Apr 9, 2012

मान्छेलाई समयले

उदिम किराती 

मान्छेलाई समयले कहाँबाट पुर्याउँछ थाहा हुन्न 
जीन्दगीको लयले कहाँबाट कहाँ पुर्याउँछ थाहा हुन्न 

यात्रामा सँगै हिँडेको साथी कही छोडिदो रैछ 
एउटै विजयले कहाँबाट कहाँ पुर्याउँछ थाहा हुन्न

होस गर अचेल दुनियाँ अवसरवादी छ 
यहाँ कतिपयले कहाँबाट कहाँ पुर्याउँछ थाहा हुन्न

"जीवन जिउन जान्नु पनि एउटा कला हो"
जीवनको अभिनयले कहाँबाट कहाँ पुर्याउँछ थाहा  हुन्न

Feb 20, 2012

के जिन्दगी भनेको यही हो

प्रतिमा पाठक

आकाशमा बाटो खन्दै
एकाबिहानै धर्तीसम्म आइ
मेरो चिसिएको मुटुसम्म पसेको
यो सुनौलो घामलाई सोधेँ
बिहानी हुनु भनेको यही हो ?

सधैँ सधैँ आँखा अगाडि उभिएर
मेरा हर आँशु र हाँसोको साक्षी बनेका
ती पुराना वर पीपललाई सोधेँ
के धैर्यता भनेको यही हो ?
दृढता भनेको यही हो ?

हिजो साँझ आफ्नै गुँडमा फर्केर
फेरी बिहानै
आफ्नो जम्बो टोलीसँग फिर्ता भएका
यी पंक्षीहरुलाई सोधेँ
के जिजीविषा भनेको यही हो ?
संघर्ष भनेको यही हो ?

सधैँ सधैँ एकतमासले उत्तरतिर ठडिएर
मेरा मौन प्रश्नका उत्तर दिइरहने
यी दुई पहाडसँग सोधेँ
के विश्वास भनेको यही हो ?
साथ भनेको यही हो ?

आखिर
बिहानी उज्यालो धैर्यता दृढता
संघर्ष विश्वास अनि साथ…।
कच्चापदार्थ हुन् जीवन निर्माणको
फेरि किन रित्तिएर म
अनौठो पीडाले अन्यौल हुँदै
म आफ्नै जिन्दगीसँग
मात्रै प्रश्न गर्दैछु अचेल
के जिन्दगी भनेको यही हो ?

Feb 8, 2012

कहाँसम्म जान्छौ

कपिल अन्जान

रहर हो रहर बोकेर कहाँसम्म जान्छौ
उजाड यो सहर बोकेर कहाँसम्म जान्छौ

माटो पानी र आकाश छोएर बाँच्नु पर्छ
तिमी आफ्नो घर बोकेर कहाँसम्म जान्छौ

सात समुन्द्र पारी खबर पठाउनु छ
मेरो खबर बोकेर कहाँसम्म जान्छौ

हरेक दिन हरेक रात दौडि रहन्छौ पानी
भन यो बगर बोकेर कहाँसम्म जान्छौ

तिम्रो दुश्मन तिमीभन्दा पछाडी छुटी सक्यो
एक्लै त्यो खाजर बोकेर कहाँसम्म जान्छौ
 

Jan 10, 2012

गज्जबका दिनहरु झुल्किन्छन

 मंजु मार्मिका

वसन्त आएपछि बोटहरुमा पालुवा निस्कन्छन्
नाङ्गा रुखका कङ्गालहरुमा लुगा भरिन्छन्
गज्जबका दिनहरु झुल्किन्छन आजभोलि
कसरी उम्रन्छन दिनहरु बिहानीमा
र कसरी मर्छन गोधुलीमा
हामीलाई सोध
हाम्रा आँखाहरु रोपिन्छन
बिहानीसँगै र बिझाउछन् दिनरात भरी
किनकी हामी हिड्ने बाटाभरी
सधै होली खेलिन्छ ।
घुम्ने लागेको बाख्राको शिर झै
मन त्यसै त्यसै घुम्छ
घरै अगाडि परेका खाल्टाहरु देखेर
ती कहिल्यै पुरिएनन्

वसन्त आएर जान लाग्यो
हाम्रा कङ्गालले लुगा फेर्न पाएनन्
गज्जबका दिनहरु झुल्किन्छन आजभोलि
हाम्रो मन बढेर मुटु भन्दा माथि पुग्छ
र उमाल्छ दिमागलाई
अनि सल्काउन खोज्छ आगो वरिपरि
दुःखको इन्द्रेणीमै रमाउन मज्जा लाग्छ घरिघरि
तर मुटु निरै तीता घाउहरु
आएर झक्झक्याउछन् हामीलाई
यो निदाउने समय होइन

अध्यारो रातमा लमतन्न बिच्छ्याइएको
गुन्द्री सरह पसारिन्छन् समस्याहरु दिउसै
गज्जबका दिनहरु झुल्किन्छन आजभोलि
हिरामोतीहरु फलाम बनेर पिटिन्छन आरनमा
बहुमुल्य धातु बनेर फलाम सजिन्छन
हाम्रा आँखाका नानी भने तल्लीन छन
सिर्जनाको खोजीमा
आजको दिन यसरी झुल्किन्छ
जसले कुनै अर्थ राखेन भोलिको लागि
हामी आजको दुःख पिएर आनन्दको
भोलिको सिर्जना गर्ने बाटोमा छौ
बस हामी त्यही बाटोमा छौ ।

Jan 3, 2012

अमेरिका

 

पूर्वतर्फ आतङ्ककारी देख्छ
बन्दुक पड्काउँछ
पश्चिमतर्फ आतङ्ककारी देख्छ
बन्दुक पड्काउँछ
उत्तरतर्फ आतङ्ककारी देख्छ
बन्दुक पड्काउँछ
दक्षिणतर्फ आतङ्ककारी देख्छ
बन्दुक पड्काउँछ
पुन :
चारैतिर ऐनाको पर्खाल ठड्याउँछ
र पुन :
बन्दुक पड्काउँछ ।