अविनाश भट्टराई
मलाई चिन्नु भयो हजुर?
उही क्या त, म बिरे
।
पोहोर आउनु भाथ्यो'नि हाम्रो गाउँ
चुनाउको बेला
खेत देखाएको थिएँ बाढीले बगाएको
छाप्रो चैँ पहिरोले पुर्यो भनेको थिएँ
जहान गुमाएँ मैले त्यही पहिरोमा
भनेको थिएँ-
दिन काटेको छु हेरेर रित्तो बगर
रात काटेको छु ओढेर प्लाष्टिकको छानो
"पछि शहरमा भेट्नु, व्यवस्था गरिदिउँला"
भन्नु भएको थियो नि
हो, म त्यही बिरे हुँ हजुर
म त्यही बिरे हुँ
काम -भारी बोक्ने ।
अझै चिन्नु भएन
?
चुनाउ जितेपछि तपाईले
मेरै रगत त लाउनु भएको थियो नि निधारभरी
हरेक साँझबिहान
चौलिनुहुन्छ चामल मेरै पसिनाले
बिरामी हुँदा तपाईं
पानी होइन मेरै पसिना चढाएका थिए डाक्टरले
तपाईंले पिउने 'रेड लेवेल' कि के रक्सी छ नि
मिसिएको छ त्यहाँ मेरै एकमुठी रगत
तपाईंको मोटो सुनको सिक्रीमा
टाँसिएको छ मेरै पहेँलो छाला
हेर्नुस् त मेरो पिठ्यू !
भारी बोक्दा बोक्दा
तपाईं चढ्ने मोटरको पांग्राजस्तो छ
यी हेर्नुस् त थाप्लो !
नाम्लो लाउँदा लाउँदा एक इन्चि तल धसेको छ
अब तपाईंले नचिने
मलाई मोदीले चिन्छन् ?
यो पटक तपाईंसँग
चामल र छानो माग्न आएको हुइन
'म यो देशको के हुँ ?' जवाफ खोज्न आएको हुँ ।