Mar 30, 2011

विशेष दिनहरु

एस.के किरण



       अब मैले तयारी गर्नै पर्छ भोलि नै को पो कार्यक्रम ! अर्थात एउटा विकासे मान्छे कहाँ कति विकास गर्ने कहाँ कति पैसा बाड्ने कहाँका मान्छेलाई दुई चार दिन मिठो मसिनो खुवाई गर्जो टारिदिने त्यसको निर्णय गर्नेवाला भोलि उसको विशेष दिन तर आजको विशेष दिनको कार्यक्रमले उसलाई गलाइसकेको रसको स्वाद सिद्धिइसकेको अघि नै हो तर पेटमा गएर उपस्थिति जनाउन थालिसकेको तर जसरी भए पनि उसलाई भोलिको लागि तयारी गर्नुपर्ने थियो

     ऊ विगतमा जान खोज्छ गाडीबाट सयर गरेका ठाउँहरु (भित्री कुरो : उसलाई ती गाउँमा जादाँ कतिखेर आफ्नो .सी. वाला गाडीमा जाउँ जस्तो लागेको थियो) भोलिको चाराहरु महिलाहरु सम्झिन पुग्छ त्यतिखेर पनि केहि सय रुपैया थापेको थियो बल्छीमा बर्ढान सफा गर्न लगाएर जुन बल्छीमा पछि लाखौ रुपैँया परेको थियो त्यहको समस्या उठान गर्न थाल्दा महिलाहरु बाहिर निस्कन नपाउने नचिनेका मान्छेसँग बोल्न नपाउने सफा नभएको जहाँतहिँ फोहोर, प्रसवकालमा मृत्युवरण, इत्यादि इत्यादि
        लेख्दा-लेख्दा एउटा सानो तिनो प्रतिवेदन तयार भएछ फलाना गाँउको तत्कालिन स्थलगत रिर्पोट … .. रसले आफ्नो प्रभुत्व देखायो आफु बिजयी हुनु आवश्यक पनि थिएन उसलाई, रसलाई बिजयी गरायो
     आज उसको दिन शानदार भयो अहिले उसलाई बल्छी थाप्नु पनि परेन पहिलेको बल्छीले नै काम गरेको थियो तर पनि लाखौं उसको हातमा आउनेछ अबका केहि दिनमा
धत्तेरीकाभोलि पनि विशेष हो भोलि पनि बल्छी थाप्नु युवालाई लिएर कस्तो बिसे्रको हे रस आज पनि पछि प्रभाव देखा है ………

Mar 27, 2011

समाज विहीन

प्रतिमा पाठक

समाज विहीन घरमा उभिएछ काठमाडौं
विश्वासहीन डरमा भासिएछ काठमाडौं

घरै-घरको चिहान खन्दै छन् हातहरु
लुटिएका रहरमा बाँधिएछ काठमाडौं

सूर्यमुखी, सूर्य खोज्छे काठमाडौं सहरमा
अन्धकारको प्रहरमा पोतिएछ काठमाडौं

मान्छेहरुको छातीभित्र निरासाले परेड खेल्छ
अभावको लहरमा दौडिएछ काठमाडौं

देशभरिकै समस्या पारि तार्न खोज्दै
अस्तव्यस्त नहरमा पौडिएछ काठमाडौं

Mar 23, 2011

यही त दासता हो

विशद

न फुल्छ गौरव छाती
न उठ्छ शिर माथि
यही त दासता हो

बोक्छौ तिमी आकाश
र बोक्छौ नयाँ मालिक
पुज्छौ यो धर्ती
र माटो चोर्ने शालिक
न बाँच्नु न मर्नु
यही त दासता हो

खै उठेको मुठ्ठी
खै उठेको लाठी
देश नै बिलाइसक्यो
खै जलेको छाती
चुपचाप पखिरहन्छौ
यही त दासता हो

Mar 22, 2011

तिम्रो भगवान

नाकिमा 

खुब रिसाएको छ रे मसँग
तिम्रो भगवान

'ढुङ्गा कसले टाढा मिल्काउने है ?'
बच्चा छदा खुब खेलियो यस्तो खेल
गट्टा पनि त थोरै खेलेको होइन
बाउले मुतिन्जेल कनसिरी तानेको
अहिले जस्तो लाग्छ

मूलबाटो हिँड्दा
कत्ति हानियो ढुङ्गालाई लात्ती

रुखमाथिको आँप झार्न पनि उही ढुङ्गा
बाँसघारीको चरा मार्न पनि त्यही ढुङ्गा
ट्वाइलेट नभएको ठाउँमा
ट्वाइलेट पेपरको सट्टा पनि ढुङ्गा !

रिसाउँछ
जरुर रिसाउँछ
ढुङ्गा उर्फ तिम्रो भगवान ।

Mar 15, 2011

जल्लाद लेखिदियो

 कपिल अन्जान

नियतीले निधारमा जल्लाद लेखिदियो
यस्तो लाग्छ उपहारमा जल्लाद लेखिदियो

बा आमाले के-के बनाउने सोचेका थे
किन त्यती हतारमा जल्लाद लेखिदियो

आकाश र धर्तीको दुरी नाप्न सक्दिन
मलाई मात्र संसारमा जल्लाद लेखिदियो

न जिन्दगी बदल्न सक्छु न न्याय पाउन सक्छु
कसैले हिजो अखबारमा जल्लाद लेखिदियो

पहिचान बनाउन अब बर्षौ लाग्नेछ
जोडेर गजलकारमा जल्लाद लेखिदियो

Mar 8, 2011

ए होइ बोल्छ पिरती

मुना निश्चल

यो ठाउँको डाँडाकाडा भाज्याङ चौतारी
चौबन्दीको तुनाले ए होइ बोल्छ पिरती

गुन्जिन्छ यो वनपाखा कोइलीको भाका

हरियाली मनोरम छ मझुवाको पाखा
डोको-नाम्लो दाउरा-घाँस रोधी-जुहारी
चौबन्दीको तुनाले ए होइ बोल्छ पिरती

उकाली र ओराली झरना खोला बगर

झरनाजस्तै नदीजस्तै सङ्लै छ रहर
मेलापात खेतबारी नागी देउराली
चौबन्दीको तुनाले ए होइ बोल्छ पिरती

Mar 6, 2011

भूत

विशद

 

मार्टिनकी आमा नातीलाई सँगै च्यापेर सिकागो शहरको सडकमा ओर्लिइन् । उनीसँगै सडकमा ओर्लेका हजारौ अमेरिकीहरु प्रेसिडेण्ट चुनावको नतिजा सुन्न निकै व्यग्र थिए । सडकको ठूलो टिभीस्क्रिनमा नतिजा देखाइनुअघि सबैको धड्कन एकदमले रोकियो ।

धेरैले सोचेजस्तै मिस्टर ओबामाले बाजी मारे । मार्टिनकी आमा आँखामा रसाएको आशु पुछ्दै नातीसँगै जोडजोडले उफ्रिइन, ताली बजाइन्, लगभग नाँचीन्। त्यो भीडको मन्चमा सुन्दर श्रीमती र छोरीको साथमा अमेरिकाका पहिला काला प्रेसिडेण्ट मिस्टर ओबामा आइपुगे । मान्छेहरुले यो रोमान्चक माहोलको पुरापुर आनन्द लिए । जब ओबामाले इराकबाट एक वर्षमै सेना फिर्ता बोलाइन्छ भनेर भाषण गरे गड्गडाहट तालीले सिँगो आकाश थर्कीयो । त्यो गड्गडाहटमा मार्टिनकी आमाको ताली सबैभन्दा चर्को सुनिन्थ्यो । अब उनलाई पक्का विश्वास भयो उनको सैनिक छोरो जो धेरै डलर बटुल्ने सपना लिएर इराकमा खटिएको थियो अब ठिकठाक घर फर्कनेछ । उनलाई विश्वास यो कारणले पनि थियो किनकी यो पालीको प्रेसिडेण्ट उनकै काला जातिमध्यको एक थियो ।

मार्टिनको बुवा पनि सेनामै थिए । केहि वर्षअघिसम्म उनी अफगानिस्तान युद्धमा खटिएका थिए । एकदिन अचानक जागीर छोडेर उनी घर फर्किए । मार्टिनकी आमाले धेरैपल्ट कारण सोधेपछि उनले भनेथे "यहाँ गोराले हामी कालामाथी हेप्यो भनेर उठ्ने हातले अब साम्राज्य बढाउने नाउमा निर्दोष अफगानीको हत्या गर्न सक्दैन ।" घर फर्किएको भोलीपल्टबाटै धेरै मिडियाले उनलाई गद्दारको उपमा दिन थाले र अन्ततः त्यहि कारणले उनले आफ्नो मानसिक सन्तुलन गुमाए । आफ्नो अन्तिम घडिमा मार्टिनको बुवा "भूत ! भूत !" भन्दै कराउदै मरे । त्यसपछिदेखि नै इराकमा रहेको आफ्नो छोरोको चिन्ताले मार्टिनकी आमालाई पिरोल्न सुरु गर्यो ।

ओबामा प्रेसिडेण्ट चुनिएको एक दुई तीन वर्ष बित्यो । इराकमा हजारौं मान्छे मारिएको समाचारले मार्टिनको घर झन्-झन् त्राशमय हुन थाल्यो । मार्टिनकी आमाले दिनहुँजसो आशा लाग्दो आँखाले फ्रेममा सजिएको ओबामाको तस्विर हेर्न थालिन् ।

सन् २०११ को नोभेम्बरको एउटा चिसो साँझमा टिभीले फुक्यो उनको छोरो पनि अब कहिल्यै फर्कन नसक्ने भएर यो संसारबाट विलाएको खबर । उनी एकदमै ढुँगाजस्तै भइन् विल्कुल गतिविहिन । फेरि अचानक उठिन् उनी र बिस्तारै बढिन् कालो प्रेसिडेण्टको तस्विरतिर । उनले त्यो फ्रेमलाई जोडले भुइँमा पछारिन् । फ्रेमको सिसा ठूलो आवाज आउने यरी फुट्यो । त्यसपछि उनले फुटेको फ्रेमबाट ओबामाको तस्विर निकालिन् । फोटो च्यातचुत पारिन् । नातितिर फर्किएर उनले सानो स्वरमा बोलिन् "बाबु ! त्यो ह्वाइटहाउसमा जो आएपनि अन्त्यमा भूत बन्छ भूत मान्छे मार्ने भूत ! त्यहाँ कहिल्यै नजानु है ।" बुढी फेरि पागलझै हाँस्न थालीन् ।

Mar 5, 2011

अक्षरसँग : दोस्रो शृङ्खला

source: www.alagabhiyan.blogspot.com
मितीः                    ०६७-११-२१
स्थान/समयः           रातोघर, रविभवन/२:३० बजे
समीक्षक:                पुरुषोत्तम सुवेदी
अतिथी कविः           विमल निभा, लक्ष्मी माली
सहभागी कविहरुः      अर्जुन खालिङ, चन्द्रवीर तुम्बापो, तिलक चाम्लिङ, 
                             ध्रुवसत्य, फुलमान बल, राबत, संगीतस्रोता
संचालन :                नदीश 

Mar 3, 2011

आँधीको आख्यान


स्व. स्वप्निल स्मृति

सर्वप्रथम त
कालो निलो क्षितिजबाट
विजुलीको चम्किलो हस्ताक्षर आइपुग्यो
र प्रत्येकको निधारमा लेखिदियो क्रान्ति
त्यसपछि चट्याङग्रस्त पहाडबाट
गल्र्याम्म ! रुखहरु ढलेको आवाज आइपुग्यो
क्रमशः बतासमा तैरिँदै
शिरीषको फूल र पतझडको पतिङ्गर आइपुग्यो
फूलको सुगन्ध आइपुग्यो
अन्ततः हजार वर्षको सन्नाटा सोहोर्दै
सहरमा आँधी आइपुग्यो ।

जब आँधी आइपुग्यो सहरमा
हजार वर्षसम्म सन्नाटा पुजेर बस्नेहरुको
घर-घरमा छिर् यो
भोकमरीमय भान्साकोठाका थाल बटुका राखनधारन
ईश्वरविहीन पूजाकोठाका सर्पदेवताका थान पूजाका थाली
ऐसआरामसून्य सिटिङ रुमका ऐना फूलदानी महाराजको तस्विर
सप्पैसप्पै ल्याङफ्याङ फाल्दियो र
घोर अशान्ति मच्चाइदियो ।

जब आँधी आइपुग्यो
हजार वर्षसम्म एउटै कुरा सत्य मान्ने बुद्धिजीवीहरुको पुस्ताकालयमा पस्यो
पल्टाउँदै फररर…धर्म इतिहास र संविधानका पुस्तक
यति छिटो पढ्यो कि के बुझ्यो कुन्नि
गड्यागुडुम लडायो-
किताबले भरिएका दराज-टेबल
उनीहरुको सत्य त्यही थिचिएर मर् यो ।

सहरमा आँधी आइपुग्दा
जुम्रा मारिरहेको थियो न्यायपालिका
सरकार शान्तिको गीत गाइरहेको थियो
राष्ट्र निर्माताको जन्मोत्सवमा
सहरवासी मैनवत्ति जलाइरहेका थिए
भुस्याहा कुकुरहरु
आलस्यमा लडिरहेका थिए यत्रतत्र
राष्ट्रप्रमुख आफ्नो जन्मदिनको उपलक्ष्यमा
मुलुकवासीलाई बडो प्रेमले सम्बोधन गरिरहेको थियो ।

जब आँधी आइपुग्यो सहरमा
आँधीको पदचापले गर्जियो आकाश धर्ती
पानीको छिटाले हिर्काउन थाल्यो मानिसको अनुहार
हावाको गतिले धकेल्न थाल्यो मानिसको चेतना
मन्दिरका गजुर विजुलीका पोल
चोकचोकमा टाँगिएका प्रजातन्त्रका होर्डिङ बोर्ड
चौबाटोबीच उभिएको बादशाहको शालिक
दरबारको वार्दलीमा सुकाइएका बादशाहका लुगाफाटा
बादशाहले सडकमा बिछ्याएको सुशासनको विस्कुन
सप्पैसप्पै उडाइदियो आँधीले
कि ती फगत् कसिङ्गर थियो ।

जब आँधी आइपुग्यो सहरमा
शोकमा सधैँ झोक्राइरहेजस्तो राष्ट्रिय झण्डा
जोडजोडले फर्पुराउन थाल्यो ।