Feb 20, 2012

के जिन्दगी भनेको यही हो

प्रतिमा पाठक

आकाशमा बाटो खन्दै
एकाबिहानै धर्तीसम्म आइ
मेरो चिसिएको मुटुसम्म पसेको
यो सुनौलो घामलाई सोधेँ
बिहानी हुनु भनेको यही हो ?

सधैँ सधैँ आँखा अगाडि उभिएर
मेरा हर आँशु र हाँसोको साक्षी बनेका
ती पुराना वर पीपललाई सोधेँ
के धैर्यता भनेको यही हो ?
दृढता भनेको यही हो ?

हिजो साँझ आफ्नै गुँडमा फर्केर
फेरी बिहानै
आफ्नो जम्बो टोलीसँग फिर्ता भएका
यी पंक्षीहरुलाई सोधेँ
के जिजीविषा भनेको यही हो ?
संघर्ष भनेको यही हो ?

सधैँ सधैँ एकतमासले उत्तरतिर ठडिएर
मेरा मौन प्रश्नका उत्तर दिइरहने
यी दुई पहाडसँग सोधेँ
के विश्वास भनेको यही हो ?
साथ भनेको यही हो ?

आखिर
बिहानी उज्यालो धैर्यता दृढता
संघर्ष विश्वास अनि साथ…।
कच्चापदार्थ हुन् जीवन निर्माणको
फेरि किन रित्तिएर म
अनौठो पीडाले अन्यौल हुँदै
म आफ्नै जिन्दगीसँग
मात्रै प्रश्न गर्दैछु अचेल
के जिन्दगी भनेको यही हो ?

Feb 8, 2012

कहाँसम्म जान्छौ

कपिल अन्जान

रहर हो रहर बोकेर कहाँसम्म जान्छौ
उजाड यो सहर बोकेर कहाँसम्म जान्छौ

माटो पानी र आकाश छोएर बाँच्नु पर्छ
तिमी आफ्नो घर बोकेर कहाँसम्म जान्छौ

सात समुन्द्र पारी खबर पठाउनु छ
मेरो खबर बोकेर कहाँसम्म जान्छौ

हरेक दिन हरेक रात दौडि रहन्छौ पानी
भन यो बगर बोकेर कहाँसम्म जान्छौ

तिम्रो दुश्मन तिमीभन्दा पछाडी छुटी सक्यो
एक्लै त्यो खाजर बोकेर कहाँसम्म जान्छौ