May 6, 2011

वानरप्रदेश

 विशद

म वानरप्रदेश
चेप्टिता-चेप्टिदै
यति चेप्टिसके कि
अब म सक्छु
सियोको प्वालबाट पनि छिर्न
अनि जन्माउन सक्छु म आफैभित्र
एउटा सुक्ष्म ब्रम्हाण्ड ।

यहि हलोले खोतल्छु म अब
मेरो भूमीको 'बुरान*' कथा
यहि फरुवा लिई खोज्छु म अब
आलीमा खुम्चिएको मेरो ज्यथा
राप्तिसँगै बगेको समय
समयसँगै बगेको राप्ति
अब मोड्छु म मेरै छातितिर
र पुरै बगाउछु
यो छातिभित्रको दासता ।

अब फुल्छन् आँप-अम्बाहरु
र म उफ्रिन्छु लामो उफ्राइ
हाँगाबाट-हाँगासम्म
अब झुल्छन् धान-मकैहरु
र म दौडिन्छु लामो दौड
खेतदेखि-खेतसम्म
सगर्व घुमाएर मेरो आदिम पुच्छर
म हिड्छु अब
सभ्यताको नयाँ विन्दुबाट ।

के तिमीमा छ यो शिल्प ?

ल सुन
मेरै छाती थिची बसेका
तिमी बिरानो शहर !
मेरै मुटु चिरी बगेका
तिमी बिरानो सडक !
तिमीले ठड्याइदिएको
यो ओढार च्यातेर
अब उदाउछु- म वानरप्रदेश
र जन्माउछु आफैभित्र
एउटा सुक्ष्म ब्रम्हाण्ड
एउटा स्वायत्त ब्रम्हाण्ड ।

बुरान* : आफ्नो भूमी छलपूर्वक हत्याइएपछि थारुहरुले गरेको बसाइँसराइँ ।

2 comments:

  1. This comment has been removed by the author.

    ReplyDelete
  2. एउटा उच्चस्तरको कविता ! (विशदका कविताहरु पढ्दा एक प्रकारले पीडा हुन्छ मलाई । बारम्बार बुझ्न मिहिनेत गर्छु तर पूरै बुझ्न असफल हुन्छु । कवितालाई सम्प्रेषणीय बनाउने विषयमा सोच्ने हो कि कविजी ?)

    ReplyDelete