Dec 26, 2011

कविता वाचन

मिति 
९ पुस २०६८

स्थान 
अलग अभियान

समय 
साँझ ५ बजे 

उपस्थिति 
नाकिमा, नदीश, विशद, मन्जु मार्मिका 

कविता
मन्जु : गजबका दिनहरु झुल्किन्छन्
विशद : पुँजीवाद 
नदीश : अमेरिका 
नाकिमा : दृश्यमा
मुना निश्चल : एक थुङ्गा सुनाखरी
प्रतिमा पाठक :  जिन्दगी भनेको यही हो 

Nov 18, 2011

प्यारो खोटाङ मेरो

नाकिमा

जति चढूँ हिमाल, मभन्दा सधैँ माथि
यो माटोमा आएदेखि अनन्तसम्म साथी
प्यारो खोटाङ मेरो

दिप्सुङ-सुङ्देल दुख्दाखेरी सुसाउँछ सल्ले
रुपाकोटमा गुराँस फुल्दा मुस्कुराउँछ मौरे
दुःखहरु बगाइलाने साप्सु-दिखुवा
अनुपम उपहार धिप्लुङ-बराहा
प्यारो खोटाङ मेरो

ट्याम्के-स्याल्मे अटल छ युगौँयुगदेखि
रावा-सावा गतिशील छ अथक ती यात्री
हलेसी र तायाचुङ आस्थाका धरोहर
सभ्यताकी जननी तयामा-खियामाको घर
प्यारो खोटाङ मेरो

सङ्गीत : भिमसेना राई

Nov 1, 2011

मेरो थियो

परिबर्तित सहर मेरो थियो
चेतनाको लहर मेरो थियो

उजाड किन कोमल बगैंचा
फुलाउने रहर मेरो थियो

छेक्दैछ फेरी प्रभात कसले
बिहानीको प्रहर मेरो थियो

गुजारे त्यसै यसपाली पनि
बदलिने ठहर मेरो थियो

गर्दैछ मस्ती लुटेरा मलाई
रगतको नहर मेरो थियो

Oct 19, 2011

बैठक २८ असोज २०६८ गरेका निर्णयहरु

  1. हेडक्वाटरमा अलग अभियानको बोर्ड राख्ने । 
  2. सलामबिहानीको डोमेन परिवर्तन गर्ने । 
  3. शब्दशिखा प्रकाशन तयारीलाई अगाडि बढाउने । 
  4. सबैले सबै अभियानहरुको सबै माध्यमबाट सक्दो प्रचार गर्ने । 
  5. विशेष अभियन्ताहरुको संयुक्त कविता सङ्ग्रहको तयारी प्रारम्भ गर्ने । 
  6. सबै अभियन्ताहरुले हेडक्वाटर व्यवस्थित बनाउन सक्दो आर्थिक लगानी गर्ने । न्यूनतम रु. १००० । 
  7. हरेक महिनाको दोस्रो र अन्तिम शनिबार अनिवार्य सिर्जना वाचनसहित बैठक बस्ने ।

Oct 15, 2011

म, मित र त्यो बालापन

विशद
मूलसडकबाट सयौँ कोस टाढा उछिट्टिएको
मेरो छाप्रो मुन्तिरको बाटो
त्यो राक्षसी झाँडिबिच
कहाँ-कहाँ लुक्दै 
हिड्थ्यो अँध्यारोमा
मलाई अहिले पनि थाहा छ
जति मेरो बालापनलाई थाहा थियो ।

जति लुकेको थियो त्यो बाटो
त्यतिकै बाङ्गो-टिङ्गो पनि थियो
मानौँ त्यो कुनै बाटो होइन
एउटा मिसनमा हिडेको कम्ब्याट सर्प हो
जो हिडिरहेछ दायाँ-बायाँ
                     यता-उता
                     कहिले 
घिस्रिएर, कहिले दौडिएर
                     कहिले विजयी मुद्रामा, कहिले चोटग्रस्त भएर ।

म र मेरा मित सगर्व भन्थ्यौँ त्यतिबेला-
"बाङ्गो बाटोबाट हिँडेर लक्ष्य भेटाउनु नै
                                   सर्पको जीवन हो
                                     उसको कला हो
                                         चेतना हो ।"

त्यही सर्पजस्तै हाम्रो बालापन
कहिले राप्ती नदीको गहिरो पिँधसम्म गएर भिझ्थ्यो
कहिले वल्लो किनार र पल्लो छालसम्म पुग्थ्यो
छालको चोटमा पनि म जिस्किदै भन्दिन्थे-
"वा ! क्या छलाङ मार्यौँ हामीले ।"

नतिजा
उफ… मित अहिले केवल छालमै छलाङ देख्ने भएका छन् ।

जब हामी सँगै पिँधमा पुग्थ्यौँ
किनारमा बसेर ढुङ्गा हान्ने
केही 
फ्याउराहरु खुशी हुन्थे
हामी डुब्यौँ भन्ने सोचेर
फेरि हामी उत्रिन्थ्यौँ सतहमा
गतीवान पौडिवान झैँ
त्यतिकैमा रुक्थ्यो 
फ्याउराहरुको ढुङ्गे ताण्डव ।

अहिले हाम्रो पिँधको लेखाजोखा
अनि हाम्रो पौडी इतिहासको डायरी छ
कुकुरमा बदलिएका 
फ्याउराहरुसँग
"अनि हाम्रो पौडिकला पनि नबदल्ने त मित ?"
मेरो प्रश्नमा मित गम्भीर बने
झैँ गर्छन् कहिलेकाही ।

आहा ! हामी डुल्थ्यौँ, 
उफ्रीन्थ्यौँअनि पौडी खेल्थ्यौँ
सधैभरि सँग-सँगै
साच्चै त्यो बालापन राप्तीजस्तै निर्मल थियो ।

नयाँ पौडिकलामा अलि नरमता भयो,
मित अचेल यसो भन्छन्
यो गुप्त बाटो अलि गन्तव्यहीन छ,
मित अचेल यसो भन्छन्
यो कम्ब्याट सर्पको हिडाइमा अलि दायाँपन आयो,
मित अचेल यसो भन्छन् ।

म सक्ने भए
यो कलेजी टक्राइदिन्थे
र लैजान्थे मेरा मितलाई
फेरि त्यही बालापनमा
मैले त बिर्सिन 
तर मेरा मितले नै सायद 
बिर्से त्यो बालापनलाई
अनि हामीले सगर्व सँगै भनेको त्यो भनाइलाई
"बाङ्गो बाटोबाट हिँडेर लक्ष्य भेटाउनु नै
                                   सर्पको जीवन हो
                                     उसको कला हो
                                         चेतना हो ।"

Sep 20, 2011

एक पाना जिन्दगीको डायरीबाट

मुना निश्चल

सानी मसँग टेढिएको पनि एक हप्ता भइसकेको थियो । मेरो आँगनबाट कलेज जान-आउन छाडिसकेकी थिई । उनी विश्वस्त भइसकेकी थिइन् कि मुनाले अब आपुनो विचारको हत्या गरिन् भनेर । तर विवशताको खास्टो ओढ्दैमा कसले आपुनो सक्कली रुप बदल्न सक्ला र त्यो मेरो चौघेरीय विवशसता मात्र थियो । कसैले मलाई पिँजडामा थुन्दैमा विचार बन्दी हुन्छ त विचार अझ बढी शक्तिशाली भै विष्फोटन हुने ठूलो अवसर हो त्यो त ।

सानी र संयोज तोते बोली बोल्दादेखिको मेरो असाध्यै मिल्ने साथी हुन् । सँगै रुने सँगै हाँस्ने सँगै पढ्ने सँगै खाने हाम्रो बानी थियो । उनीहरु दुवै चाचले स्वभावका थिए भने म मिजासीलो स्वभावकी थिए । उनीहरु एक अर्कालाई असाध्यै प्रेम गर्थे । म पटकपटक उनीहरुलाई जिस्क्याउँथे । उनीहरु दुवै पेट मिचीमिची हाँस्थे । अहो ! कति रमाइला थिए ति दिनहरु । हामी तीनै जनाको पढाइ एकदमै राम्रो थियो अन्य विद्यार्थीको तुलनामा । संयोगको आपुूभन्दा ठूलालाई आदर-सम्मान र सानालाई माया गर्ने बानीको सधैँ प्रशंशक थिएँ म । अझ भुल्नै नसकिने संयोगको बानी थियो अन्याय नगर्ने र अन्याय नसहने पिन ।

संयोग सानी र मैले एकै पटक एउटै श्रेणीमा उत्तीर्ण गर् यौँ यस।एल।सी। । सानी र म कलेज धाउन थाल्यौँ तर संयोगलाई आमाले पढाउन सक्नु भएन । संयोगको बाबा घरबारी धितो राखेर दोहा कतार जानु भाथ्यो र गएको पाँच नबित्दै त्यही बित्नु भएछ । घरबारी सबै चन्द्रे साहुको नाउँमा रहेछ । संयोगको कलिलो मनस्थितिमा आघात पुग्ला भनेर यी सब कुरा आमाले संयोगलाई नभनेकी रहेछिन् आजसम्म ।

एक बिहान आमा सिकुवामा कुचो लगाउँदै थिइन् । संयोग भैसीलाई घाँस हाल्दै थियो । चन्द्रे साहु बाघभैष गर्जदै आयो ुए साइँली बुहारी आजको भाका थियो साउँ-ब्याज तयार पारिस् सयोगको आमाले भनिन् ससुरा बा दुई वर्षसम्म पर्खिदिनुस् छोरा बढ्दै छ कमाएर तिर्ला । हा हा हा …॥ हाँस्दै ठीक छ तर आज तँबाट ब्याजको फाइदा लुट्छु भन्दै चन्द्रे साहुले जवर्जस्ती संयोगको आमाको शरीरमा हात हाल्यो । मलाई छोड् साले कुकुर ! भन्दै आमा कहालिएको सुनेर संयोग आयो र आमाको इज्जत लुट्न खोजिरहेको चन्द्रेलाई गोदेर लखेट्यॊ । त्यही आरोपमा संयोगलाई चन्द्रेले जेल हाल्यो । सजाय पूरा गरी संयोग जेलमुक्त भयो । त्यो पल देशमा अन्याय अत्याचारविरुद्ध जनक्रान्तिको आगो दन्किरहेको थियो । संयोग उक्त जनक्रान्तिमा सरिक भयो । त्यतिबेला सानीले भनेकी थिई हेर मुना अब तँ र म जसरी भए पनि त्यो विद्रोहमा जानैपर्छ । मैले सानीलाई सम्झाउँदै भनेकी थिएँ सानी चुला छोडेर बन्दुक बोकी आगन जाँदैमा घरमा न्याय मिल्छ नसोच् । र यो पनि सोच् बन्दुक एक साधन मात्र हो साध्य त विचार हो । अब यहाँ चेतनाको विद्रोह त्यो पनि चुलोबाटै उब्जिनु पर्छ । यो युग परिवर्तनको लागि प्रत्येक घरघरभित्रै जनविद्रोह भत्किनु पर्छ । जसको लागि यहाँ अभाव छ चेतना सम्वाहकको । सानीले भनेकी थिई त्यसो हो भने यो अभियानको संयोजन हामीले गरेर संयोगलाई साथ दिउष हुन्न मैले हा हा ..॥ हाँस्दै हुन्छु भनेकी थिएँ । अपसोच किनेको जागिर सानीको कानमा पर्ना साथ म उनको आँखाको कसिङ्गर बनेँ । म हरक्षण कोसिस गर्थे बोलाउन तर उनी खसालेर एक वचन बोल्थिन् त्यो पनि करले।

एकदिन सानीलाई भेट्न म उनको घर गएँ । तर सानी त क्रान्तिमा होमिइसकेकी रहेछिन् । लिम्दे बहिनीले एउटा कागजको टुक्रा ल्याएर दिइन् । त्यहाँ लेखिएको थियो :
प्यारी मित्र मुना
अत्याचारको रक्तकुण्डबाट देश उतार्छु भन्ने विचार पैसामा लिलाम गरेर भष्टाचारको जागिरले खुब मोजमस्ती लुट्दै होलास् । तँ जस्तै विश्वासघाती जुकाहरुले गर्दा यो राष्ट्र सुकेको छ । लाल झुपडीको खुन चुसिएको छ । त्यसको विरुद्ध उठ्दैछन् अब लालवस्तीहरु । होसियार !

तेरो प्रतिपक्षी
सानी

Sep 7, 2011

ए शिकारी दाइ !

स्व. स्वप्निल स्मृति

ए शिकारी दाइ !
यसपालि नि सेक्मुरी फूल झर्ने हो कि कोपिलामै
चल्दैछ है अन्दङ फूलको बासना
जालीझेली शासन…

तिम्रो सिमसार, घुमाउने खेत, भस्मे, जगर, खोरिया
आफ्नै घरमा बस्छौ कति पराइको हलिया !
चाँडो होला लुकाउन कोथीमारा खुकुरी
काटिराख अझै एकदुई, घङ्घरुका लठ्ठी
ए शिकारी दाइ !
यसपालि नि सेक्मुरी फूल झर्ने हो कि कोपिलामै…

विचारको तिम्रो शिकार होस गर है उम्केला
धनु सुरो ताकी राख काँड त्यसै फुत्केला
अरुण खोला काङ्सोरेको कथा सम्झी राख है
बालुवामा लुकाइएको तरबार सम्झी राख है
ए शिकारी दाइ !
यसपालि नि सेक्मुरी फूल झर्ने हो कि कोपिलामै…

(विश्व आदिवासी दिवसको उपलक्ष्यमा समर्पित)

Aug 30, 2011

माटो बोल्दैछ



भन्छ ज्वाला पिउँछु
र आगो नै बन्छु
जलाउनु छ जल्लादहरुलाई

भन्छ गोली निल्छु
र बन्दुक बन्छु
सिध्याउनु छ सामन्तीहरुलाई

र भन्छ पानी छोएर
बर्षाउँछु एउटा बर्षा
पखाल्नु छ छाती मेरो
रगतले पोतिएको शरीर मेरो
मुहार फेर्नुछ मैले
माटो बोल्दैछ |

Aug 20, 2011

गद्यमा अलग अभियान



३ भदौ २०६८ । अलग अभियानले 'गद्यमा अलग अभियान (दोस्रो गद्य अन्तरक्रिया)' सम्पन्न गरेको छ । अन्तरक्रियामा कथा, निबन्ध, नाटक र संस्मरण गरी ८ जना अभियान्ताहरुको १८ वटा गद्य सिर्जना समाविष्ट गरिएको थियो । यसअघि अलग अभियानले कविता, गीत र गजल  अन्तरक्रियाको दोस्रो शृङ्खला सम्पन्न गरिसकेको छ ।

Aug 14, 2011

रङ्गिन साँझ

प्रतिमा पाठक
             क्रान्तिकारी दर्शन र रुमानी भोगाइ सँगसँगै उडेका छन् हावा- हुरी चलेको यॊ विशेष साँझ । पानीको प्राथमिक बाछिटाका चुटाइ र उडेका पातहरुले तहल्का मच्चाइदिएका छन् सुन्दर अनुभूति बनेर । हृदयभित्रको प्रेम साँच्चै यस्तो चीज भइदियो जो उडेन यी पातहरु जसरी अरुले देख्ने गरी । मुटुभित्रै जमेन पनि ढुङ्गा झैँ  बिझ्ने गरी । बरु मेरो उद्देश्यको प्रतिबद्धता र सपनाको संवेदनशीलतासँग यसरी सङ्लिएर बगिदियो जीवनमा बग्ने हर बाढी भेलको मैदानमा पनि कि म सदैव यसको काचनताको ऋणी रहनेछु । जसले प्यास होइन उल्लास जगाएको छ तृप्तिको । हारको जलन होइन शीतलता दिएको छ प्राप्तिको । प्रेरणा दिएको छ समर्पणको ।
       पूर्वी आकाशमा कालो बादल गर्जन लगाइरहेछ । पश्चिम आकाशको सेतो बादल फाटेर धर्तीलाई चियाउन निस्केका सुनौला किरण यी मस्त नाचिरहेका भिन्नभिन्न हरिया आकृतिहरुमाथि पर्दा अनौठो परावर्तन भएको छ रङ्गिन भोगाइहरुको । लाग्दैछ सबै प्राणी कालो युगको बिरुद्धमा छन् र गर्जिनको लागि तयार छन् नव युगलाई निम्त्याउन । यथास्थितिलाई मृत घोषित गर्न हरेक लताहरु फर्फराइरहेछन् क्रान्तिको ध्वजा बनेर । चराहरुले आफ्नो वर्गीय गीत गाएझैँ लाग्छ स्वतन्त्रताका सेनानी बनी । यस ऋतुमा सुनिने यी पंक्षीको कुहू…॥कुहू को रटाइले नाराबाजी गरे झैँ लाग्छ र लाग्दैछ…बतासहरुले यो ध्वनीलाई यी हरिया डाँडाका पर्खालभन्दा पारि-पारिसम्म पुर् याइरहेछन् । सम्पूर्ण दृश्य नै सुनौलो भएर छरिएको छ । लाग्दैछ- हामी सबै सबै प्राणी सबै मानव एउटा युगीन युद्धको अन्तिम तयारीमा छौँ जसको जीत निश्चित छ। बिल्कुल अस्वभाविक लागिरहेको छैन यो साँझमा मभित्रको मानवको दार्शनिक उहापोहहरु ! आखिर कसरी नजरअन्दाज गरिदऊं विश्वलाई एकै सुत्रमा बाँध्ने प्रकृतिको यो अनुपम भोगाइ…यो ज्वलन्त आह्वान ! यस्तो पनि लाग्दैछ…॥यो तयारी वनभोजको हो विजयउत्सवको हो । हर्षोल्लास छ चारैतिर…। मनभित्रको तस्विर पनि पल्लो किनारमा बसेर हाँसिरहेछ…।मलाई भनिरहेछ आखिर हामीले यही नै त सपना देखेका थियौँ । हो दुविधाहरुको अन्त्य भएपछि मात्र द्वन्दको पाइला सुरु हुन्छ परिवर्तनको लागि । मैले पनि त दुविधाको अन्त्य गरेर द्वन्द्व सङ्घर्षको थालनी गरिदिएको थिएँ सपनाको सम्मान र शान्तिको निम्ति !
            झरी झन्झन् आक्रामक भएर दर्किन थालेको छ । स्वभाविक रुपमा दृश्यहरु गोधूलि प्रहरसँगै अँध्यारिन थाल्दैछन्……रक्तिम क्षितिजहरु काला बादललाई समाहित गरेर हरिया खम्बाहरुलाई पखाल्दै गइरहेछन् । निशाले झम्टिएर सबै रङ्गहरुलाई एउटै रङ्गमा डुबाइदिएकी छ । तर यो समयको प्रतिकि्रयावाद होइन सुरुवात हो…रात्रिकालिन दिवसको ! एउटै वर्गमा बेरिएका छन् अब सबै प्राणीहरु कि सबैलाई प्रतीक्षा छ त केवल भोलिको मिर्मिरेको । यस युगको स्वर्णिम रुपान्तरणको । किनकि मैले पनि स्वयम् आपैषसँग आपुनो युगको लागि प्रतिबद्धता गरिसकेको छु कि जिन्दगीको अन्तिम साँझ यो साँझप्रति सदा आभारी रहनेछु जसको उत्प्रेरणा र मार्गनिर्देशनले मेरो यसरी दूरगामी उपचार भएको छ ।
हुरी रोकिएपछिको भोलिको बिहानको मौनतामा मानवताका वर्गशत्रु सोत्तर भएको कल्पनाले मनलाई आल्हादित बनाइदिन्छ। फेरि सुनौलो बिहानीले सम्पूर्ण योद्धाहरुलाई सलाम गर्दै लाल अभिवादन टक्र्याउने छ। सलाम बिहानी ! सम्पूर्ण बाल बृद्धा युवा दस्ता र चराचुरुङ्गी सबैले यही सम्बोधन गर्नेछन् त्यो नव दिनको । साँच्चै क्रमिक बढ्दो गतिमा दर्कदै गरेको झरी मनलाई आत्मविश्वास र सपनाहरुले उद्धेलित गराउने बतास…मोर्चामा ठडिएका यी वृक्षहरुले सुसेलेको आवाज गर्जिरहेका मेघहरु ऊर्जाशक्तिको बोध गराउँदै चम्किरहेको बिजुली सम्पूर्ण स्थितिलाई नियालेर मेरो मनका भावहरुमा विजयको उत्घोष मिसाई गाइरहेका पंक्षीहरु…॥प्रेमिल जोडीहरुको भोगाइको सौन्दर्य दर्शाउने मिलनको आश्वासन दिलाउने यो श्रृङ्गारिक साँझ……
            वास्तवमै एंगेल्सले त्यसै भनेका होइनन् हाम्रा निम्ति सोचिदिने दार्शनिकहरु र जुधिदिने श्रमजीविहरु भएपछि संसारमा के कुनै त्यस्तो शक्ति हुन सक्ला जसले हाम्रो प्रगतिलाई रोक्न सकोस्  नव दिनकॊ मात्रै होइन…॥नव युगको शुभकामना दिन्छु नव अभियानको प्रस्तावनासँगै !

Aug 10, 2011

हामी नेपालीको

शकुन आँसु

वारीपारी पाखा सारा हामी नेपालीको
धर्तीमाटो गगनतारा हामी नेपालीको

कहीँ  छैन कहीँ हुन्न सानो ठूलो मान्छे
देश बोक्ने अभिभारा हामी नेपालीको

कस्ले मेट्न सक्थो र प्रकृतिको अक्षर
मौनतामा जम्ने रारा हामी नेपालीको

विविध भाषा संस्कृति रमाएर एकै
आफ्नो भेष आफ्नै पारा हामी नेपालीको ।

Jul 31, 2011

अन्तिम गीत

 

अन्तिम गीत मेरो ती हावाका स्पर्शहरुलाई
अन्तिम गीत मेरो ती शिरिषका फूलहरुलाई

उडिरह्यो पंक्षी टाढा, लुक्यो भित्र तुवाँलोमा
उड्न खोज्ने चङ्गाहरु अल्झे कतै हाँगाहरुमा
अन्तिम गीत मेरो झरेका ती शीतहरुलाई
अन्तिम गीत मेरो दुखेका ती प्रीतहरुलाई

दौडिरह्यो समय, समय सँगै रितुहरु
उभिएर पर्खिरहेछन् थकानमा मृत्युहरु
अन्तिम गीत मेरो नदीका ती छालहरुलाई
अन्तिम गीत मेरो बितेका ती कालहरुलाई

Jul 30, 2011

बैठक २०६८ साउन १४ ले गरेका निर्णयहरु

१. साउन २१ गते गद्यको बाइन्डिङ वितरण गर्ने । भदौ ३ गते  अन्तरक्रिया गर्ने ।
२. सलामबिहानीमा महिनामा ४ नेपाली कविता, २ नेपाली गद्य र २ अङ्ग्रेजी रचना अपडेट गर्ने, हप्तामा २ वटा गरेर ।
३. नदीशले सलामबिहानी र मन्जुले ब्लगमा प्रकाशित प्रत्येक रचनाको लिङ्क फेसबूकको ग्रुपमा हाल्ने र अरु अभियन्ताहरुले पनि अनिवार्य रुपमा आफ्नो वालमा प्रत्येक रचनाको लिङ्क हाल्ने । 

Jul 24, 2011

तिमीलाई कुरिरहेछु



सुनौलो बिहानीको गाथा गाउँदै
सदभावको घडा सजाएर
अन्धकार रातमा
तिमी हराएकी थियौ
वषौ पुरानो भइसक्यो समय
इतिहासको कालखण्डमा खुशी भएथे
एउटी निडर छोरी जन्माएछु भनेर

उहिल्यै देखि

अनवरत सुस्काइरहेका सुस्केराहरु
पोको पारेर हराएको त्यो
अध्यारो रात डरलाग्दो थियो
घोडालाई टापले थिचे जस्तै गरि
थिचिएका भावनाहरुलाई
कुम्लो पारेर न्यानो अँगालोमा
हावाहुरी चलेको रातमा
तिमी हराएकी थियौ
छोरी हराउँदा खुशी हुने
एउटी आमा तिम्री म
अहिले पनि तिमीलाई कुरिरहेछु ।

उकालो ओह्रालो

आउने जाने बटुवाहरुलाई
कयौ पटक सोधिसके छोरी
साटेर रगत र पसिना
तिमी सुनौलो बिहानीको गाथा गाउँदैछौ रे
तिम्रो स्वागतमा
सदभावकै घडा सजाएर
समयले पर्खिरहेछ
सुनौलो बिहानी लिएर आऊ
साउनको भेलमा जीवनको बाजी थापेर
त्यही जीवन बचाउने साइला माइलाहरु
अझैपनि धाइरहेकै छन मान्छे बेच्ने बजार ।

समयको उछिन पाछिनलाई पच्छ्याउदै

बदलिरहने हावाका झोक्काहरु सँग
तिमी निर्मल र स्वच्छ
हावा बनेर आऊ
तिमीले फुकिरहेको आगो बालेर
उज्यालो रात लिएर आऊ ।
तिमीलाई जन्माएको मैले नै
तिमीलाई निडर बनाउने पनि मै हुँ
तिमी जस्तै निडर सन्तानहरुलाई कुरिरहेछु
अहिले पनि तिमीलाई कुरिरहेछु

Jul 17, 2011

लिलाम गर्दैछु

कपिल अन्जान 

सपना सुनौला लिलाम गर्दैछु
कुनैदिन भनौला लिलाम गर्दैछु

साहुले झुपडी देखाएर भन्छ

कतिन्जेल बसौला लिलाम गर्दैछु

कहाँ-कहाँ सही छाप गर्नु छ भन

अब यि औला लिलाम गर्दैछु

गजलकार भएर के लिलाम गरिन्

बाँकी छ मृगौला लिलाम गर्दैछु  ।

Jul 11, 2011

शब्दहरुको महासम्मेलन होइन


 

समकालीन गजलाकाशमा विपल अकेला तारा हुन्, समर्जन ध्रुवतारा र म जूनकीरी । मलाई जूनकीरीसम्म बनाउने समर्जनसँगको सामिप्यता हो । विपलको भूमिकालाई पनि म बिर्सन सक्तिन ।

मलाई कवि बनाउने पवन, उसको सानो लाइब्रेरी र मेरो साहित्यिक प्यास ।
लाइब्रेरीमा खुसुक्क छिर्थेँ, किताब चोर्थेँ
कोठामा ल्याउँथेँ । त्यो पटक त गजल सङ्ग्रह नै परेछ । गजलकार को थिए. सङ्ग्रहको नाम के थियो, स्मरण भएन । गुलाबी रङको आवरण. केही पृष्ठ पल्टाइए. केही शेर लेखिए । चित्त खाएन, च्यातिए र फालिए । घडीको सुइले धेरै फन्को मार्यो । गजल सुनिएन पनि, लेखिएन पनि र पढिएन पनि ।

रहर र बाध्यता हुरी बनेर आयो, सुदीपलाई आमोद र सुमनलाई लोकस बनायो । हामीबीचको भौतिक, आत्मिक, वैचारिक हर दुरी छोटियो । फलतः एक अर्काको साहित्यिक प्रारम्भ, निरन्तरता र विकास महत्वपूर्ण भयो एक अर्कालाई । त्यस पहिले मेरो लागि न समर्जनसँगको साहित्यिक सम्बन्ध महत्वपूर्ण थियो न त गजल नै । तर अहिले त मलाई पर्याय हुन् गजल र समर्जन ।

मैले भर्खर गजलको आधारभूत
सरंचना बुझेको हुन्छु, 'बगाउन' (समर्जनको भाषामा) जान्न अझै बाँकी नै हुन्छ विपल अकेला गाउँबाट एक झोला गजल बोकेर आउँछन् र मेरो अगाडि थुपारिदिन्छन् । मेरो आँखाबाट हर्षासु खस्दछ । विपलको गाउँले कोशेली कम्ती मीठो हुँदैन, समर्जन र म बाँडीबाँडी खान्छौँ । विपलबाट हामी मौलिकता लिन्छौँ र उनलाई आधुनिकता दिन्छौँ । अन्ततः उनले बुझ्दछन् शब्दहरुको महासम्मेलन होइन साहित्य

(साउन ०६४, अप्रकाशित गजल सङ्ग्रह 'जिगिषा' को लागि लेखिएको भूमिका)

Jul 3, 2011

माटो रोला है

विपल बोयुङ
भयौ कि त गाउँको बिरानो
जन्मिएको ठाउँको बिरानो
तिम्रो अङ्ग-अङ्ग चुम्ने माटो रोला है

साँझपख सुर हाल्छ वनचरी तिम्रै गीत

गाँस्या`छ रे पखेरोले तिमीसँगै प्रीत
भुलेऊ कि त सँगै खेलेको
घाम पानी सँगै झेलेको
तिमीलाई जीवन दिने कोख रोला है

जहाँ तिमी घामसँगै झुल्किएथ्यौ पहिले

त्यहाँ तिम्रै आगमन छैन भन्छन् अहिले
बिर्सियौ कि खोला तरेको
मेलापात सँगै गरेको
तिमीलाई हिँडाउने बाटो रोला है

Jun 24, 2011

इँटाको रातो जङ्गल

 स्व. स्वप्निल स्मृति

कसरी भन्न सक्छु
यो सहर मेरो हो
जबकि गाउँमा बितेको थियो मेरो बालापन
निकै लामो दूरी पार गरेर मात्र
म जहाँ उभिइरहेको छु- यहाँसम्म आइपुगेको हो ।

पहिले म कहिल्यै एक्लो थिइनँ
जब घरमुनिको कान्लाले छेक्दै गयो
गाउँ त्यस्तरी छोडिँदै आयो
जब खोला तरेँ
तब लाग्यो म साँच्चिकै कतै जाँदैछु
कि यहाँ आइपुग्दा
निदाइरहेको थिएँ म मालबाहक ट्रकमा
जब ब्युँझिएँ यहाँको कोलाहलले
कि बहुराष्ट्रिय कम्पनीका एजेन्टहरुले
लात्ताले हिर्काउँदै झारे
ट्रकको मालसँगै मलाई
त्यस्तरी म एउटा भँगालो
मिसिएँ यो मान्छेहरुको महासागरमा
त्यस्तरी म एउटा इँटा
थपिएँ यो इँटाको रातो जङ्गलमा
त्यस्तरी म एक चोइटा सिसा
कस्तरी जोडिएँ यो काँचको अग्लो दलमा ?
कसरी भन्न सक्छु म
यो सहर मेरो हो
कि हारालुछ भीडमा पाउँछु म आफूलाई बिलकुल एक्लो ।

म सोच्न सक्छु-
मान्छे कसरी जोडिने अर्को मान्छेमा
जब भुस्याहाभन्दा सहज मारिन्छन् मान्छे जेब्राक्रसमा
कालभैरव चक्कु हान्छ साइबर क्याफेमा
महादेव सिरिन्ज हान्छ र बौलाउँछ नाइट क्लबहरुमा
राजकुमार एके-४७ खेलाउँछ र भुइँचालो जान्छ टोलटोलमा
मान्छे कसरी मान्छे बन्ने ?
म देख्छु-
नयाँ सडक धमाधम लुगा फुकाल्दै छ जिन्स पुस्ताको
र प्रत्येकलाई बदल्दै छ सुपरमार्केटको डमीमा
जहाँ रिमोट कन्ट्रोलले चलाउँछ मान्छे
र थोत्रो बनाउँछ मष्तिस्कको पुर्जा
कस्तो सुखको रङ हो यो ?
दरबारमार्गमा दुईटुक्रा बिकिनी किन्दिएर
उफार्दै छ ज्याजमा बि्रट्नी स्पेयर्सहरु
ठमेल सय रुपैयाँमा सम्भोग गरेर लखेट्दैछ समलिङ्गी
यहाँको खुसीको विषय हो यो
पुतलीसडक डीभी परेर भाँडा माझ्दै छ अमेरिकाको
म आफैँलाई देाष दिन्छु-
यी दुनियाँ सवाल उठाउने म पागल हो ।
मध्यमवर्गीय बार्दलीमा
यस्ता हाइबि्रड आमाहरु घाम ताप्दै छन् ।
छोरी क्याटवाक गराउँछन् डिजिटल र् याम्पमा
बुहारी नाङ्गै बनाउँछन् पूजाकोठामा
यो आधुनिक धार्मिक सहर
सायद यिनै आमाहरुको हो ।
एटीएम रुममा
कस्ता तनावग्रस्त बुबाहरु छन् भने
सहर हल्लाउने एउटा मोटरसाइकल नकिन्दिए
हिप्पी गलफ्रेन्डलाई बुहारी नस्वीकारे
जङ्की छोराहरुले दिएका छन् आत्महत्याको अल्टिमेटम
यो सहर
सायद यिनै छोराहरुको हो ।

हमेसा पुरातात्विक क्षेत्रमा
मुस्कुराइरहेछन् पोलिथिनका माउन्ट एभरेस्ट
यसरी चलिरहेछ प्रदुषणको आँधी
सहर सुरसा हो र टकटक्याइरहेछ विद्रुप जिउ
यस्तो लाग्छ-
मभित्रको आदिकविसित छ यति नेगेटिभिटी
म कसरी वर्णन गर्नसक्छु यहाँको क्लनिङ ऐश्वर्य
कि फूल गोड्दागोड्दै
जन्माउनुभयो आमाले मलाई फूलबारीमा
अझै छ फूलको बासना ममा
त कसरी हुनसक्छ यो सहर मेरो ।

ग्यालरीमा सुसज्जित परीका पोट्रेट
र मिनरल वाटरका बोतलले सडक हिर्काइरहेका
महानगरका धनाढ्य श्रीमतीहरु
चोकमा स्थापित महापुरुषका सालिक
र ब्यान्डबाजा बजाइरहेका यहाँका सवारी चालक
यो सहरजस्तो छ वटा सहर जुवा हान्नसक्ने कुनै जुवाडे
वा पहाड ताछेर टाउन प्लानिङ गरिरहेका जग्गा दलाल
कसको हो यो सहर
यी बबरमहल केशरमहल हरिहरभवन बसन्तपुर
जसले बनाउँछन् धरहरा घण्टाघर रानीपोखरी…
ज-जसको छ कम्तीमा ए-एउटा ओडार
के तिनीहरुको हो ?
कति मर्छन् किच्चिएर यी महलका निदाल ओसार्दा कमिला-कामदारहरु ?
कति पुरिन्छन् भग्नावशेषभैष माटो थुपार्दा ट्याक्टर-मेरुदण्डहरु ?
कति टाँसिन्छन् बुट्टामै टुँडाल कुँद्दा कालीगढ-मनहरु ?
यो पश्चिमपट्टीको झ्याल
कुन रखौटी टोलाई बस्ने झ्याल हो ?
कुनै कुमालेको स्वाभिमान छ यो धरहरामा ?
कुन मानव सभ्यताको समय छ घण्टाघरमा,
कुन शताब्दीमा रगत सङ्लिएर पानी बन्छ रानीपोखरीमा ?
कसरी भन्न स्क्छु-
यो सहर मेरो हो
जबकि सबैभन्दा माया गर्ने मेरी प्रियसी गाउँमा छिन् ।

कसरी हुनसक्छ यो सहर मेरो
जबकि गाउँमा बितेको थियो मेरो बालापन
जब म काम गर्न सक्ने भएँ
जब म देख्न थालेँ स्वप्न
यो सहरले खरिद गर्यो मलाई सस्तो भाउमा
र महँगो दाउमा बिक्री गरेको सत्य हो ।

Jun 19, 2011

बैठक २०६८-०३-०४ ले गरेका निर्णयहरु


१. गद्य अन्तरक्रिया  श्रावण १४ गते गर्ने, सामग्री सङ्कलन असार २५ गतेभित्र गर्ने जसको संयोजन दृष्यले गर्ने ।
२. salambihani.com को डोमेन परिवर्तन गर्ने ।
३. शब्दशिखा त्रैमासिक असोजभित्र प्रकाशन गर्ने ।
४. ब्लगलाई प्रभावकारी बनाउन  कविता, गीत, गद्य र गजल गरी महिनाको ४ वटा सिर्जनाहरु पोस्ट
गर्ने ।
५. असारको १८ गते हुने अक्षरसँग अंग्रेजी श्रृङ्खला गर्ने ।
६. फेसबुकको Alag Abhiyan ग्रुप मार्फत सबै अभियानहरुको प्रचार गर्ने र त्यसमा सबै अभियानताहरु सहभागी हुने ।

Jun 10, 2011

मेरो पनि हुनुपर्छ

उदिम किराती

यो जमिन मेरो पनि हुनुपर्छ
यसमा अधिन मेरो पनि हुनुपर्छ

आँखा एउटै हो मान्छे एउटै हो

सपना रङ्गीन मेरो पनि हुनु पर्छ

म हुँदिन अन्त हुन्छु यही देशमा

खोजि एकदिन मेरो पनि हुनुपर्छ

May 9, 2011

रचिरहेछ अमर कहानी

 मुना निश्चल

लम्किरहेछ चम्किरहेछ
संसार बदल्ने अथक यात्री
रचिरहेछ अमर कहानी

संसार फेरेरै छाड्छु भन्छ

स्वतन्त्र भई बाँच्छु भन्छ
पन्छाइरहेछ काँडाहरु
सम्याइरहेछ डाँडाहरु
संसार बदल्ने अथक यात्री
रचिरहेछ अमर कहानी

सिर्जनशील हात अघि सारेर

स्वाभिमानी झण्डा ओढेर
ब्यूँझाइरहेछ बस्तीहरु
जन्माइरहेछ बिहानीहरु
संसार बदल्ने अथक यात्री
रचिरहेछ अमर कहानी  ।।

May 6, 2011

वानरप्रदेश

 विशद

म वानरप्रदेश
चेप्टिता-चेप्टिदै
यति चेप्टिसके कि
अब म सक्छु
सियोको प्वालबाट पनि छिर्न
अनि जन्माउन सक्छु म आफैभित्र
एउटा सुक्ष्म ब्रम्हाण्ड ।

यहि हलोले खोतल्छु म अब
मेरो भूमीको 'बुरान*' कथा
यहि फरुवा लिई खोज्छु म अब
आलीमा खुम्चिएको मेरो ज्यथा
राप्तिसँगै बगेको समय
समयसँगै बगेको राप्ति
अब मोड्छु म मेरै छातितिर
र पुरै बगाउछु
यो छातिभित्रको दासता ।

अब फुल्छन् आँप-अम्बाहरु
र म उफ्रिन्छु लामो उफ्राइ
हाँगाबाट-हाँगासम्म
अब झुल्छन् धान-मकैहरु
र म दौडिन्छु लामो दौड
खेतदेखि-खेतसम्म
सगर्व घुमाएर मेरो आदिम पुच्छर
म हिड्छु अब
सभ्यताको नयाँ विन्दुबाट ।

के तिमीमा छ यो शिल्प ?

ल सुन
मेरै छाती थिची बसेका
तिमी बिरानो शहर !
मेरै मुटु चिरी बगेका
तिमी बिरानो सडक !
तिमीले ठड्याइदिएको
यो ओढार च्यातेर
अब उदाउछु- म वानरप्रदेश
र जन्माउछु आफैभित्र
एउटा सुक्ष्म ब्रम्हाण्ड
एउटा स्वायत्त ब्रम्हाण्ड ।

बुरान* : आफ्नो भूमी छलपूर्वक हत्याइएपछि थारुहरुले गरेको बसाइँसराइँ ।

May 1, 2011

धर्के मास्टर

 नदीश

आकाशभरि कालो बादल मडारिएको छ । पानी दर्केला जस्तो मौसम छ । आज स्कूल छुट्टी हुने कुनै लक्षणसम्म पनि देखिएको छैन यतिबेलासम्म । कक्षाकोठाका केटाकेटीहरु एक टक हेरिरहेछन् ढोका नजिकै कोरिएको धर्को । घामको झुल्काले कतिखेर त्यो कोरिएको धर्को चुम्ने हो र उनीहरु मुक्त हुनेहुन् आजको दिनमा त्यो सम्भावना न्यून छ र पनि झिनो आशा देखिन्छ हरेकको मुहारमा हिजो-अस्ति जस्तै आजपनि घामले पाइला टेक्नेछ, ढोकानिरैको धर्को चुम्नेछ र उनीहरु पूर्ण उन्मुक्तिकासाथ चिच्याउँदै हानिनेछन् आ-आफ्नो घरतर्फ ।

उनीहरु बाँधिएका छैनन् कुनै फलामे साङ्लोले, न त उनीहरुलाई थुनिएको छ तालाबन्दी गरेर र पनि आफ्नो बेन्चबाट एक पाइला वर पर सर्न सकिरहेका छैनन् उनीहरु ।

साँझ झमक्कै परिसक्दापनि स्कूल गएका आफ्ना साना नानीहरु यतिबेलासम्म घर नफर्किँदा आमा बाबुहरु आत्तिन थाले । छर छिमेकमा पनि स्कूल गएका नानीहरु कोही फर्केको खबर छैन । गाउँको तीन कक्षासम्म पढाइ हुने स्कुल, त्यसमा पढ्ने कलिला नानीहरु, पढाउने दुइजना मात्रै माष्टर । के भयो त आज स्कूलमा ? कुनै अपि्रय घटना त घटेन ? गाउँलेहरु हतार हतार हानिन्छन् स्कुलतिर ।

अफिसमा ताला झुण्डिरहेको छ ।

पानी सिमसिम परिरहेको छ । सबै केटाकेटीहरुको डरले आक्रमण गरेको प्रष्टै देखिन्छ । आफ्नो अभिभावकहरु आफ्नो अगाडी पाउँदा एकाएक सबैजना डाँको छोडेर रुन थाल्छन् ।
'खोइ माष्टर ?'
दुइचारजनाको समूह माष्टरको पसलतर्फ हानिन्छन् ।
'किन यतिबेलासम्म घर नफर्केको ?'
'ऊ त्यो धर्कोमा जतिखेर घाम पर्छ त्यतिखेर मात्र हामी घर जान पाउछौँ' ढोका नजिकै धुलोमा कोरिएको धर्को देखाउँदै एकजना बालकले जवाफ दियो ।

+ + + + + + + + + + + + + + +

पानी दर्कन थाल्छ । बलेसीबाट खसेको पानीको बेगले ढोकानिर कोरिएको धर्को एकैछिनमा मेटाइदिन्छ । केटाकेटीहरु उफि्रदै हिलोमा थुप्रै धर्काहरु कोर्न थाल्छन्

Apr 30, 2011

 

आकाशभरि कालो बादल मडारिएको छ । पानी दर्केला जस्तो मौसम छ । आज स्कूल छुट्टी हुने कुनै लक्षणसम्म पनि देखिएको छैन यतिबेलासम्म । कक्षाकोठाका केटाकेटीहरु एक टक हेरिरहेछन् ढोका नजिकै कोरिएको धर्को । घामको झुल्काले कतिखेर त्यो कोरिएको धर्को चुम्ने हो र उनीहरु मुक्त हुनेहुन् आजको दिनमा त्यो सम्भावना न्यून छ र पनि झिनो आशा देखिन्छ हरेकको मुहारमा हिजो-अस्ति जस्तै आजपनि घामले पाइला टेक्नेछ, ढोकानिरैको धर्को चुम्नेछ र उनीहरु पूर्ण उन्मुक्तिकासाथ चिच्याउँदै हानिनेछन् आ-आफ्नो घरतर्फ ।

उनीहरु बाँधिएका छैनन् कुनै फलामे साङ्लोले, न त उनीहरुलाई थुनिएको छ तालाबन्दी गरेर र पनि आफ्नो बेन्चबाट एक पाइला वर पर सर्न सकिरहेका छैनन् उनीहरु ।

साँझ झमक्कै परिसक्दापनि स्कूल गएका आफ्ना साना नानीहरु यतिबेलासम्म घर नफर्किँदा आमा बाबुहरु आत्तिन थाले । छर छिमेकमा पनि स्कूल गएका नानीहरु कोही फर्केको खबर छैन । गाउँको तीन कक्षासम्म पढाइ हुने स्कुल, त्यसमा पढ्ने कलिला नानीहरु, पढाउने दुइजना मात्रै माष्टर । के भयो त आज स्कूलमा ? कुनै अपि्रय घटना त घटेन ? गाउँलेहरु हतार हतार हानिन्छन् स्कुलतिर ।

अफिसमा ताला झुण्डिरहेको छ ।

पानी सिमसिम परिरहेको छ । सबै केटाकेटीहरुको डरले आक्रमण गरेको प्रष्टै देखिन्छ । आफ्नो अभिभावकहरु आफ्नो अगाडी पाउँदा एकाएक सबैजना डाँको छोडेर रुन थाल्छन् ।
'खोइ माष्टर ?'
दुइचारजनाको समूह माष्टरको पसलतर्फ हानिन्छन् ।
'किन यतिबेलासम्म घर नफर्केको ?'
'ऊ त्यो धर्कोमा जतिखेर घाम पर्छ त्यतिखेर मात्र हामी घर जान पाउछौँ' ढोका नजिकै धुलोमा कोरिएको धर्को देखाउँदै एकजना बालकले जवाफ दियो ।

+ + + + + + + + + + + + + + +

पानी दर्कन थाल्छ । बलेसीबाट खसेको पानीको बेगले ढोकानिर कोरिएको धर्को एकैछिनमा मेटाइदिन्छ । केटाकेटीहरु उफिरदै हिलोमा थुप्रै धर्काहरु कोर्न थाल्छन् ।

Apr 23, 2011

डुङ्गा भएछु

 

माफ गर प्रिय मान्छे ढुङ्गा भएछु
नदी तर्छु भन्दा भन्दै डुङ्गा भएछु

फुलेछ केश पनि लड्दालड्दै सहरसँग
परेछ रात अनि हिँड्दाहिँड्दै रहरसँग
उड्दाउड्दै चुडिएको चङ्गा भएछु
माफ गर प्रिय मान्छे ढुङ्गा भएछु

रेटिदो हो मन पनि काट्दा दाउरा-घाँस
बल्झदो हो याद अनि धाउँदा मेला-पात
गाउँदागाउँदै व्यथा, मुर्चुङ्गा भएछु
माफ गर प्रिय मान्छे ढुङ्गा भएछु

Apr 21, 2011

MAAJHI

swo. swapnil smriti

I am not a VIP……
“His excellency -on the golden seat,
Government holder-Prime minister
Big-boss of industries…..”
No, I am nothing as such.

I am a mere MAAJHI*, a Maajhi

I am not any intellect like that
Rather-
From 'five' points,
one can describe of
 
-papery article,sub-article
and to his each criminal transactions,
can prove constitutional.
 

I am just a MAAJHI, a mere fisherman…….
I know-
how the fishy justice is?
Obviously I am not a clever being.
But can catch clever fishes.
Well, I’m innocent
I’m decent…
limpid like water
Clear like mirror
I’m a Maajhi, a Maajhi
……..a tribe of this simsaar*.

This quay is my dream port…
as my facial shine,the cyclone blowing away
getting uglier...like that.
This river side- is my geography,
flowing mercilessly like my age
like that,being wastage...
this river- is my country.

The tides:higher & higher than mountains,
are my desires
which rise ,fall and flow.
Annually kissed by flood,
As the attenuating string of fiddle...
 
this bank- is my life.

I'm a Maajhi, a Maajhi
Aqua is my existence.
To how many colombus
 
might have I shifted them across…
In condolence of how many titanics
 
might have I cried…
Might have I hindered,
how many disasters against life…
Might have I beared the grief
 
about the water in the sea.

I know about-
The blood flown in the river
more than water,
The moon hunted by the night
inside the water,
The sun risen from
Deep.....
Deep.....
Deep.....
River’s pit.
The peace of the ocean
 
robbed by pirates...
And the boat of my belief
sinked in the river.

I'm a Maajhi, a Maajhi.
I’m a man born on water.
I know,
how to cross the obstacle.....?
how to show art over water.....?
how to prepare a new boat,
from the sediments that flood imports?
From which depth of water,
should I extract the fire……?


Note :

1. Maajhi- One of the tribal caste in Nepalese society based on the occupation of fishery. MAAJHI resides at the riverside of Eastern Nepal.
2. Simsaar- Quag-an area of soft wet land,a marshy land.

Trans : Pratima Pathak

Apr 13, 2011

फेरी माटो निम्ती

 

यो देशलाई माया गर्नेहरु उठ
फेरी माटो निम्ती मर्नेहरु उठ


प्रभातको लाली उदायो क्षितिजमा
बिहानीको रङ्ग भर्नेहरू उठ


सहादत छ जीवन भन्थेउ तिमीपनि
सिमानामा रातो कोर्नेहरु उठ


हिमाल पहाड तराई हुन्न कै पराई
चेतनाको ज्योति छर्नेहरु उठ


उर्लिदोछ त्यहाँ भेल दमनको
हात जोडी सागर तर्नेहरु उठ


जलाउनै छ बाँकी भण्डार अराजकको
ज्वाला बनी अघि सर्नेहरु उठ

Apr 7, 2011

नयाँ-नयाँ फाँटहरु


मंजु मार्मिका

नयाँ-नयाँ फाँटहरुमा अघि बढ्दैछौँ
नयाँ-नयाँ उकालीमा माथि चढ्दैछौँ
नयाँ बिहान भित्राउन

तिम्रो अभिभारा यो मेरो अभिभारा हो
नविनताको खोजी गर्ने अभिरुचि हाम्रो हो
नयाँनयाँ दिशाहरु खोज्दै
नयाँ-नयाँ फाँटहरुमा अघि बढ्दैछौँ
नयाँ बिहान भित्राउन

पत्थरको कथा छ, मलमलको पनि यही
समानता ल्याउनु छ समतल बनाई यो भूमि
नयाँ तुलो लिएर जोख्दै
नयाँ-नयाँ उकालीमा माथि चढ्दैछौँ
नयाँ बिहान भित्राउन

Apr 3, 2011

अक्षरसँग तेस्रो शृङ्खला सम्पन्न

source: www.alagabhiyan.blogspot.com
मितीः                       ०६७-१२-१९
स्थानः                      रातोघर रविभवन काठमाडौं
समयः                           दिउँसो २:३० बजे
समीक्षक:                   भूपाल राई
सहभागी कविहरुः          ईश्वरी कार्की 'वर्षा', मनिषा गौचन, मनोरमा
                                 सुनुवार, रीता खत्री, रेनुका भट्ट, सरिता सापकोटा
अतिथि कविहरुः          निभा शाह, सुलोचना मानन्धर
साचालनः                   तारा थुलुङ 'अथाह'

Apr 2, 2011

बज्यै

 नदीश

ती, आकाश हेरेर
आँशुलाई मोती भन्नेहरु
आफैले नबुझ्ने के-के जिनीस लेखिबस्दारैछन्
आँशु मोती भैदिए
तिमी पनि डाँको छोडेर रुन्थ्यौ होली बज्यै
र यसरी आँशु पिउनुको साटो
माथ्लाघरे मुख्याबाको भन्दा'नि ठूलो कौशीमा बसेर
पिउँथ्यौ होली
एक बटुको गोरस

निश्चित छ यो बर्ष पनि
पोहोर सालभन्दा दुगुना भारी बोकेर
झिसमिसेमै उकालो लाग्नेछन् नातिनीहरु
र शहरमा
निजी स्कूलहरु थपिनेछन्

निश्चित छ यसपाली पनि
शहर छिर्नेछन् केही भूराहरु
र बर्षदिनमा एकचोटी
टुप्लुक्क झुल्किनेछन् गाउँमा
आफ्नै दावँलीलाई
कुनै अजीव लोकको
अनौठो जीवलाई हेरेजस्तै गरी
टाढाबाट एकोहोरो हेर्नेछन् नातीहरु

गत साल
कुन्नि के जातिको सङ्गठनले हो
तिम्रै खड्कुराका दाउरा झिकेर
लगाइदिएथ्यो दौरा-सुरुवाल
सिउरिदिएथ्यो ढाकाटोपी
र घुमाएथ्यो सिङ्गो गाउँ
यो देखेर कम्ता रिसाकाथेनन्
माथ्लाघरे मुख्याबा
कस्तरी खनाका'थे उन'रुले
एक जर्किन मट्टीतेल
र दन्किएथ्यो आगो
सिङ्गो गाउँ उज्यालिनेगरी
मुटु चसक्क पारेर
तिमी भने एक तमासले सोचिरहन्थ्यौ
यत्तिका मट्टीतेल तिमीसँग भैदिए
कत्ति महिना टुकी बाल्थ्यौ होली
कत्ति महिना सहजै आगो सल्काउँथ्यौ होली

उता
रेष्टुरेन्टमा झुण्ड्याइएका
गाउँका तस्वीरहरु हेर्दै
सुन्दर गाउँले जीवनको कल्पना गर्नेहरु
शहरलाई अघाउँजी गाली गर्दारैछन्
उता शहरमा छापिने किताबले यसै भन्छ बज्यै
'पसिना रोपे अमृत फल्छ'
यो तीनबीसे जिन्दगीमा
पसिना भन्दा अर्थोक के नै रोप्यौ र तिम्ले
जीवन सेतै फुलिसक्दा
दुई जोर बन्धक आँखाहरु
जो फर्कलान्-नफर्कलान् ठेगान छैन
बस्
तिमीले पाएको यत्ति न हो ।

जिन्दगी, दुई दिनको भैदिए बज्यै
भोकै पनि कटाइदिन्थ्यौ होली
हाँसेरै बिताइदिन्थ्यौ होली ।

Apr 1, 2011

बैठक २०६७-१२-१२ ले गरेका निर्णयहरु

१। अगामी बैशाख महिनाभित्र शब्दशिखा पुस्तकाकार पहिलो अङ्क प्रकाशित गर्ने ।
२। सलामबिहानी डटकमको नयाँ डिजाइन अपलोड गर्ने ।
३। सम्पूर्ण विशेष अभियानताहरुले विचार निर्माणको लागि मूल्याङ्कन मासिक नियमित पढ्ने ।
४। अलग अभियान ब्लगमा कडाइका साथ रुटिन अनुसार सिर्जना प्रकाशन गर्ने र प्रकाशित सिर्जनाहरुमाथि विशेष अभियानताहरुले गम्भीरताका साथ अनिवार्य रुपमा नियमित टिप्पणी गर्ने ।
५। अक्षरसँग तेस्रो शृङ्खलामा युवा महिला कविहरुलाई सहभागि गराउने ।

Mar 30, 2011

विशेष दिनहरु

एस.के किरण



       अब मैले तयारी गर्नै पर्छ भोलि नै को पो कार्यक्रम ! अर्थात एउटा विकासे मान्छे कहाँ कति विकास गर्ने कहाँ कति पैसा बाड्ने कहाँका मान्छेलाई दुई चार दिन मिठो मसिनो खुवाई गर्जो टारिदिने त्यसको निर्णय गर्नेवाला भोलि उसको विशेष दिन तर आजको विशेष दिनको कार्यक्रमले उसलाई गलाइसकेको रसको स्वाद सिद्धिइसकेको अघि नै हो तर पेटमा गएर उपस्थिति जनाउन थालिसकेको तर जसरी भए पनि उसलाई भोलिको लागि तयारी गर्नुपर्ने थियो

     ऊ विगतमा जान खोज्छ गाडीबाट सयर गरेका ठाउँहरु (भित्री कुरो : उसलाई ती गाउँमा जादाँ कतिखेर आफ्नो .सी. वाला गाडीमा जाउँ जस्तो लागेको थियो) भोलिको चाराहरु महिलाहरु सम्झिन पुग्छ त्यतिखेर पनि केहि सय रुपैया थापेको थियो बल्छीमा बर्ढान सफा गर्न लगाएर जुन बल्छीमा पछि लाखौ रुपैँया परेको थियो त्यहको समस्या उठान गर्न थाल्दा महिलाहरु बाहिर निस्कन नपाउने नचिनेका मान्छेसँग बोल्न नपाउने सफा नभएको जहाँतहिँ फोहोर, प्रसवकालमा मृत्युवरण, इत्यादि इत्यादि
        लेख्दा-लेख्दा एउटा सानो तिनो प्रतिवेदन तयार भएछ फलाना गाँउको तत्कालिन स्थलगत रिर्पोट … .. रसले आफ्नो प्रभुत्व देखायो आफु बिजयी हुनु आवश्यक पनि थिएन उसलाई, रसलाई बिजयी गरायो
     आज उसको दिन शानदार भयो अहिले उसलाई बल्छी थाप्नु पनि परेन पहिलेको बल्छीले नै काम गरेको थियो तर पनि लाखौं उसको हातमा आउनेछ अबका केहि दिनमा
धत्तेरीकाभोलि पनि विशेष हो भोलि पनि बल्छी थाप्नु युवालाई लिएर कस्तो बिसे्रको हे रस आज पनि पछि प्रभाव देखा है ………

Mar 27, 2011

समाज विहीन

प्रतिमा पाठक

समाज विहीन घरमा उभिएछ काठमाडौं
विश्वासहीन डरमा भासिएछ काठमाडौं

घरै-घरको चिहान खन्दै छन् हातहरु
लुटिएका रहरमा बाँधिएछ काठमाडौं

सूर्यमुखी, सूर्य खोज्छे काठमाडौं सहरमा
अन्धकारको प्रहरमा पोतिएछ काठमाडौं

मान्छेहरुको छातीभित्र निरासाले परेड खेल्छ
अभावको लहरमा दौडिएछ काठमाडौं

देशभरिकै समस्या पारि तार्न खोज्दै
अस्तव्यस्त नहरमा पौडिएछ काठमाडौं

Mar 23, 2011

यही त दासता हो

विशद

न फुल्छ गौरव छाती
न उठ्छ शिर माथि
यही त दासता हो

बोक्छौ तिमी आकाश
र बोक्छौ नयाँ मालिक
पुज्छौ यो धर्ती
र माटो चोर्ने शालिक
न बाँच्नु न मर्नु
यही त दासता हो

खै उठेको मुठ्ठी
खै उठेको लाठी
देश नै बिलाइसक्यो
खै जलेको छाती
चुपचाप पखिरहन्छौ
यही त दासता हो

Mar 22, 2011

तिम्रो भगवान

नाकिमा 

खुब रिसाएको छ रे मसँग
तिम्रो भगवान

'ढुङ्गा कसले टाढा मिल्काउने है ?'
बच्चा छदा खुब खेलियो यस्तो खेल
गट्टा पनि त थोरै खेलेको होइन
बाउले मुतिन्जेल कनसिरी तानेको
अहिले जस्तो लाग्छ

मूलबाटो हिँड्दा
कत्ति हानियो ढुङ्गालाई लात्ती

रुखमाथिको आँप झार्न पनि उही ढुङ्गा
बाँसघारीको चरा मार्न पनि त्यही ढुङ्गा
ट्वाइलेट नभएको ठाउँमा
ट्वाइलेट पेपरको सट्टा पनि ढुङ्गा !

रिसाउँछ
जरुर रिसाउँछ
ढुङ्गा उर्फ तिम्रो भगवान ।

Mar 15, 2011

जल्लाद लेखिदियो

 कपिल अन्जान

नियतीले निधारमा जल्लाद लेखिदियो
यस्तो लाग्छ उपहारमा जल्लाद लेखिदियो

बा आमाले के-के बनाउने सोचेका थे
किन त्यती हतारमा जल्लाद लेखिदियो

आकाश र धर्तीको दुरी नाप्न सक्दिन
मलाई मात्र संसारमा जल्लाद लेखिदियो

न जिन्दगी बदल्न सक्छु न न्याय पाउन सक्छु
कसैले हिजो अखबारमा जल्लाद लेखिदियो

पहिचान बनाउन अब बर्षौ लाग्नेछ
जोडेर गजलकारमा जल्लाद लेखिदियो

Mar 8, 2011

ए होइ बोल्छ पिरती

मुना निश्चल

यो ठाउँको डाँडाकाडा भाज्याङ चौतारी
चौबन्दीको तुनाले ए होइ बोल्छ पिरती

गुन्जिन्छ यो वनपाखा कोइलीको भाका

हरियाली मनोरम छ मझुवाको पाखा
डोको-नाम्लो दाउरा-घाँस रोधी-जुहारी
चौबन्दीको तुनाले ए होइ बोल्छ पिरती

उकाली र ओराली झरना खोला बगर

झरनाजस्तै नदीजस्तै सङ्लै छ रहर
मेलापात खेतबारी नागी देउराली
चौबन्दीको तुनाले ए होइ बोल्छ पिरती

Mar 6, 2011

भूत

विशद

 

मार्टिनकी आमा नातीलाई सँगै च्यापेर सिकागो शहरको सडकमा ओर्लिइन् । उनीसँगै सडकमा ओर्लेका हजारौ अमेरिकीहरु प्रेसिडेण्ट चुनावको नतिजा सुन्न निकै व्यग्र थिए । सडकको ठूलो टिभीस्क्रिनमा नतिजा देखाइनुअघि सबैको धड्कन एकदमले रोकियो ।

धेरैले सोचेजस्तै मिस्टर ओबामाले बाजी मारे । मार्टिनकी आमा आँखामा रसाएको आशु पुछ्दै नातीसँगै जोडजोडले उफ्रिइन, ताली बजाइन्, लगभग नाँचीन्। त्यो भीडको मन्चमा सुन्दर श्रीमती र छोरीको साथमा अमेरिकाका पहिला काला प्रेसिडेण्ट मिस्टर ओबामा आइपुगे । मान्छेहरुले यो रोमान्चक माहोलको पुरापुर आनन्द लिए । जब ओबामाले इराकबाट एक वर्षमै सेना फिर्ता बोलाइन्छ भनेर भाषण गरे गड्गडाहट तालीले सिँगो आकाश थर्कीयो । त्यो गड्गडाहटमा मार्टिनकी आमाको ताली सबैभन्दा चर्को सुनिन्थ्यो । अब उनलाई पक्का विश्वास भयो उनको सैनिक छोरो जो धेरै डलर बटुल्ने सपना लिएर इराकमा खटिएको थियो अब ठिकठाक घर फर्कनेछ । उनलाई विश्वास यो कारणले पनि थियो किनकी यो पालीको प्रेसिडेण्ट उनकै काला जातिमध्यको एक थियो ।

मार्टिनको बुवा पनि सेनामै थिए । केहि वर्षअघिसम्म उनी अफगानिस्तान युद्धमा खटिएका थिए । एकदिन अचानक जागीर छोडेर उनी घर फर्किए । मार्टिनकी आमाले धेरैपल्ट कारण सोधेपछि उनले भनेथे "यहाँ गोराले हामी कालामाथी हेप्यो भनेर उठ्ने हातले अब साम्राज्य बढाउने नाउमा निर्दोष अफगानीको हत्या गर्न सक्दैन ।" घर फर्किएको भोलीपल्टबाटै धेरै मिडियाले उनलाई गद्दारको उपमा दिन थाले र अन्ततः त्यहि कारणले उनले आफ्नो मानसिक सन्तुलन गुमाए । आफ्नो अन्तिम घडिमा मार्टिनको बुवा "भूत ! भूत !" भन्दै कराउदै मरे । त्यसपछिदेखि नै इराकमा रहेको आफ्नो छोरोको चिन्ताले मार्टिनकी आमालाई पिरोल्न सुरु गर्यो ।

ओबामा प्रेसिडेण्ट चुनिएको एक दुई तीन वर्ष बित्यो । इराकमा हजारौं मान्छे मारिएको समाचारले मार्टिनको घर झन्-झन् त्राशमय हुन थाल्यो । मार्टिनकी आमाले दिनहुँजसो आशा लाग्दो आँखाले फ्रेममा सजिएको ओबामाको तस्विर हेर्न थालिन् ।

सन् २०११ को नोभेम्बरको एउटा चिसो साँझमा टिभीले फुक्यो उनको छोरो पनि अब कहिल्यै फर्कन नसक्ने भएर यो संसारबाट विलाएको खबर । उनी एकदमै ढुँगाजस्तै भइन् विल्कुल गतिविहिन । फेरि अचानक उठिन् उनी र बिस्तारै बढिन् कालो प्रेसिडेण्टको तस्विरतिर । उनले त्यो फ्रेमलाई जोडले भुइँमा पछारिन् । फ्रेमको सिसा ठूलो आवाज आउने यरी फुट्यो । त्यसपछि उनले फुटेको फ्रेमबाट ओबामाको तस्विर निकालिन् । फोटो च्यातचुत पारिन् । नातितिर फर्किएर उनले सानो स्वरमा बोलिन् "बाबु ! त्यो ह्वाइटहाउसमा जो आएपनि अन्त्यमा भूत बन्छ भूत मान्छे मार्ने भूत ! त्यहाँ कहिल्यै नजानु है ।" बुढी फेरि पागलझै हाँस्न थालीन् ।

Mar 5, 2011

अक्षरसँग : दोस्रो शृङ्खला

source: www.alagabhiyan.blogspot.com
मितीः                    ०६७-११-२१
स्थान/समयः           रातोघर, रविभवन/२:३० बजे
समीक्षक:                पुरुषोत्तम सुवेदी
अतिथी कविः           विमल निभा, लक्ष्मी माली
सहभागी कविहरुः      अर्जुन खालिङ, चन्द्रवीर तुम्बापो, तिलक चाम्लिङ, 
                             ध्रुवसत्य, फुलमान बल, राबत, संगीतस्रोता
संचालन :                नदीश 

Mar 3, 2011

आँधीको आख्यान


स्व. स्वप्निल स्मृति

सर्वप्रथम त
कालो निलो क्षितिजबाट
विजुलीको चम्किलो हस्ताक्षर आइपुग्यो
र प्रत्येकको निधारमा लेखिदियो क्रान्ति
त्यसपछि चट्याङग्रस्त पहाडबाट
गल्र्याम्म ! रुखहरु ढलेको आवाज आइपुग्यो
क्रमशः बतासमा तैरिँदै
शिरीषको फूल र पतझडको पतिङ्गर आइपुग्यो
फूलको सुगन्ध आइपुग्यो
अन्ततः हजार वर्षको सन्नाटा सोहोर्दै
सहरमा आँधी आइपुग्यो ।

जब आँधी आइपुग्यो सहरमा
हजार वर्षसम्म सन्नाटा पुजेर बस्नेहरुको
घर-घरमा छिर् यो
भोकमरीमय भान्साकोठाका थाल बटुका राखनधारन
ईश्वरविहीन पूजाकोठाका सर्पदेवताका थान पूजाका थाली
ऐसआरामसून्य सिटिङ रुमका ऐना फूलदानी महाराजको तस्विर
सप्पैसप्पै ल्याङफ्याङ फाल्दियो र
घोर अशान्ति मच्चाइदियो ।

जब आँधी आइपुग्यो
हजार वर्षसम्म एउटै कुरा सत्य मान्ने बुद्धिजीवीहरुको पुस्ताकालयमा पस्यो
पल्टाउँदै फररर…धर्म इतिहास र संविधानका पुस्तक
यति छिटो पढ्यो कि के बुझ्यो कुन्नि
गड्यागुडुम लडायो-
किताबले भरिएका दराज-टेबल
उनीहरुको सत्य त्यही थिचिएर मर् यो ।

सहरमा आँधी आइपुग्दा
जुम्रा मारिरहेको थियो न्यायपालिका
सरकार शान्तिको गीत गाइरहेको थियो
राष्ट्र निर्माताको जन्मोत्सवमा
सहरवासी मैनवत्ति जलाइरहेका थिए
भुस्याहा कुकुरहरु
आलस्यमा लडिरहेका थिए यत्रतत्र
राष्ट्रप्रमुख आफ्नो जन्मदिनको उपलक्ष्यमा
मुलुकवासीलाई बडो प्रेमले सम्बोधन गरिरहेको थियो ।

जब आँधी आइपुग्यो सहरमा
आँधीको पदचापले गर्जियो आकाश धर्ती
पानीको छिटाले हिर्काउन थाल्यो मानिसको अनुहार
हावाको गतिले धकेल्न थाल्यो मानिसको चेतना
मन्दिरका गजुर विजुलीका पोल
चोकचोकमा टाँगिएका प्रजातन्त्रका होर्डिङ बोर्ड
चौबाटोबीच उभिएको बादशाहको शालिक
दरबारको वार्दलीमा सुकाइएका बादशाहका लुगाफाटा
बादशाहले सडकमा बिछ्याएको सुशासनको विस्कुन
सप्पैसप्पै उडाइदियो आँधीले
कि ती फगत् कसिङ्गर थियो ।

जब आँधी आइपुग्यो सहरमा
शोकमा सधैँ झोक्राइरहेजस्तो राष्ट्रिय झण्डा
जोडजोडले फर्पुराउन थाल्यो ।

Feb 28, 2011

तिमी

दृश्य


तिमी पागल भएकी छौ
अहँ म मान्दिन
किनकि
म तिम्रै भरमा बाँचिरहेको छु

तिमी घायल भएकी छौ
अहँ म मान्दिन
किनकि
म तिम्रै पिडामा हाँसिरहेको छु

तिमी कुरुप भएकी छौ
अहँ म मान्दिन
किनकि
म तिम्रै सुन्दरतामा अल्झिरहेको छु

तिमी बलात्कृत भएकी छौ
अहँ म मान्दिन
किनकि
म तिम्रै निम्ती यौवन जोगाइरहेको छु

तिमी पागल भएकी छौ
तिमी घायल भएकी छौ
तिमी कुरुप भएकी छौ
तिमी बलात्कृत भएकी छौ
तिमी
तिमी, ए राष्ट्रियता !
सर्वाङ्ग नाङ्गो भएकी छ्यौ ।

Feb 24, 2011

के हुँदैछ अचेल

-  नदीश
के हुँदैछ अचेल दरबारभित्र ?
गाइँगुइँ छ प्रत्येक घरबारभित्र

कमिशन छाप्छ अन्धो सम्पादक
जलिरहेछन् नागरिक अखबारभित्र

देश लुट्न त्यति कहाँ सजिलो छ ?
आफ्नो मान्छे छैन सरकारभित्र

छ दिन साताको कामचलाउ जिन्दगी
के-के गरी भ्याउनु आइतबारभित्र ?

कुमारजी आज्ञा गर्नुहुन्छ-हे युवराज
आफ्नै सम्झिबक्स्योस् बालुवाटारभित्र

Feb 21, 2011

म कथाको पात्र

विपल बोयुङ

जीवन नै त कथा, म कथाको पात्र
बनाउँछ जो कथाले म त त्यति मात्र

हो कथाले भने जस्तै तिरै-तिर हिँड्छु
तिर्खाएको बगरलाई पसिनाले छिट्छु
यात्रा नै त कथा, म कथाको पात्र
बनाउँछ जो कथाले म त त्यति मात्र

कतै छायाँ जिन्दगानी अनि कतै घाम
उनै मेरी आमाले नै लेखेकी यो नाम
जीवन नै त कथा, म कथाको पात्र
बनाउँछ जो कथाले म त त्यति मात्र

Feb 20, 2011

धनियाँको अचार

अस्मिता मानन्धर

ऊ जानुअघि 
हरिया धनियाँहरू पिनेर
खुवाएथेँ ।

हरिया धनियाँहरूसंगै 
धेरै माया मीठो पसिना 
र सुनौँलो भविष्यको कल्पना
पिनेर
उसैलाई खुवाएथेँ ।

ऊ गैसकेपछि
मेरा बारीमा धेरै धनियाँहरू छरिएर उम्रिए
म प्रत्येक धनियाँका बोटहरूलाई
अगाध मायाले
सिँचिरहेछु प्रत्येक दिन
तर, प्रत्येकपटक
छिप्पिदै-वैलाउदै छन् 
मेरा बारीका धनियाँहरू ।

सम्भवतः ऊ गैसकेपछि
उतैको धनियाँले तानेजस्तो छ 
उतैको मिश्रण मन परेजस्तो छ
मेरा बारीका धनियाँहरूजस्तै
म पनि सायद 
कहिल्यै याद आइन ।

अहिले
त्यहीँ धनियाँहरुसंगै
चाउरिएका छाला, तीता आँसु
र विक्षिप्त सम्झना मात्र होइन
आफ्नो जिन्दगी नै पिनेर
अचार बनाइरहेछु ।