May 9, 2011

रचिरहेछ अमर कहानी

 मुना निश्चल

लम्किरहेछ चम्किरहेछ
संसार बदल्ने अथक यात्री
रचिरहेछ अमर कहानी

संसार फेरेरै छाड्छु भन्छ

स्वतन्त्र भई बाँच्छु भन्छ
पन्छाइरहेछ काँडाहरु
सम्याइरहेछ डाँडाहरु
संसार बदल्ने अथक यात्री
रचिरहेछ अमर कहानी

सिर्जनशील हात अघि सारेर

स्वाभिमानी झण्डा ओढेर
ब्यूँझाइरहेछ बस्तीहरु
जन्माइरहेछ बिहानीहरु
संसार बदल्ने अथक यात्री
रचिरहेछ अमर कहानी  ।।

May 6, 2011

वानरप्रदेश

 विशद

म वानरप्रदेश
चेप्टिता-चेप्टिदै
यति चेप्टिसके कि
अब म सक्छु
सियोको प्वालबाट पनि छिर्न
अनि जन्माउन सक्छु म आफैभित्र
एउटा सुक्ष्म ब्रम्हाण्ड ।

यहि हलोले खोतल्छु म अब
मेरो भूमीको 'बुरान*' कथा
यहि फरुवा लिई खोज्छु म अब
आलीमा खुम्चिएको मेरो ज्यथा
राप्तिसँगै बगेको समय
समयसँगै बगेको राप्ति
अब मोड्छु म मेरै छातितिर
र पुरै बगाउछु
यो छातिभित्रको दासता ।

अब फुल्छन् आँप-अम्बाहरु
र म उफ्रिन्छु लामो उफ्राइ
हाँगाबाट-हाँगासम्म
अब झुल्छन् धान-मकैहरु
र म दौडिन्छु लामो दौड
खेतदेखि-खेतसम्म
सगर्व घुमाएर मेरो आदिम पुच्छर
म हिड्छु अब
सभ्यताको नयाँ विन्दुबाट ।

के तिमीमा छ यो शिल्प ?

ल सुन
मेरै छाती थिची बसेका
तिमी बिरानो शहर !
मेरै मुटु चिरी बगेका
तिमी बिरानो सडक !
तिमीले ठड्याइदिएको
यो ओढार च्यातेर
अब उदाउछु- म वानरप्रदेश
र जन्माउछु आफैभित्र
एउटा सुक्ष्म ब्रम्हाण्ड
एउटा स्वायत्त ब्रम्हाण्ड ।

बुरान* : आफ्नो भूमी छलपूर्वक हत्याइएपछि थारुहरुले गरेको बसाइँसराइँ ।

May 1, 2011

धर्के मास्टर

 नदीश

आकाशभरि कालो बादल मडारिएको छ । पानी दर्केला जस्तो मौसम छ । आज स्कूल छुट्टी हुने कुनै लक्षणसम्म पनि देखिएको छैन यतिबेलासम्म । कक्षाकोठाका केटाकेटीहरु एक टक हेरिरहेछन् ढोका नजिकै कोरिएको धर्को । घामको झुल्काले कतिखेर त्यो कोरिएको धर्को चुम्ने हो र उनीहरु मुक्त हुनेहुन् आजको दिनमा त्यो सम्भावना न्यून छ र पनि झिनो आशा देखिन्छ हरेकको मुहारमा हिजो-अस्ति जस्तै आजपनि घामले पाइला टेक्नेछ, ढोकानिरैको धर्को चुम्नेछ र उनीहरु पूर्ण उन्मुक्तिकासाथ चिच्याउँदै हानिनेछन् आ-आफ्नो घरतर्फ ।

उनीहरु बाँधिएका छैनन् कुनै फलामे साङ्लोले, न त उनीहरुलाई थुनिएको छ तालाबन्दी गरेर र पनि आफ्नो बेन्चबाट एक पाइला वर पर सर्न सकिरहेका छैनन् उनीहरु ।

साँझ झमक्कै परिसक्दापनि स्कूल गएका आफ्ना साना नानीहरु यतिबेलासम्म घर नफर्किँदा आमा बाबुहरु आत्तिन थाले । छर छिमेकमा पनि स्कूल गएका नानीहरु कोही फर्केको खबर छैन । गाउँको तीन कक्षासम्म पढाइ हुने स्कुल, त्यसमा पढ्ने कलिला नानीहरु, पढाउने दुइजना मात्रै माष्टर । के भयो त आज स्कूलमा ? कुनै अपि्रय घटना त घटेन ? गाउँलेहरु हतार हतार हानिन्छन् स्कुलतिर ।

अफिसमा ताला झुण्डिरहेको छ ।

पानी सिमसिम परिरहेको छ । सबै केटाकेटीहरुको डरले आक्रमण गरेको प्रष्टै देखिन्छ । आफ्नो अभिभावकहरु आफ्नो अगाडी पाउँदा एकाएक सबैजना डाँको छोडेर रुन थाल्छन् ।
'खोइ माष्टर ?'
दुइचारजनाको समूह माष्टरको पसलतर्फ हानिन्छन् ।
'किन यतिबेलासम्म घर नफर्केको ?'
'ऊ त्यो धर्कोमा जतिखेर घाम पर्छ त्यतिखेर मात्र हामी घर जान पाउछौँ' ढोका नजिकै धुलोमा कोरिएको धर्को देखाउँदै एकजना बालकले जवाफ दियो ।

+ + + + + + + + + + + + + + +

पानी दर्कन थाल्छ । बलेसीबाट खसेको पानीको बेगले ढोकानिर कोरिएको धर्को एकैछिनमा मेटाइदिन्छ । केटाकेटीहरु उफि्रदै हिलोमा थुप्रै धर्काहरु कोर्न थाल्छन्