हुर्याइदेऊ अब जाली तिलहरीहरु

फरियामा आँशु पोखी
धमिलिन्छ्यौ किन ?
सिन्दुरमा जीवन जोखी
बालि दिन्छ्यौ किन ?
जन्माऊ न फेरि आकाश छुने परीहरु
हुर्याइदेऊ अब जाली तिलहरीहरु

दैलोमै जून टेक्छिन्
आवाज त देऊ
सँगसँगै धर्ती फुल्छिन्
कहाँ लाचार छ्यौ
घेर बादल फेर आकाश ए ! नवनारीहरु
हुर्याइदेऊ अब जाली तिलहरीहरु

Mar 30, 2010

जिउँदै घाँटी निमोठी

- शकुन आँसु
जिउँदै घाँटी निमोठी मारिएकी नारीहरु
बोल, बोल रापिएर खारिएकी नारीहरु

समानताको अंश खोज्दै एकाएक उठौँ माथि
मान्छेबाट मान्छे तल झारिएकी नारीहरु

लेखान्तको कुरा हुन्न चेतनाको कुरा हुन्छ
बिना न्याय धकेलेरै सारिएकी नारीहरू

घरभित्र हेलिएर घरभित्रै मर्ने मान्छे
तीनै हुन् गृहबन्दी पारिएकी नारीहरु

Mar 28, 2010

ललितपुर र खोटाङमा एकैसाथ सिर्जना सागर सम्पन्न

१४ चैत्र । २८ जना स्रष्टा/स्रोताहरुको उपस्थितिसहित 'सिर्जना सागर'को १९ औँ श्रृङ्खला सम्पन्न भएको छ । प्रभास साहित्यिक समूह केन्द्र र अखिल नेपाल लेखक सङ्घ ललितपुरको आयोजनामा संचालित सिर्जना वाचन/श्रवनको उक्त मासिक कार्यक्रम हरेक महिनाको दोस्रो शनिबार ललितपुरको लगनखेलस्थित नमूना उ.मा.वि.मा सम्पन्न हुँदै आएको छ ।

यसैगरी खोटाङमा पनि प्रभास साहित्यिक समूह खोटाङको आयोजनामा उस्तै प्रकृतिको कार्यक्रम 'सिर्जना सागर'को पहिलो श्रृङ्खला सम्पन्न भएको छ । सदरमुकाम दिक्तेलस्थित किरात राई विद्यार्थी सङ्घको हलमा सम्पन्न पहिलो श्रृङ्खलामा १९ जना स्रष्टा/स्रोताहरुको उपस्थिति रहेको थियो ।

Mar 22, 2010

इनार

- ध्रुवसत्य
इनारलाई के थाहा
कुनै मुर्ख सिँहले
आफ्नै प्रतिबिम्बको हत्या गर्ने हठ लियो
अथवा आत्माहत्या गर्ने

इनारमा
सिँहले सिँहलाई नै देख्छ त
मान्छेले आफूलाई मान्छेनै देख्छ

र कुनै पनि कथित दलित
इनारको छेउ पुग्यो भने
उसले आफूलाई मान्छेनै देख्नेछ

जोसुकैले जन्मभूमिमा इनार खन्न सक्छ
इनारमा आफ्नो मौलिक अनुहार हेर्ने अधिकार
सबैलाई भएजस्तो
यो सरकारलाई पनि छ

बाहिरी बनावट जस्तो छ
त्येस्तै प्रतिबिम्ब देखिन्छ
यो इनारमा

हो, इनारमा
कहिल्यै पनि टोपी लागाएको मान्छेले
श्रीपेच लगाएको प्रतिबिम्ब देख्न सक्दैन ।

Mar 21, 2010

सलाम छ

- गजेन्द्र 'टुहुरे'
सङ्घर्षको मैदानमा युद्व लड्नेलाई
सलाम छ उत्साहाले अघि बढ्नेलाई

प्रभातको किरणजस्तो विचार सम्मान छ
शाषकलाई ध्वस्तै पारौं अधिकार सम्मान छ
न्यायको निम्ति हजुर युद्व लड्नेलाई
सलाम छ उत्साहाले अघि बढ्नेलाई

दुःख-पीडाको बिसाउनीमा खिल संगाल्नू
लडिएला चुरेतिरै चोमोलुङमा अंगाल्नू
संसारलाई बदल्ने युद्व लड्नेलाई
सलाम छ उत्साहाले अघि बढ्नेलाई

Mar 14, 2010

दुःख फुल्ने फूलबारी

- सर्गमञ्जरी
दुःख फुल्ने फूलबारीको माली कराएछ
निसाफ गर्न अदालतमा जाली डराएछ

जुन नुनले खून दिन्थ्यो त्यै खून नै लीन भयो
घैयाबारी साउने थोत्रो फाली हराएछ

मृत्यु तार्ने नाउँ छैन मायालुको गाउँ छैन
घर गोठ पधेँरी सब खाली गराएछ

धर्ती-आकाश मौन बस्छ मौन बस्छ जून
ममताको बाला झुल्ने आली चराएछ

Mar 9, 2010

मेरा गाउँलेहरु

- मंजु मार्मिका
यहीँ छ जीवन
सँगै बेजोड बस्तीहरु
प्रकाशका निम्ति
ठाँउ खोजिरहेका शक्तिहरु ।

यो मेरै गाउँ हो
दन्केको छ भोकको ज्वाला
त्यै ज्वालामा पिल्सीरहका छन् पेटहरु
पाली रहेछन् गिट्ठा अनि भ्याकुरले जीवन
एक मुठ्ठी माटोको निम्ति
नाउँ खोजिरहेछन् छातीहरु ।

भालेको डाकमा उठ्छन्
मध्यरातमा भोकै सुतछन्
बाढीले बगाएको उर्वर भूमिलाई
छातीमा राखेर लमतन्न छन्
विदेशी ऋणको भारी बोकेर
यिनै बेतिथिको बेवास्ताका लागि
खोजिरहेछन् साथीहरु ।

यही छन् दुःख अभाव
अनि वेदनाका कथाहरु
कतै छन् परिवर्तनका मोहक दृश्यहरु
ब्वाँसाहरु अपाङ्गको बैशाखी
खोसेर सगरमाथा चढिरहेछन्
सम्भावनाका ढोकाहरु बन्द गर्दै
विरताको प्रदर्शन देखाईरहेछन्

तर
थाहा भइसकेको छ गाउँलेहरुलाई
चेलीहरु सीमापारिका
रेडलाइट एरियामा छन्
कान्छाहरुलाई मानव यन्त्र बनाइएको छ
पहाडी भित्ताहरुमा रोपिएका रक्तविजहरु
एकाएक समथर मैदान अनि सडकमा उमि्ररहेछन् ।

र त अन्तिम विकल्प खोजिरहेका छन्
विद्रोहको भाषामा
मेरा गाउँलेहरु र म पनि