Aug 29, 2015



We have moved to new site ! 

Visit us @ www.alagabhiyan.com 


Apr 9, 2015

नयाँ वर्ष














सुन्दर अल्पभाषी

जन्डिसले खाएको
पहेँलो घाम
तिनजुरे देउरालीमा
आत्महत्या गरेपछि
कति खुशी गुम्यो होला
कति दु:ख लुक्यो होला
कति हर्ष मौलायो होला
त्यो अन्धकारमा
उभार विहीन
हर्ष न विस्मातको 

फालेलुङले जून जन्माएपछि
अलैँचीको पातमा
आँशुको मोती नओवाउँदै
आएको छ नयाँ दिन
मुस्कुराउँदै

उही चोकमा
फेरिएको छ नयाँ क्यालेन्डर
पुरानै योजनामा 
फेरिएको छ आवरण

समीक्षा गर्नुछ अब
बुद्धु बन्नुको रहस्य
आउने हरेक शिशिर र वसन्तमा
पहिचान गर्नुछ  तिलष्मी रूप
नाप्नु छ तिम्रो उचाई
चाँपको फूलबाट 

Apr 7, 2015

आप्पा











प्रणेश पाखरिन


आप्पाको निधारको नुनिलो पसिना
मेरो निम्ति पोष्टिक्ता आहार हो
उनको त्यो जर्जर छाती
मलाई जीवन यात्रा हिँड्न सिकाउने
फराकिलो बोटो हो

अक्षर नजान्ने मेरो आप्पा
जीवनका अनुभूतिहरूले
सुन्दर कविता लेख्छन्
सङ्गीतको कुनै राग नजान्ने मेरो आप्पा
आफ्नु बहुबलले
गैरीखेतमा हरियो सङ्गीत रच्छन्
मेरो यो सुन्दर जीवन
उनैको देन हो

आफ्नु कपालझैँ कोठेबारीमा
लह- लह साग सब्जी उमार्छन्
अनि मलाई अक्षरहरू किनिदिन्छन्
आफ्नु रहरहरूको बध गरी
मेरा हरेक आवश्यक्ताहरू पुरा गरिदिन्छन्
मेरा कमजोर पाइलाहरू लड़्खड़ाएर
जब म लड्न खोज्छु
उनको त्यो भरोसायोग्य हातले
मलाई समाई डोर्याउँछन्
म बोटो बिराई
अलमलिएर हराउन खोज्दा
उनको पौरूष स्वरले
मलाई आहाट दिन्छन्

उनको चर्चती फुटेका पाईतलाहरूले
म हिँड्ने बोटोहरू सम्म पार्छन्

आप्पा आफ्नो अभिमान
कहिल्यै व्यपार गर्दैनन्
र नै त
म उन्मुक्त छु
म स्वतन्त्र छु।

Apr 6, 2015

समय आघात














दीपा राई पुन

यो प्रवासमा
विकासका बाटाहरुले 
क्षितिज छोएको देख्दा 
आफ्नै देश 
यतै कतै टिल्पिलाएको देख्छु 
लाग्छ
यत्ति व्यवस्थित किन
गोरेटो मात्र पुगे हुन्थ्यो मेरो गाउँ 
चिटिक्क सुन्दर घरहरु 
लस्करै देख्दा 
गाउँ बेसी पाखामा 
भिरालो भित्ता 
,
तुइन चड्दै पुग्ने 
कतै खोला तर्दै जाने 
मेरो ओतमा 
घाम पानी नछिरे हुन्थ्यो

विद्युतीय रेलले 
दुरी नाप्दा 
पहाड चढ्दै 
सुरुङ् खन्छु मनले 
मेरो भरिया दाइले 
पसिना चुहाउँदै 
पिँडौलामा गिर्खा 
उमार्न नपरे हुन्थ्यो

समयको काँटासँगै 
बस स्टेसनमा बस उभिँदा 
मान्छेले समयलाई ख्याल गर्दै 
आफ्नो गन्तव्यमा एक सेकेन्ड ढिलो नगर्दा 
मेरो रानीपोखरीको घण्टाघर 
स्थापनाकालदेखि रोएको देख्छु

मेरो विश्वविद्यालय
वर्षौँ देखि विक्षिप्त  
कहिले चुट्टिएर 
कहिले जलेर 
घाउको टाटासँग 
कसरी सपना आघात भएको 
लामो लिखितम देख्छु

समय हारेको देख्छु 
ज्ञान रोएको देख्छु 
मान्छे भित्रको अभिमान मात्र 
दनदनी बलेर रापमा 
आफू पनि होमिदै 
देशलाई तानेको देख्छु 
देशलाई घचेटेको देख्छु  

Apr 4, 2015

देश–प्रेम














चन्द्र गुरुङ


मेरो आकाशबाट घाम–जून टिपेर एक टुक्रा कपडामा जडिदियो । मेरो रगत छ्याप्यो मेरो पसिनाले धोयो त्यसलाई र, भन्यो– तिम्रो राष्ट्रिय झण्डा । लेकबेसी गर्दा मैले सुसेल्ने आत्मीय सुसेलीले त्यो गीतमा धुन भर्यो त्यो गीतमा प्राण हाल्यो मिलायो लय–भाका अनि सम्झायो– तिम्रो राष्ट्रगान । मेरो मुटुको एक टुक्रा हाल्यो मेरै धड्कनले प्राण दियो मेरै सासले सुगन्ध थप्यो अनि भन्यो– तिम्रो राष्ट्रिय फूल । मेरो आस्था मेरो विश्वासलाई पोको पार्दै एउटा मूर्तिको अगाडि राखेर भन्यो– तिम्रो राष्ट्रिय देवता तिम्रो राष्ट्रिय धर्म । मेरो घरआँगनतिर सपनाहरू बाँड्दै हिँड्ने एक हूल मानिस देखाउँदै, भन्यो– तिम्रो सरकार । मेरा सारा आशा मेरा सपनाहरू लिपिबद्ध गरेर, भन्यो– तिम्रो संविधान । र, भन्यो मनको भित्तामा मानचित्रमा एक भाग भूगोल देखाउँदै– तिम्रो देश । म चाहिँ सिमानामा उभिएर– भोको पेट नाङ्गो अङ्ग खाली हात–खुट्टा चुम्दै छु एक मुठ्ठी माटो ।

Apr 3, 2015

बिरे











अविनाश भट्टराई

मलाई चिन्नु भयो हजुर?
उही क्या त,  बिरे 

पोहोर आउनु भाथ्यो'नि हाम्रो गाउँ
चुनाउको बेला
खेत देखाएको थिएँ बाढीले बगाएको 
छाप्रो चैँ पहिरोले पुर्यो भनेको थिएँ
जहान गुमाएँ मैले त्यही पहिरोमा
भनेको थिएँ-
दिन काटेको छु हेरेर रित्तो बगर 
रात काटेको छु ओढेर प्लाष्टिकको छानो    
"पछि शहरमा भेट्नु, व्यवस्था गरिदिउँला"
भन्नु भएको थियो नि
हो, त्यही बिरे हुँ हजुर
त्यही बिरे हुँ
काम -भारी बोक्ने

अझै चिन्नु भएन
चुनाउ जितेपछि तपाईले
मेरै रगत लाउनु भएको थियो नि निधारभरी
हरेक साँझबिहान
चौलिनुहुन्छ चामल मेरै पसिनाले 
बिरामी हुँदा तपाईं
पानी होइन मेरै पसिना चढाएका थिए डाक्टरले
तपाईंले पिउने 'रेड लेवेल' कि के रक्सी नि
मिसिएको त्यहाँ मेरै एकमुठी रगत    
तपाईंको मोटो सुनको सिक्रीमा
टाँसिएको मेरै पहेँलो छाला
हेर्नुस् मेरो पिठ्यू !  
भारी बोक्दा बोक्दा
तपाईं चढ्ने मोटरको पांग्राजस्तो
यी हेर्नुस् थाप्लो !
नाम्लो लाउँदा लाउँदा एक इन्चि तल धसेको
अब तपाईंले नचिने
मलाई मोदीले चिन्छन् ?

यो पटक तपाईंसँग
चामल छानो माग्न आएको हुइन

' यो देशको के हुँ ?' जवाफ खोज्न आएको हुँ        

Mar 31, 2015

प्रधानमन्त्रीजी ! म डाक्टर गोविन्द…



अनिल किराती

म को हुँ ?
यसको त्यति महत्व छैन
मान्दा हुन्छ
म लक्ष्मीप्रसादको 'पागल'
म विजय मल्लको  'बहुलाकाजी'
म वैरागी काँइलाको 'मातेको मान्छे' र यस्तै यस्तै
खासमा,
प्रधानमन्त्रीजी म एउटा सामान्य डाक्टर हुँ
तपाईँ को हो ?
तर असिमित छ यसको महत्व
तपाई प्रधानमन्त्री
केन्द्रिकृत शक्ति
तपाईँ अन्तिम हस्ताक्षर
तपाईँ उतरपुस्तिका
तपाईँ बृहत शब्दकोश
म देख्दैछु तर
तपाईँ भूपिको 'क्यारेम्बोर्डको गोटी'
मेसीको खुट्टाको बल
तपाईँ 'धुम-थ्री'को सर्कसको घोडा र यस्तै यस्तै

प्रधानमन्त्रीजी बरु बन्नुहोस् क्रुर
लुई चौधौं झैं भन्नुहोस् म नै राज्य हुँ
र गर्नुहोस् एउटा प्रजातान्त्रिक निर्णय
जानुहोस् तपोवन
ध्यान गर्नुहोस् तीन दिन
र फाल्नुहोस् एउटा न्यायिक वक्तव्य

प्रधानमन्त्रीजी
केवल तपाईँ एउटा बिम्ब बन्दै हुनुहुन्छ
र म अर्को
खुब प्रयोग हुदैंछौ हामी अब
कविताहमा र घोषणा पत्रहरुमा
जुन हाम्रो रहर होइन र रहने पनि छैन
भन्नुहोस् प्रधानमन्त्रीजी
त्यति रहरे कहिले थियौं र हामी ?
किन बनाइदैछ हामीलाई अमूर्त विम्ब यसरी ?

प्रधानमन्त्रीजी तपाईँ यति लाचार हुदै हुनुहुन्छ कि
'बाँच डाक्टर गोविन्द
तिमी बाँच्नुपर्छ र बचाउनुपर्छ तिमीले
म पूरा गर्छु तिम्रो सपना' भन्नै सक्नुहुन्न
राजनितिज्ञ जो हुनुहुन्छ तपाईँ
र म पनि यति लाचार छु कि
'आउनुहोस् प्रधानमन्त्रीजी सँगै बसौँ अनसन
तपाईँ संविधानको लागि
म सिस्टमको लागि
बरु मरौं सँगै तर नमरोस् देश' भन्नै सक्दिन
डाक्टर जो हुँ म
बरु आफैं मर्न सक्छु
मृत्युको कामना बाँड्न सक्दिन तपाईँलाई

प्रधानमन्त्रीजी मलाई थाहा छ
तपाईँ र म चाडैँ मर्दैछौ अब
बिरामी जो छौँ
फरक यति हो कि
म आफ्नै निर्णयमा मर्दैछु
तपाई निर्णयविहिन मर्दै हुनुहुन्छ

प्रधानमन्त्रीजी आँट गर्नुहोस बोल्ने
र याद गर्नुहोस्
'म डाक्टर गोविन्द' मर्नु भनेको
तपाईले जित्नु कदापि होइन
न त तपाईँ नै बाँच्नु हो