Jul 31, 2011

अन्तिम गीत

 

अन्तिम गीत मेरो ती हावाका स्पर्शहरुलाई
अन्तिम गीत मेरो ती शिरिषका फूलहरुलाई

उडिरह्यो पंक्षी टाढा, लुक्यो भित्र तुवाँलोमा
उड्न खोज्ने चङ्गाहरु अल्झे कतै हाँगाहरुमा
अन्तिम गीत मेरो झरेका ती शीतहरुलाई
अन्तिम गीत मेरो दुखेका ती प्रीतहरुलाई

दौडिरह्यो समय, समय सँगै रितुहरु
उभिएर पर्खिरहेछन् थकानमा मृत्युहरु
अन्तिम गीत मेरो नदीका ती छालहरुलाई
अन्तिम गीत मेरो बितेका ती कालहरुलाई

Jul 30, 2011

बैठक २०६८ साउन १४ ले गरेका निर्णयहरु

१. साउन २१ गते गद्यको बाइन्डिङ वितरण गर्ने । भदौ ३ गते  अन्तरक्रिया गर्ने ।
२. सलामबिहानीमा महिनामा ४ नेपाली कविता, २ नेपाली गद्य र २ अङ्ग्रेजी रचना अपडेट गर्ने, हप्तामा २ वटा गरेर ।
३. नदीशले सलामबिहानी र मन्जुले ब्लगमा प्रकाशित प्रत्येक रचनाको लिङ्क फेसबूकको ग्रुपमा हाल्ने र अरु अभियन्ताहरुले पनि अनिवार्य रुपमा आफ्नो वालमा प्रत्येक रचनाको लिङ्क हाल्ने । 

Jul 24, 2011

तिमीलाई कुरिरहेछु



सुनौलो बिहानीको गाथा गाउँदै
सदभावको घडा सजाएर
अन्धकार रातमा
तिमी हराएकी थियौ
वषौ पुरानो भइसक्यो समय
इतिहासको कालखण्डमा खुशी भएथे
एउटी निडर छोरी जन्माएछु भनेर

उहिल्यै देखि

अनवरत सुस्काइरहेका सुस्केराहरु
पोको पारेर हराएको त्यो
अध्यारो रात डरलाग्दो थियो
घोडालाई टापले थिचे जस्तै गरि
थिचिएका भावनाहरुलाई
कुम्लो पारेर न्यानो अँगालोमा
हावाहुरी चलेको रातमा
तिमी हराएकी थियौ
छोरी हराउँदा खुशी हुने
एउटी आमा तिम्री म
अहिले पनि तिमीलाई कुरिरहेछु ।

उकालो ओह्रालो

आउने जाने बटुवाहरुलाई
कयौ पटक सोधिसके छोरी
साटेर रगत र पसिना
तिमी सुनौलो बिहानीको गाथा गाउँदैछौ रे
तिम्रो स्वागतमा
सदभावकै घडा सजाएर
समयले पर्खिरहेछ
सुनौलो बिहानी लिएर आऊ
साउनको भेलमा जीवनको बाजी थापेर
त्यही जीवन बचाउने साइला माइलाहरु
अझैपनि धाइरहेकै छन मान्छे बेच्ने बजार ।

समयको उछिन पाछिनलाई पच्छ्याउदै

बदलिरहने हावाका झोक्काहरु सँग
तिमी निर्मल र स्वच्छ
हावा बनेर आऊ
तिमीले फुकिरहेको आगो बालेर
उज्यालो रात लिएर आऊ ।
तिमीलाई जन्माएको मैले नै
तिमीलाई निडर बनाउने पनि मै हुँ
तिमी जस्तै निडर सन्तानहरुलाई कुरिरहेछु
अहिले पनि तिमीलाई कुरिरहेछु

Jul 17, 2011

लिलाम गर्दैछु

कपिल अन्जान 

सपना सुनौला लिलाम गर्दैछु
कुनैदिन भनौला लिलाम गर्दैछु

साहुले झुपडी देखाएर भन्छ

कतिन्जेल बसौला लिलाम गर्दैछु

कहाँ-कहाँ सही छाप गर्नु छ भन

अब यि औला लिलाम गर्दैछु

गजलकार भएर के लिलाम गरिन्

बाँकी छ मृगौला लिलाम गर्दैछु  ।

Jul 11, 2011

शब्दहरुको महासम्मेलन होइन


 

समकालीन गजलाकाशमा विपल अकेला तारा हुन्, समर्जन ध्रुवतारा र म जूनकीरी । मलाई जूनकीरीसम्म बनाउने समर्जनसँगको सामिप्यता हो । विपलको भूमिकालाई पनि म बिर्सन सक्तिन ।

मलाई कवि बनाउने पवन, उसको सानो लाइब्रेरी र मेरो साहित्यिक प्यास ।
लाइब्रेरीमा खुसुक्क छिर्थेँ, किताब चोर्थेँ
कोठामा ल्याउँथेँ । त्यो पटक त गजल सङ्ग्रह नै परेछ । गजलकार को थिए. सङ्ग्रहको नाम के थियो, स्मरण भएन । गुलाबी रङको आवरण. केही पृष्ठ पल्टाइए. केही शेर लेखिए । चित्त खाएन, च्यातिए र फालिए । घडीको सुइले धेरै फन्को मार्यो । गजल सुनिएन पनि, लेखिएन पनि र पढिएन पनि ।

रहर र बाध्यता हुरी बनेर आयो, सुदीपलाई आमोद र सुमनलाई लोकस बनायो । हामीबीचको भौतिक, आत्मिक, वैचारिक हर दुरी छोटियो । फलतः एक अर्काको साहित्यिक प्रारम्भ, निरन्तरता र विकास महत्वपूर्ण भयो एक अर्कालाई । त्यस पहिले मेरो लागि न समर्जनसँगको साहित्यिक सम्बन्ध महत्वपूर्ण थियो न त गजल नै । तर अहिले त मलाई पर्याय हुन् गजल र समर्जन ।

मैले भर्खर गजलको आधारभूत
सरंचना बुझेको हुन्छु, 'बगाउन' (समर्जनको भाषामा) जान्न अझै बाँकी नै हुन्छ विपल अकेला गाउँबाट एक झोला गजल बोकेर आउँछन् र मेरो अगाडि थुपारिदिन्छन् । मेरो आँखाबाट हर्षासु खस्दछ । विपलको गाउँले कोशेली कम्ती मीठो हुँदैन, समर्जन र म बाँडीबाँडी खान्छौँ । विपलबाट हामी मौलिकता लिन्छौँ र उनलाई आधुनिकता दिन्छौँ । अन्ततः उनले बुझ्दछन् शब्दहरुको महासम्मेलन होइन साहित्य

(साउन ०६४, अप्रकाशित गजल सङ्ग्रह 'जिगिषा' को लागि लेखिएको भूमिका)

Jul 3, 2011

माटो रोला है

विपल बोयुङ
भयौ कि त गाउँको बिरानो
जन्मिएको ठाउँको बिरानो
तिम्रो अङ्ग-अङ्ग चुम्ने माटो रोला है

साँझपख सुर हाल्छ वनचरी तिम्रै गीत

गाँस्या`छ रे पखेरोले तिमीसँगै प्रीत
भुलेऊ कि त सँगै खेलेको
घाम पानी सँगै झेलेको
तिमीलाई जीवन दिने कोख रोला है

जहाँ तिमी घामसँगै झुल्किएथ्यौ पहिले

त्यहाँ तिम्रै आगमन छैन भन्छन् अहिले
बिर्सियौ कि खोला तरेको
मेलापात सँगै गरेको
तिमीलाई हिँडाउने बाटो रोला है