Mar 31, 2015

प्रधानमन्त्रीजी ! म डाक्टर गोविन्द…



अनिल किराती

म को हुँ ?
यसको त्यति महत्व छैन
मान्दा हुन्छ
म लक्ष्मीप्रसादको 'पागल'
म विजय मल्लको  'बहुलाकाजी'
म वैरागी काँइलाको 'मातेको मान्छे' र यस्तै यस्तै
खासमा,
प्रधानमन्त्रीजी म एउटा सामान्य डाक्टर हुँ
तपाईँ को हो ?
तर असिमित छ यसको महत्व
तपाई प्रधानमन्त्री
केन्द्रिकृत शक्ति
तपाईँ अन्तिम हस्ताक्षर
तपाईँ उतरपुस्तिका
तपाईँ बृहत शब्दकोश
म देख्दैछु तर
तपाईँ भूपिको 'क्यारेम्बोर्डको गोटी'
मेसीको खुट्टाको बल
तपाईँ 'धुम-थ्री'को सर्कसको घोडा र यस्तै यस्तै

प्रधानमन्त्रीजी बरु बन्नुहोस् क्रुर
लुई चौधौं झैं भन्नुहोस् म नै राज्य हुँ
र गर्नुहोस् एउटा प्रजातान्त्रिक निर्णय
जानुहोस् तपोवन
ध्यान गर्नुहोस् तीन दिन
र फाल्नुहोस् एउटा न्यायिक वक्तव्य

प्रधानमन्त्रीजी
केवल तपाईँ एउटा बिम्ब बन्दै हुनुहुन्छ
र म अर्को
खुब प्रयोग हुदैंछौ हामी अब
कविताहमा र घोषणा पत्रहरुमा
जुन हाम्रो रहर होइन र रहने पनि छैन
भन्नुहोस् प्रधानमन्त्रीजी
त्यति रहरे कहिले थियौं र हामी ?
किन बनाइदैछ हामीलाई अमूर्त विम्ब यसरी ?

प्रधानमन्त्रीजी तपाईँ यति लाचार हुदै हुनुहुन्छ कि
'बाँच डाक्टर गोविन्द
तिमी बाँच्नुपर्छ र बचाउनुपर्छ तिमीले
म पूरा गर्छु तिम्रो सपना' भन्नै सक्नुहुन्न
राजनितिज्ञ जो हुनुहुन्छ तपाईँ
र म पनि यति लाचार छु कि
'आउनुहोस् प्रधानमन्त्रीजी सँगै बसौँ अनसन
तपाईँ संविधानको लागि
म सिस्टमको लागि
बरु मरौं सँगै तर नमरोस् देश' भन्नै सक्दिन
डाक्टर जो हुँ म
बरु आफैं मर्न सक्छु
मृत्युको कामना बाँड्न सक्दिन तपाईँलाई

प्रधानमन्त्रीजी मलाई थाहा छ
तपाईँ र म चाडैँ मर्दैछौ अब
बिरामी जो छौँ
फरक यति हो कि
म आफ्नै निर्णयमा मर्दैछु
तपाई निर्णयविहिन मर्दै हुनुहुन्छ

प्रधानमन्त्रीजी आँट गर्नुहोस बोल्ने
र याद गर्नुहोस्
'म डाक्टर गोविन्द' मर्नु भनेको
तपाईले जित्नु कदापि होइन
न त तपाईँ नै बाँच्नु हो



डाक्टर साबको नाममा















हाङयुग अज्ञात 

डाक्टर साब !
मृत्यु सस्तोमा बिक्री हुने
हाटबजारमा
तपाईं किन आफ्नो मृत्युको मूल्य
करोडौं जनताको भावनामा टाँस्नु हुन्छ ?

अस्ति भर्खरै तेही खाटबाट
एकजना बुबाको जायज मागलाई
मृत्युले
हाम्रो आँखैबाट घिसार्दै लग्यो !

यो सरकारको कान छैन, डाक्टर साब !
जत्ति चर्को बोल्नुहोस्
तेत्ति बहिरो हुँदै जान्छ यो सरकार,
यो सरकारको मुटु छैन, डाक्टर साब !
जत्ति आँसु झार्नुहोस्
तेत्ति कङ्क्रीट हुँदै जान्छ यो सरकार,

डोरबहादुर विष्ट हराउने
माफियाहरूको जङ्गलमा
डाक्टर साब !
तपाईंको मृत्युुको हरियो झिंगा हेर्दै
आकाशमा घुम्दैछ्न्
सरकारका पाल्तु गिद्धहरू
उठ्नुहोस् डाक्टर साब !
अनशनको राजनीति फेल भैसकेको छ
मृत्युलाई आमन्त्रण नगर्नुहोस्
यो सरकार हाम्रो होइन डाक्टर साब !

हामीलाई
तपाईंको जीवन अमूल्य छ
सरकारलाई  त धेरैधेरै सस्तो छ
हाम्रो जीवन,

यो संक्रमण कालमा
को बौद्धिक ?
को डाक्टर ?
को इन्जिनियर ?

को कवि ?
को विद्यार्थी ?
को दार्शनिक ?
को कलाकार ?
चिन्दैन यो सरकार 
कस्सम पनि चिन्दैन
घरका इँट्टाहरू,

यो सरकारको आँखामा 
तपाईंको जीवनको मूल्य छैन
मात्र सत्ताको हवस छ डाक्टर साब !

www.hangyug.com बाट ।

Mar 30, 2015

मेचमाथिको मानिस














नाकिमा

भिरेको छु भन्छ-
शिरमा टोपी
शरीरमा दौरा-सुरुवाल
खुट्टामा जुत्ता
अर्थात्
राष्ट्रिय पोषाक


तर म त-
हजार पटक हेरे पनि
सर्वाङ्गै देख्छु नाङ्गै
त्यो, 

मेचमाथिको मानिस ।

Mar 28, 2015

गजल











'इनुमा' इना राई


कैले दु:ख कैले सुख बहन्छ समय
साँझपख गोधुलीमा रहन्छ समय 

एउटै बाटो पुरातनमा हिड्नु हुँदैन
परिवर्तन गर्नु दु:ख सहन्छ समय 

पृथ्वीको प्रत्येक अङ्ग चक्रब्यूह हुन्छ
आफ्नो पीडाले जिन्दगी डहन्छ समय 

आज भोलि 'इनुमा'लाई लाग्न थालेछ
जुनी जुनी सयौँ जुनी रहन्छ समय 

Mar 27, 2015

मेरो रङ














अनिल किराती

                         
मलाई रङ दल्ने कोसिस नगर्नु

तिमीजस्तो म छेपारो रङ होइन
म झण्डाहरुको रङ पनि होइन
म मनोवादहरुको रङ झन् होइन
म उमेरको मात्र पनि रङ होइन
म छालाको रङ त हुँदै होइन

म त बलिदानी रङ हुँ
नपत्याए नियाल्नु मेरो आँखामा
देख्नेछौ मेरो पुर्खाहरुको वीरता नाचिरहेको

म त गहुँगोरो रैथाने रङ हुँ
नपत्याए छाम्नु मेरो हत्केला
भेट्नेछौ ढुङ्गा फुटाउँदाको पसिनाको तातो झुप्पा

म त माटो रङ हुँ
नपत्याए हेर्नु मेरो पाइताला
देख्नेछौ चिराहरुमा आदिम इतिहास

म त पानी रङ हुँ
रङ्गाउन पनि
पखाल्न पनि सक्ने
नपत्याए चोभलिनु मभित्र एकपटक
थाहा पाउनेछौ तिमीले आफ्नो रङ

म त ऐना रङ हुँ
देखिन र देखाउन सक्ने
नपत्याए उभिनु मेरो सामुन्ने
परिचित हुनेछौ तिमी आफ्नै अनुहारसित

अब मलाई
गुराँसको रङले मात्र बाँच्न पुग्दैन
सगरमाथाको रङले मात्र हाँस्न पुग्दैन
पृथ्वीनारायण, जंगबहादुर र बुद्धको रङमा मात्र रम्दिन अब म
सिम्रीकको रङमा मात्र अडिदैन मेरो निधार
मन्दिरको रङले मात्र पूरा गर्दैन मेरो सपना
राजकीय रङले मात्र समेट्दैन मेरो कहानी
मेरो त आफ्नै रङ छ
म त मौलिक रङ हुँ आफैं
प्राकृतिक रङ - आदिवासी रङ ।

Mar 25, 2015

धोका खान अघि






मनोज बोगटी आँखा फुटाइदिएपछि आएको बसन्त मुख सिलाइदिएपछि गाइएको गीत हात काटिएपछि थामिएको हात खुट्टा भॉंचिएपछि हिँडिएको यात्रा मन्दिर भत्किएपछि गाइएको भजन पृथ्वीले आत्महत्या गरेपछि पृथ्वीमा आएको ईश्वर जङ्‌गल फॉंडेपछि आएको पर्यावरण दिवस अथवा जरा सुकेपछि बीऊमा खन्याइएको पानी आँखा बन्द गरेपछि उदाएको घाम कलम भॉंचेपछि लेखिएको कविता सास बन्द गरेपछि चलेको हुरी घर भत्किएपछि फुलेको फूल सपना चर्किएपछि पाइएको आशिर्वाद आत्महत्या गरेपछि पाइएको प्रेम लाशलाई गरिएको चुम्मन अथवा ऐनामा देखिएको आफ्नै अनुहार छाना भत्किएपछि शान्त भएको आँधी भर्खर उम्रिँदै गरेका सिमीको बीऊ भॉंचेपछि रोकिएको असिना पानी सुकौरोले खेती सुकेपछि आएको वर्षा मानिस मरेपछि आएको शान्ति रातपरेपछि घामको कुरा गर्ने विद्वान अथवा पैह्रो गएपछि रोपिएको विरुवा यी जम्मै धोका हुन्‌। मेरा बयानहरू जे जति छन्‌ तिमी जिउँदो हुँदै तिम्रै सामु छन्‌ कि धोका खान अघि कृपाय सुन म कविता सुनाइरहेको छु।

त्यो धाराको पानी











नाकारा


घरमाथिको मुहानमा
एक्कासी धाराहरु ठडिएको दिन
कलकल बग्दै रावा खोलामा मिसिने
पानीको गोरेटो मेटिएको हो

घाँसको भारी बिसाएर
प्रत्येक दिन
मलताको पात
कि त निभाराको पात कोप्य्राएर
र कहिलेकाहिँ, आफ्नै अञ्जुलीले उघाएर
पानी पिउने आमाको दिनचर्या पनि
पुरिएको हो

सँगसँगै,
मार्सीधान, फापर बारी र घुरेनको जौँ बारी
आँगन डिलको मखमली र तितेपाती सुकेको हो
र हिरिक्कै भा'को हो
मसुम कुनाको अदुवाको बोट

ए, मूर्ख सन्तान हो !
अझै के पिइरहन्छौ त्यो धाराको पानी ?

Mar 23, 2015

बाटोहरु








नमन अणु

बाटोहरु- माकुराको जालो भई नागबेली लाहरा जस्तै जेलिएका छन् हातको किरिङमिरिङ रेखाहरु झैँ फिँजिएर
यसरी कहाँदेखि कहाँसम्म पुगेर अन्त्य भएका छन् त्यो मलाई पनि यकिन थाहा छैन
सदियौँदेखि- बगाउँदै मोतीको दाना यही बाटो भएर भरिया दाइ ढाकर र टेकुवासंग रमाउँछ र कहाँ निर पुगेर जिन्दगीको भारी बिसाउँछ त्यो पनि मलाई यकिन थाहा छैन
महान विचार बोकेर हजारौं जात्रीहरु, दिनहुँ यही बाटो- राजमार्ग भएर जान्छन् पृथ्वीको कुन भू-भागमा पुगेर थकित गन्तव्यको पाइलाहरु अन्त्य हुन्छन् त्यो पनि मलाई यकिन थाहा छैन
म जन्मेको यतिका वर्ष हुँदा पनि अबुझ छु  
अब, नसोध्नू मलाई यो बाटो कहाँ जान्छ भनेर
पूर्खाहरुलाई सोध्दा भन्छन् यो बाटो युगौँ-युगदेखि हामीले थाहा पाएदेखि यहीँ छ
मेरो अनुमानमा- आदिम दिनहरुमा नै यो बाटो खोस्रेको हुनुपर्छ हाम्रै पूर्खाहरुले र त बामे सरिरहेको छ निरन्तर-निरन्तर हाम्रो जिन्दगीको हर सफरहरु...

Mar 20, 2015

चराको गीत














गणेशकुमार राई


चराहरुले गीत नगाएको पल-
उ बेला,
पाखामा बाख्रा लखेट्ने जाँगर पलाउँथेन
पालुवामा उमङ्ग भरिएको महसुस हुन्थेन
खोल्साका पानीमा गति भेटिन्थेन
र उराठ लाग्थ्यो रानीवन

चराले गाएको गीतमा कुन सङ्गीत हुन्थ्यो ?
र उनीहरुको भाका मलाई मन पर्थ्यो
तिनको कण्ठमा कुन माधुर्य खुल्थ्यो ?
र म झुम्मिन्थेँ उनीहरुको रागमा

मलाई अझैसम्म पनि थाहा छैन-
अज्ञात भाषामा गाउने चराहरुको गीत सुनेर
किन रमाउँथे होला म !

हामी बालक हुँदा मेरी आमाले पनि
अरुले नबुझ्ने भाषामा गीत सुनाउनुहुन्थ्यो
जसरी चराहरु अझै मैले नबुझ्ने भाकामा गाउँछन्
आमाले त्यसैगरि गाली गर्नुहुन्थ्यो आफ्नै भाषामा
जसरी चराहरु ठुङाठुङ गर्छन् आफ्नै लयमा

अहिले लाग्छ
आमाले बोलेको भाषा पनि
चराकै गीत रहेछ
आमाले गाउँदा देशले भाषा बुझेन
तर मन पराउँथ्यो लय

आमाको लय र भाषामा
कविता लेख्नु छ
आमाले कविता नबुझे पनि
बुझ्नुहुने छ आफ्नो भाषा
र भाषा नबुझे
देशले पनि लय त बुझ्नैपर्छ
चराको गीत अर्थात् आमाको भाका ।

Mar 18, 2015

युगको थालनी















सुन्दर अल्पभाषी


तिमीबाटै असुरक्षित भएपछि
त्यागेको हुँ
तिम्रो रक्षाबन्धन
र जनैको जन्जिर
छाडेको हुँ

जनवारको जलले
लिङ्ग अभिषेक गर्न
लाउन छाडेको हुँ
तिम्रो पहिरन
मान्न छाडेको हुँ तिम्रो भगवान

बर्षौँदेखि तिम्रो हुनुको अर्थमा
थालेको हुँ अभियान
मान्छे हुनुको अर्थमा
सभ्यता पछ्याएर

पहिचान खोज्नुको अर्थमा
चढाउन थालेको हुँ बनझार
मर्चाको बुट्टी
मेरो भगवानलाई

थोपा-थोपा अल्कोहल
निन्द्राबाट ब्युँझाउन बुढानिलकण्ठलाई
एक पाइला हिँडाउन बिरुपाक्षलाई
चीर निन्द्राबाट उठाउन बुढासुब्बालाई

हो तेतिखेर
मछैदिनु बन फूलले तम्फुङ्गलाई
गरिदिनू नाहेन
र गरिदिनू माङ्गगेना
राखेर तङसिङ

Mar 17, 2015

गीत
















विपल बोयु


मेची तरी नजाऊ काली तरी नजाऊ 
यही माटो तिम्रो दुत्कारी नजाऊ 

पराइको माटो प्यारो कहाँ हुन सक्छ 
यहाँ जस्तै गुराँस त्यहाँ कहाँ फुल्न सक्छ 
बसाई सरी नजाऊ हिमाल तरी नजाऊ 
यही माटो तिम्रो दुत्कारी नजाऊ 

शिर-फूल हिमाल, सगर आफ्नो तिम्रै
सुन फुल्ने पाखा पखेरा यो तिम्रै 
घरै छोडी नजाऊ बाटो मोडी नजाऊ 
यही माटो तिम्रो दुत्कारी नजाऊ

Mar 16, 2015

सम्बोधन
















रोशन याक्सो लिम्बु 


'फुच्ची' भनेर सम्बोधन गरे तिमीलाई
सबैले ठाने तिमी फुच्छी छौ
बिल्कुल फुच्ची र नासमझ ।

'सुम्निमा' सम्बोधन गरे
कसैको बल्ढेङग्रे आँखाले तिमीलाई 
जङ्गली, अनपढ र कामोत्तेजक देखे 
जङ्गल-जङ्गल डुल्ने घुमन्ते
र देख्दा देख्दै , देख्न भ्याए
सोमदत्तसँग  सम्भोगरत !

यो समाज
जो आफूलाई सभ्य भन्न रुचाउँछ
आफूलाई पठित 
अरुलाई गवाँर देख्ने गर्दछ
सदैब
होची , डल्ली र चिम्सीहरुलाई
यस्तै देख्ने गर्छ -
अनपढ , नासमझ र बेसरम !

ओ मैच्याङ !
अब देखि
तिमीलाई सम्बोधन गर्नेछु - 'म्हेन्दो' !
हेर्नुछ ,
यो समाजले तिमीलाई कस्तो देख्नेछ ?

Mar 12, 2015

परदेशबाट














नदीश

बुढ्यौलीले सयौँ मुज्जा पारेको बाबाको अनुहारमा
छन् केही खुसीका आकृतीहरु,                                                                                                    
जस्तो, विदेश पुगेर मनग्गे कमाउदैछ छोरो 
जोडिन्छ चारआना जग्गा
र बसिन्छ शानसँग राजधानीमा ।
छन् केही दुखका नक्साहरु पनि                                         
जस्तो, कहिलै नफर्केला कि छोरो ?
हराउला कि उतै परदेशी रमझममा
चटक्कै बिर्सेर बाउ आमा र देश ।

बिरामी छिन् आमा
बिलौना गर्छिन् - 
'बाबु यता भइस् भने त आधा रोग यसै निको हुन्थ्यो
अघाइन्जेल कहिले बस्न पाइन तँसँग ' 
म छोरो सम्झाउँछु - 
'यता छु र त आधा रोग निको भैरहेछ आमा
राम्रो अस्पतालमा उपचार गर्नू सब ठीक हुन्छ ।'

म त यस्तो देश आइपुगेछु
छोडेर बुढा बा आमा एक्लै कतै अपार्टमेन्टमा
छोरा, शानसँग बसिरहेछ घर, श्रीमती छोराछोरीसँग
र भन्छ – ‘ आइ एम लिभिङ् विथ माइ फेमिली
  
जिन्दगीलाइ सबैभन्दा धेरै जीन्दगीकै पीर लाग्दोरैछ !

छोडेर हजारौँ सपनाहरु उतै
आइपुगेको छु म
हजारौँ मान्छेहरुको सपनाको देश
र घोत्लिहरेछु 
कसरी निलिरहेछ हजारौँ सम्भावनाहरु
यो निर्जीब देशले
कसरी फस्दोरैछन् वाध्यताहरु
जिन्दगीको दलदलमा
र                  
निमेशभरमै कसरी बदलिँदो रैछ परिभाषा सपनाको

जिन्दगीमा सबैभन्दा निरश आफ्नै जिन्दगी लाग्दोरैछ !

काम-कोठा, कोठा-काम 

चुपचाप बसेर अपार्टमेन्टभित्र
सप्ताहन्तमा हिसाब गर्नु छ आम्दानी खर्च
सोच्नु एउटै छ
कति बर्ष मोनोटोनस् जिउनुपर्ने हो  
यो रोबर्ट जिन्दगी
एउटा आँगन,
एउटा छत,
र बाकीँ केही आधारभूत अभिलाषाहरुको निम्ति

फर्केर कहिले उत्खनन् गर्नु
ती पुराना सपनाहरु
सुरु गरेर शुन्यबाट जिन्दगीको मध्यान्हलाई
कहिले पुग्नु मक्किएका सपनाहरुको उचाई
र गाउनु जिन्दगीको रोमाञ्चक गीत
आफ्नै आँगनमा

उफ् जिन्दगी,
चिन्ता मात्रै गर्छस् तँ !
बूढो भैसकिछस् ।