Jun 24, 2011

इँटाको रातो जङ्गल

 स्व. स्वप्निल स्मृति

कसरी भन्न सक्छु
यो सहर मेरो हो
जबकि गाउँमा बितेको थियो मेरो बालापन
निकै लामो दूरी पार गरेर मात्र
म जहाँ उभिइरहेको छु- यहाँसम्म आइपुगेको हो ।

पहिले म कहिल्यै एक्लो थिइनँ
जब घरमुनिको कान्लाले छेक्दै गयो
गाउँ त्यस्तरी छोडिँदै आयो
जब खोला तरेँ
तब लाग्यो म साँच्चिकै कतै जाँदैछु
कि यहाँ आइपुग्दा
निदाइरहेको थिएँ म मालबाहक ट्रकमा
जब ब्युँझिएँ यहाँको कोलाहलले
कि बहुराष्ट्रिय कम्पनीका एजेन्टहरुले
लात्ताले हिर्काउँदै झारे
ट्रकको मालसँगै मलाई
त्यस्तरी म एउटा भँगालो
मिसिएँ यो मान्छेहरुको महासागरमा
त्यस्तरी म एउटा इँटा
थपिएँ यो इँटाको रातो जङ्गलमा
त्यस्तरी म एक चोइटा सिसा
कस्तरी जोडिएँ यो काँचको अग्लो दलमा ?
कसरी भन्न सक्छु म
यो सहर मेरो हो
कि हारालुछ भीडमा पाउँछु म आफूलाई बिलकुल एक्लो ।

म सोच्न सक्छु-
मान्छे कसरी जोडिने अर्को मान्छेमा
जब भुस्याहाभन्दा सहज मारिन्छन् मान्छे जेब्राक्रसमा
कालभैरव चक्कु हान्छ साइबर क्याफेमा
महादेव सिरिन्ज हान्छ र बौलाउँछ नाइट क्लबहरुमा
राजकुमार एके-४७ खेलाउँछ र भुइँचालो जान्छ टोलटोलमा
मान्छे कसरी मान्छे बन्ने ?
म देख्छु-
नयाँ सडक धमाधम लुगा फुकाल्दै छ जिन्स पुस्ताको
र प्रत्येकलाई बदल्दै छ सुपरमार्केटको डमीमा
जहाँ रिमोट कन्ट्रोलले चलाउँछ मान्छे
र थोत्रो बनाउँछ मष्तिस्कको पुर्जा
कस्तो सुखको रङ हो यो ?
दरबारमार्गमा दुईटुक्रा बिकिनी किन्दिएर
उफार्दै छ ज्याजमा बि्रट्नी स्पेयर्सहरु
ठमेल सय रुपैयाँमा सम्भोग गरेर लखेट्दैछ समलिङ्गी
यहाँको खुसीको विषय हो यो
पुतलीसडक डीभी परेर भाँडा माझ्दै छ अमेरिकाको
म आफैँलाई देाष दिन्छु-
यी दुनियाँ सवाल उठाउने म पागल हो ।
मध्यमवर्गीय बार्दलीमा
यस्ता हाइबि्रड आमाहरु घाम ताप्दै छन् ।
छोरी क्याटवाक गराउँछन् डिजिटल र् याम्पमा
बुहारी नाङ्गै बनाउँछन् पूजाकोठामा
यो आधुनिक धार्मिक सहर
सायद यिनै आमाहरुको हो ।
एटीएम रुममा
कस्ता तनावग्रस्त बुबाहरु छन् भने
सहर हल्लाउने एउटा मोटरसाइकल नकिन्दिए
हिप्पी गलफ्रेन्डलाई बुहारी नस्वीकारे
जङ्की छोराहरुले दिएका छन् आत्महत्याको अल्टिमेटम
यो सहर
सायद यिनै छोराहरुको हो ।

हमेसा पुरातात्विक क्षेत्रमा
मुस्कुराइरहेछन् पोलिथिनका माउन्ट एभरेस्ट
यसरी चलिरहेछ प्रदुषणको आँधी
सहर सुरसा हो र टकटक्याइरहेछ विद्रुप जिउ
यस्तो लाग्छ-
मभित्रको आदिकविसित छ यति नेगेटिभिटी
म कसरी वर्णन गर्नसक्छु यहाँको क्लनिङ ऐश्वर्य
कि फूल गोड्दागोड्दै
जन्माउनुभयो आमाले मलाई फूलबारीमा
अझै छ फूलको बासना ममा
त कसरी हुनसक्छ यो सहर मेरो ।

ग्यालरीमा सुसज्जित परीका पोट्रेट
र मिनरल वाटरका बोतलले सडक हिर्काइरहेका
महानगरका धनाढ्य श्रीमतीहरु
चोकमा स्थापित महापुरुषका सालिक
र ब्यान्डबाजा बजाइरहेका यहाँका सवारी चालक
यो सहरजस्तो छ वटा सहर जुवा हान्नसक्ने कुनै जुवाडे
वा पहाड ताछेर टाउन प्लानिङ गरिरहेका जग्गा दलाल
कसको हो यो सहर
यी बबरमहल केशरमहल हरिहरभवन बसन्तपुर
जसले बनाउँछन् धरहरा घण्टाघर रानीपोखरी…
ज-जसको छ कम्तीमा ए-एउटा ओडार
के तिनीहरुको हो ?
कति मर्छन् किच्चिएर यी महलका निदाल ओसार्दा कमिला-कामदारहरु ?
कति पुरिन्छन् भग्नावशेषभैष माटो थुपार्दा ट्याक्टर-मेरुदण्डहरु ?
कति टाँसिन्छन् बुट्टामै टुँडाल कुँद्दा कालीगढ-मनहरु ?
यो पश्चिमपट्टीको झ्याल
कुन रखौटी टोलाई बस्ने झ्याल हो ?
कुनै कुमालेको स्वाभिमान छ यो धरहरामा ?
कुन मानव सभ्यताको समय छ घण्टाघरमा,
कुन शताब्दीमा रगत सङ्लिएर पानी बन्छ रानीपोखरीमा ?
कसरी भन्न स्क्छु-
यो सहर मेरो हो
जबकि सबैभन्दा माया गर्ने मेरी प्रियसी गाउँमा छिन् ।

कसरी हुनसक्छ यो सहर मेरो
जबकि गाउँमा बितेको थियो मेरो बालापन
जब म काम गर्न सक्ने भएँ
जब म देख्न थालेँ स्वप्न
यो सहरले खरिद गर्यो मलाई सस्तो भाउमा
र महँगो दाउमा बिक्री गरेको सत्य हो ।

Jun 19, 2011

बैठक २०६८-०३-०४ ले गरेका निर्णयहरु


१. गद्य अन्तरक्रिया  श्रावण १४ गते गर्ने, सामग्री सङ्कलन असार २५ गतेभित्र गर्ने जसको संयोजन दृष्यले गर्ने ।
२. salambihani.com को डोमेन परिवर्तन गर्ने ।
३. शब्दशिखा त्रैमासिक असोजभित्र प्रकाशन गर्ने ।
४. ब्लगलाई प्रभावकारी बनाउन  कविता, गीत, गद्य र गजल गरी महिनाको ४ वटा सिर्जनाहरु पोस्ट
गर्ने ।
५. असारको १८ गते हुने अक्षरसँग अंग्रेजी श्रृङ्खला गर्ने ।
६. फेसबुकको Alag Abhiyan ग्रुप मार्फत सबै अभियानहरुको प्रचार गर्ने र त्यसमा सबै अभियानताहरु सहभागी हुने ।

Jun 10, 2011

मेरो पनि हुनुपर्छ

उदिम किराती

यो जमिन मेरो पनि हुनुपर्छ
यसमा अधिन मेरो पनि हुनुपर्छ

आँखा एउटै हो मान्छे एउटै हो

सपना रङ्गीन मेरो पनि हुनु पर्छ

म हुँदिन अन्त हुन्छु यही देशमा

खोजि एकदिन मेरो पनि हुनुपर्छ