Jun 25, 2009

घिउको दरवार

-ध्रुवसत्य
किसानहरु मही खान्छन् -
घिउ कहाँ जान्छ
यो घिउको दरवारमा सबै कुरा छ
तर आगो रहने कुरै भएन
कत्रो भ्रम होला यो घिउको दरवारको
यसले कल्पनै गरेन
कि दुनियाँमा आगो पनि छ ।

किसानहरु मही खान्छन्-
घिउ कहाँ जान्छ
अँ त्यो घिउको दरवारको ठीक दक्षिण तर्फ
एउटा गरिबहरुको गाउँ छ
झट्ट अनुमान गर्दा यस्तो लाग्छ
ती गरिबहरुसँग जे छ गरिबी नै
छअनुमान अनुमान नै हो यथार्थ होइन
कसले अनुमान र विश्वास गर्न सक्छ
त्यो विकट वस्तीमा एक साहसी युवा जन्मेको छ ।
त्यो सुदूर गाउँको मूल घरजहाँ आगोको संग्रह गरिन्थ्यो
जब उज्यालो हुन्थ्यो
सारा गाउँबासीहरु मूल घरमा आगो लिन आउँथे
एक निशिथमा
त्यो साहसी युवाले मूल घरको आगो निभाउँछ
गाउँमा आगोको हाहाकार हुन्छ
त्यसपछि
त्यो साहसी युवाको अगुवाईमा
समस्त गाउँ-गण आगो खोज्न निस्कन्छ ।
यो को हो
जो घिउको दरवारमा आगो खोज्छ
यसले के खान खोजेको छ
दरवारिया देहम्भरहरुलाई सन्देह हुन्छ
उनिहरुले आफ्नो मालिकलाई सुचना दिन्छन्
मालिक ! एउटा यस्तो युवाले
हाम्रो घिउको दरवारको ढोका धकेल्दैछ
जसले आगो ओकल्छ ।
किसानहरु मही खान्छन्-
घिउ कहाँ जान्छ?

No comments:

Post a Comment