Feb 28, 2015

क्यानभास जस्तै मेरो देश









मञ्जु मार्मिका 

एउटा बृहत प्रर्दशनी कक्षमा
उस्तै गरी झुण्ड्याइएकोछ
एउटा विशाल क्यानभास
न पोतिएका छन् त्यहाँ कुनै रङ्ग
न बनेका छन् कुनै तस्विर
राखेर खाली क्यानभास
मानिसका हुल
त्यही तमासा हेर्न लामबद्ध छन्
पोत्न नसकिएका रङ्गहरु
छरपष्ट छन् वरिपरि
कहिले पश्चिमे हावाको झोँक्काले
पूर्वतिर पुर्याउन खोज्छ
कहिले दक्षिणको हावा आएर
उत्तरतिर पुर्याउन खोज्छ
केवल हल्लिइरहेछ क्यानभास
यसैलाई सुन्दर देख्नेहरु
एक पटक छोएर जान्छन्
यसको दुःख बुझेर जान्छन्
एउटा कसिलो सङ्कल्प बोकेर
व्यथा नबुझ्नेहरु
एक झल्को हेरेर
एक मुस्कान हाँसेर जान्छन्
क्यानभास त दोषी थिएन
असल कलाकारको अभावमा
बेवारिसे भै झुण्डिरहेछ
जसरी हल्लिरहेछ मेरो देश
सदाबहार हावाको स्पर्शसँगै
झिनो आशा बोकेर
अडिएको क्यान्भासमा
समयको आँधीसँगै
पोतिनेछन् एकदिन
वरिपरि छरिएका रङ्गहरु
अनिमात्र मुस्कुराउनेछन्
खालि क्यानभासलाई सुन्दर देख्नेहरु 

Feb 27, 2015

यात्रा





आइती घले
तिम्रो सम्झनाहरुको भुत
फुकाउन पुगेँ बुढासुब्बा
बाधेँ अजम्बरी डोरो
बाँसका हाँगाहरुमा
धरानको बजार
उखुर्मौलो भएझैँ
जेठको कडा धुपमा
उखुर्मौलो तिम्रो हंश
मलाई रत्तिभर छोड्दैनन त !

उकालो चढछु भेडेटार
छोपिन्छु बादलुको घुम्टोले
चाल्स भ्यु टावर भन्दा नि
अग्लो तिम्रो मायाको मोहनी
फुकाउन सकिनन् है
पाथिभरा माइले पनि !

हैरान हैरान पुग्छु नमस्ते झरना
चिसिन्छु पानीका फोहोरामाझ
तर हर बाछिटहरुमा
तिमी नै तिमी
भिजाइदिन्छौ मलाई
तिमी नै तिमी
बगाइदिन्छौ मलाई

लाग्छु कन्याम इलाम
निहार्छु चियाका पत्ती
तर हर मुनाहरुमा
बदमाश तिमी मुसुक्क मुस्काइदिन्छौ
अरे हौ च्याङ्बा !
कत्ति सारो पिछा गरेको नि !

हिँड्छु काकडा्भिट्टा
तिम्रो हस्तक्षेप अति नै भएसि
तिमीलाई निर्वासित गर्न पुगेको म
आफै पो 
निर्वासित हुन्छु
द्ङ्ग पर्छु
कति चाँडै पर भएछु
आफ्नै जिवनबाट स्वतन्त्र म
तिम्रो समिप्यताको कैदी भएछु

मेरो च्याङ्बा !
यो लोछारमा
तिमी र म मेन्दो माया नाच्नेछौँ
बर्षौँ पैले लाको पोङग्
आस्याङ्ग सामु ढोग्नेछौँ
अनि एउटा बिपना कोर्नेछौँ
यो घाम छायाँको लुकामारीबाट
हो, त्यस दिनबाट
यात्रा सुरु हुनेछ
हाम्रो एउटा नयाँ सोपानको
हाम्रो एउटा नयाँ क्षितिजको ।

Feb 26, 2015

कैदी सम्भावनाहरु










प्रतिमा पाठक


यहाँ कलिला देवकोटाहरु पत्रिका बेचिरहेछन्
फूल बेच्छन् पारिजातहरु राजमार्गको देउरालीमा
विध्यापतिहरु ठेलामा तरकारीको लय मिलाउँछन्
शंकरहरु रेस्टुरेन्टमा काट्छन्
"एब्स्ट्राक्ट चिन्तन प्याज!"
भुपी र रिमालहरु गिलास भरिदिन्छन्
फनफनी घुमुन्जेल
आमाका सपनाहरु ...
एमिलि  डिकिन्सनहरुमा
डिप्रेसन छ करिएरका लागि    !

तेन्जिङ्हरुले त सधैं बोकेकै छ्न्
हिलारीका भारीहरु !
यहाँ एक्जिबिसन त लागोस्
कैदी सम्भावनाहरुको
हरेकका आँखाभित्र झल्किन्छ अपराध
उन्मुक्त सपनाहरुको ...
यहाँ फेसबुकको प्लास्टिक भित्ताहरुमा
ठोकेर अहमका मुड्किहरु
गरिरहन्छौँ अभ्यास कलात्मक बक्सिङ्गको
उता दोर्जेले च्याँग्राको सिङ्लाई
बनाएर बाइकको ह्यान्डल
स्टन्ट बाँच्छ जिन्दगी !

'रिकग्निसन' त देखिनेको हुन्छ
हाम्रा पहाड पछाडि ,
हिमाल मुनि
र फाँटहरुभित्र
कति ओस्कार बेकार गएका छन्
कति नोबेल ओझेल परेका छन्...

सबैतिर सुनिन्छ "क्वालिटी छैन यहाँ!"
'मान्छे'ले बाँच्नुपर्ने जीवनको क्वालिटी
कस्तो हुन्छ हँ ?

Feb 25, 2015

मञ्जुर ?












विशद

अब पाउरोटीको सोफामुनि रातारात भेटिँदैछन्
चटपट खाएर फालेका पुराना कागज
यहि कागज थमाएर शीतलहरको हातहातमा
यो मौसम बाँड्दैछ एक हिउँदको संविधान
के मञ्जुर हुनुहुन्छ ?

सर्वोच्च चोमोलुङमालाई कुप्री पर्न लगाएर
धरहरा अझ अग्लिँदैछ
कतै घोषणा हुन बेर छैन
नयाँ सर्वोच्च शिखर 'धरहरमाथा'
के मञ्जुर हुनुहुन्छ ?

खोलीमा छरेर मन्द विष
सुस्ताएको माछा हेरेर बोल्छन् नाथ
'कति शान्त छ मेरो घर
सुत्न देउ यहि स्थिर चिहानमा'
यहि एकल धार्मिक सभामा सुत्न
के मञ्जुर हुनुहुन्छ ?

तपाइँलाई कागज मात्र चाहिएको हो भने
टन्नै छन् डम्पिङ साइडहरू
खोज्नू ।

Feb 23, 2015

कविको मृत्यु



नदीश

एकाबिहानै
एक हूल कवि परेवाहरु
बिम्वको खोजीमा निस्कन्छन्

दायाँ फन्को मारेर स्वयम्भूनाथ 
सुस्ताउँछन् एकछिन  आँखाअघिल्तिर
केही सल्लाह गर्छन्
र विष्ट्याइवरी हानिन्छन्
एक पुरानो गुम्बातर्फ
जसको छहारीमा कुनै कवि
लेखिरहेको थियो कविता

एक्कासी, आक्रमण गर्छ कविलाई, परेवाको हूल !

उनीहरु,
पालैपालो थुत्छन्
कविको आँखा
उसको नाक
उसको कान
उसको जिब्रो
उसको गीदी

सबै सबै जम्मा गरेर
उनीहरु
तयार पार्छन एउटा सुन्दर कविता
र वेगले हानिन्छन् आकाशै आकाश
सुनाउन गौतम बुद्धलाई

ती परेवाहरु,
जसको आक्रमणमा मृत्यु भयो कविको
बर्षौँदेखि निसास्सिएका
उसकै कविताका बिम्वहरु थिएछन् !

Feb 22, 2015

तिम्रो होइन म














नाकिमा

मूलबाटोमा दौडदा–दौडदै लडेको छु
ढुङ्गामा घुँडा ठोकिएको छ
चोट लागेको छ
रगत बगेको छ
अनुहार अमिलो पार्दै
धूलो उठाएर घाउमा दलेको छु
उठेर फेरि कुदेको छु
हो,
त्यही मूलबाटोको हुँ म
त्यही ढुङ्गा र धूलोको हुँ म

मैदान र कान्लामा घाँस काटेको छु
घाँस काट्दा हात पनि काटेको छु
हतार–हतार तितेपातीको पात टिपेको छु
निचोरेर घाउमा हालेको छु
थाङ्नाले घाउ बाँधेर
फेरि घाँस काट्न थालेको छु
हो,
त्यही मैदान र कान्लाको हुँ म
त्यही घाँस र तितेपातीको हुँ म

दाउराको भारी बोकेर
‘खुइय्य’ गर्दै उकालो चढेको छु
वरपिपलको फेदमा
चौतारीमा बिसाएको छु
पिपलको पात नचाउँदै
सिरसिर चलेको हावा खाएको छु
ज्यान–मन हलुका बनाएको छु
हो,
त्यही उकाली र चौतारीको हुँ म
त्यही सिरसिरे वतासको हुँ म

खनिसक्नु पर्ने मेलो हेर्दा
बिहान हतास भएको छु
झरीमा रुझ्दै
घाममा डढ्दै
बेलुकी खेत खनिसकेको छु
सिरानदेखि पुछारसम्म
आफूले खनिसकेको खेत हेरेर
ठूलै युद्ध जितेझैँ रमाएको छु
हो,
त्यही खेतको हुँ म
त्यही माटोको हुँ म

ओ सहर !
तिम्रो हुँदै होइन म
तिम्रो हुनै सक्दिन म