Nov 29, 2010

गजल सङ्ग्रह प्रकाशनबारे

source: www.alagabhiyan.blogspot.com
अहिले गजलको माहोल बढ्दो भइकनपनि यसको स्तरियता खस्कदो छ । कैयन स्थापित साहित्यकारहरु गजल साहित्यप्रति चासो व्यक्त गर्दैनन् कतिपय त यसलाई साहित्यको अङ्ग नै मान्न तयार देखिदैनन् र हमेसा 'गजल नलेख्नू' भन्ने अर्ती दिइरहन्छन् । गजलप्रति यस्तो किसिमको वितृष्ना आउनु पक्कै पनि गजलकारको निम्ति सुखद कुरा होइन तर हामी स्वयम् गजलकारहरु नै गजलसाहित्यको खस्कदो स्तरका भागिदार हौँ ।

अलग अभियानले आफ्नो स्थापनाकालदेखि नै गजल साहित्यप्रति विशेष महत्व दिँदै आएको कुरा त सम्पूर्ण अभियन्ताहरुलाई सर्वविदितै छ । गजलका पुराना मूल्यमान्यताहरुलाई तोड्दै हामीले गजल लेखनका नयाँ मान्यताहरु स्थापित गर्दै आएका छौँ । परम्परागत गजल लेखनप्रति अलग अभियान पनि विमति प्रकट गर्दछ । सुन्दर रुप र सारको संयोजनबाट नै सुन्दर रचनाको जन्म हुन्छ भन्ने मान्यतानुसार हामी हाम्रा हरेक सिर्जनाहरुलाई अगाडि बढाइरहेका छौँ । सुन्दर रुप र सारको विवेचनात्मक व्याख्या अलग अभियानका कुनै पनि अभियन्ताहरुलाई गरिरहनु नपर्ला ।

अलग अभियानले 'शेर शल्यकृया-१ र २' गरी दुईवटा वृहत गजल अन्तरकृयाहरुपनि गरिसकेको छ । यसको अलवा हरेक महिनाको अन्तिम शनिबार गजल विभागको आयोजनामा गजल अन्तरकृयात्मक कार्यक्रम पनि चल्दै आएको छ । नेपाली साहित्यमा देखिएको गजलप्रतिको वितृष्नालाई कम गर्न र गजललाई पनि एउटा शक्तिशाली साहित्यिक विधाको रुपमा स्थापित गर्न अलग अभियानले आगामी एक वर्षभित्र संयुक्त गजलसङ्ग्रह प्रकाशन गर्ने निर्णय गरेको छ । अलग अभियानभित्रका सम्पूर्ण गजलकारहरुलाई हामी संयुक्त सङ्ग्रहमा आमन्त्रण गर्दछौँ ।
आगामी गजलसङ्ग्रको निम्ति हाम्रो अभियानले गजलकार छनौटका निम्न मापदण्डहरु तैयार पारेको छ र यी मापदण्ड पूरा गर्न सक्षम गजलकारहरु आगामी गजल सङ्ग्रहमा समावेश हुनेछन् ।

१. आगामी फागुन मसान्तभित्र इच्छुक गजलकारहरुले आफ्ना नयाँ १० गजलहरु गजलविभागलाई अनिवार्य रुपमा बुझाउनुपर्नेछ ।
२. प्राप्त भएका गजलहरुको आधारमा हामीले गजलकारको छनौट प्रकृया अगाडि बढाउनेछौँ र छनौटमा परेका गजलकारहरुले जेष्ठ मसान्तभित्र नयाँ थप १० गजलहरु बुझाउनुपर्नेछ ।
३. गजलसङ्ग्रहमा प्रत्येक गजलकारका पाँच-पाँच गजल सङ्ग्रहित हुनेछन् ।
४. गजल सङ्ग्रह प्रकाशनमा लाग्ने सम्पूर्ण आर्थिक भारको आफ्नो हिस्सा सङ्ग्रहित गजलकारहरु स्वयम्ले वेहोर्नुपर्नेछ ।
माथि उल्लेखित बुँदाहरुमा कुनै पनि सम्झौता गरिने छैन । उल्लेखित कुराहरु पूरा नभएको अवस्थामा गजलकारहरु सङ्ग्रहमा समाविष्ट हुने छैनन् ।
गजल लेखनका दौरान गजलकारहरुले निम्न बुँदामा केन्द्रित रहेर गजल लेखनलाई अगाडि बढाउनुहुन अनुरोध गरिन्छ-

संरचनात्मक स्वतन्त्रता, अर्थगत अधीनता :
प्रत्येक मिसराहरु व्याकरणीय दृष्टिकोणबाट स्वतन्त्र हुनु जरुरी छ । नेपालका कैयन गजल हस्तीहरुपनि यो मान्यताबाट टाढै देखिन्छन् । एउटै वाक्यजस्ता लाग्ने शेरहरुले गजलको मान्यतालाई उल्लङ्घन गरिरहेको हुन्छ । शेरको माथिल्लो भाग 'मिसरा ए उला' एउटा स्वतन्त्र वाक्यजस्तो सुनिनुपर्छ जसले केही कुरा मागिरहेको हुन्छ र त्यसलाई शेरको तल्लो भाग 'मिसरा ए सानी'ले पूरा गरिदिनुपर्छ । संरचनात्मक दृष्टिकोणमा स्वतन्त्र वाक्यजस्तो तर अर्थगत रुपमा एक अर्काको अधीनमा हुने गजलको द्वन्द्वात्मक प्रकृतिलाई हामी संरचनात्मक स्वतन्त्रता अर्थगत अधीनता भन्छौँ ।

साङ्गीतिक चेतना, वैचारिक गहनता :
गजल मुख्यतयः ग्येय विधा हो । गजल श्रृजनाको क्रममा गजलकारभित्र साङ्गीतिक चेतना हुनु जरुरी छ । कुनैपनि पाठकले पढ्दा शेरहरु बिनाअवरोध बग्नुसक्नुपर्छ । अफ्ठ्यारा शब्दहरुको प्रयोगले गजलमा अबरोध उत्पन्न गर्छ । गजलको पहिलो शेर जुन किसिमको साङ्गीतिक कल्पनाबाट लेखिएको छ त्यसलाई सम्पूर्ण शेरहरुमा निरन्तरता दिनुसक्नुपर्छ फलतः कुनै पनि शेरहरुमा शब्दहरुको कमी या बढी महसुस नहोस् । अर्को कुरा गजलले उठान गर्ने विषयबस्तु हल्का हुनु हुँदैन । सरल शब्दमा सरल विम्व र प्रतीकको प्रयोगबाट गहन अर्थ दिन सक्नुपर्छ गजलले र यो मानेमा गजल कवितासँग मिल्दोजुल्दो हुनुपर्छ ।

उपयुक्त रदीफ र काफियाको छनौट :
काफिया मिलाउने नाममा गजलकारले आफ्नै किसिमका बिनाअर्थका शब्दहरु श्रृजना गर्नु आफ्नै गजलको हत्या गर्नु हो । प्रयोग भइरहने तथा हल्का काफियाबाटपनि गजलकार मुक्त हुनुपर्छ । नयाँ रदीफ र काफियाको प्रयोगले गजलमा मीठासता ल्याउनुको साथै गजलमा नयाँपन आउँछ ।

लेखकीय पक्षधरता :
पक्षधरता गजल छनौटको अर्को महत्वपूर्ण आधार हो । गरिखाने वर्गको पक्षमा उभिएका गजलहरु पहिलो प्राथमिकतामा पर्नेछन् । समाजमा विद्यमान जातीय, लिङ्गीय, क्षेत्रीय लगायतका अन्तरविरोधहरु छनौटका थप आधारहरु हुनेछन् ।

उल्लेखित अवधारणामा पूर्ण ध्यान दिँदै गम्भीरताका साथ गजल लेखन, परिमार्जनमा लाग्नहुन अलग अभियानमा आवद्ध सम्पूर्ण अभियनताहरुमा आह्वान गर्दछौँ ।

२०६७-०८-०१
गजल सङ्कलन-छनौट-सम्पादन समिति
अलग अभियान

Nov 27, 2010

२५ औँ शृङ्खलामा सिर्जना सागर

source: www.alagabhiyan.blogspot.com
सिर्जना सागरको २५ औँ शृङ्खला नमुना मच्छिन्द्र उ. मा. वि. (ललितपुर)को प्राङ्गणमा सम्पन्न भएको छ । सो शृङ्खलामा हरि बहादुर कर्माचार्य, स्वप्निल स्मृति, केशव सिलवाल, नाकिमा, अमोघ काफ्ले, विशद, मंजु मार्मिका, नदीश, देव अन्जान शाह, दृश्य, मुकुन्द प्रसाद दुलाल आदिले सिर्जना वाचन गरेका थिए ।

Nov 25, 2010

अलग अभियान !

करिब छ महिनाको अनौपचारिक छलफल र अन्तरकृयापछि आजभन्दा साढे चार वर्षअघि प्रभास सासङ्क(साहित्य-सङ्गीत-कला) समूह नामकरण गरी हामीले औपचारिक रुपमा हाम्रो समूहको प्रारम्भ गरेका थियौँ । हाम्रा गतिविधिहरु साहित्यमा केन्द्रित भएकोले स्थापनाको दुई वर्षपछि समूहको नामबाट सासङ्कलाई हटायौँ र प्रभास समूह मात्र लेख्न थाल्यौँ । शब्दशिखाको प्रकाशन प्रारभ्भ भएपछि भने प्रभास साहित्यिक समूह लेख्दै आयौँ । समूहको नामलाई सरलिकृत गर्ने एवम् आकर्षक बनाउने उद्देश्यसहित मिति २०६७-०८-०४ मा बसेको समूहको बैठकले समूहको नयाँ नाम अलग अभियानको प्रस्ताव पारित गर् यो र समूहका सदस्यहरुलाई अभियन्ताको रुपमा परिभाषित गर् यो । त्यसयता 'प्रभास साहित्यिक समूह' अलग अभियानमा परिणत भएको छ र यसका सबै 'सदस्यहरु' अभियन्तामा रुपान्तरित भएका छन् ।

Nov 24, 2010

अन्तरकृयामा अन्तरा - २

सम्पूर्ण अभियन्ता साथीहरु,
आफ्नो स्थापनाकालदेखि नै अलग अभियानले गीत विधालाई पनि प्राथमिकता दिँदै आएको छ । गीत विभागको संयोजनमा हरेक महिनाको तेस्रो शनिबार गीत वाचन तथा अन्तरकृयामा पनि गर्दै आएको छ । १७ महिनाअघि अलग अभियानले पहिलो पटक व्यवस्थित एवम् बृहत गीत  अन्तरकृयामा गरेको थियो । गीत लेखनलाई थप व्यवस्थित एवम् विकसित गर्ने उद्देश्यसहित गीत विभागले अर्को बृहत गीत अन्तरकृया गर्ने योजना बनाएको छ ।  उक्त अन्तरकृयासँग सम्बन्धित बुँदाहरु निम्नानुसार छन्  
 - सङ्ख्या, स्तर, रुप, सार सबै पक्षबाट तयारीमा रहनुहोला । 
 - पुराना गीतहरुको पुनर्लेखन / सम्पादन गर्नुहोला ।
 - नयाँ गीतहरु लेख्नुहोला ।
 - प्रत्येक गीतकारले गीत विभागलाई पौष २०६७ भित्र १० वटा गीत उपलब्ध गराउनु पर्नेछ । 
- तोकिएको मितिभित्र तोकिएको सङ्ख्यामा गीत उलपब्ध गराउने सदस्यका गीतहरुलाई अन्तरकृयामा समाविष्ट गरिनेछ ।

- गीत विभाग , अलग अभियान

Nov 23, 2010

समूह मिटिङ्ग (मितिः २०६७-०८-०४)

source: www.alagabhiyan.blogspot.com
उपस्थित अभियन्ताहरु:
-नाकिमा
-नदीश
-विशद
-मंजु मार्मिका
-रश्मिला कवाङ 'रश्मी'

निर्णयहरु:
१. समूहको नाम परिवर्तन गरी 'अलग अभियान' राख्ने निर्णय ।
२. एस. के. किरन र आस्था कोपिला अभियन्ताको रुपमा पारित ।

Nov 21, 2010

रश्मि झुल्किएका रात

source: www.alagabhiyan.blogspot.com
आशा दियो बल्दो थियो रश्मि झुल्किएका रात
निरासहरु जल्दो थियो रश्मि झुल्किएका रात

उदायर नौलो तारा गगनको अंगालोमा
मन्द मुस्कान खुल्दो थियो रश्मि झुल्किएका रात

जुनकिरी नाच्दैथियो छरी नयाँ-नयाँ ज्योति
अध्यारो जो ढल्दो थियो रश्मि झुल्किएका रात

सन्ध्याको वरिपरी खुलेका ती नयाँ आँखा
स्फुर्त नयाँ चल्दो थियो रश्मि झुल्किएका रात

जन्मियथ्यो एक नयाँ चेतनाको द्रुत गती
सुस्त त्यहाँ गल्दो थियो रश्मि झुल्किएका रात

Nov 20, 2010

साहित्यमा अलग अभियान

source: www.alagabhiyan.blogspot.com
आजभन्दा चार वर्षअघि स्थापित, प्रगतिवादी युवा साहित्यकारहरुको समूह हो अलग अभियान
। यसले विभिन्न साहित्यिक अभियान/गतिविधिहरु संचालन गरी सामाजिक/साँस्कृतिक रुपान्तरणको अभियानमा लेखनमार्फत सहभागिता जनाइराखेको छ । स्थापनाकालदेखि नै विचारको नाममा नारा र कलाको नाममा खोक्रो सिर्जना, दुवैको विपक्षमा रहँदै निरन्तर लेखनमा वैज्ञानिक विचार र प्रभावकारी प्रस्तुतिको निम्ति यसले आफ्ना सम्पूर्ण प्रयत्नहरु केन्द्रित गर्दै आएको छ ।

समूह संरचना
अलग अभियान संयोजक-अभियन्ता संरचनामा रहेको छ । यस अभियानमा हालसम्म ४६ जना युवा लेखकहरु आबद्ध छन् ।

विधागत विभागहरु
अलग अभियान अन्तर्गत कविता, गीत र गजल गरी तीन विधागत विभागहरु छन् । विधागत विकास र व्यवस्थापनको निम्ति विभागहरुको निर्माण गरिएको हो । यी प्रत्येक विभागहरुले नियमित अन्तरकृया लगायतका गतिविधिहरु  संचालन गर्दै आएका छन् ।

अभियान/गतिविधिहरु
यसले आफ्ना उद्देश्यलाई पछ्याउँदै सलामबिहानी डटकम, सिर्जना सागर, शब्दशिखा, अलग अभियान ब्लग लगायतका अभियान/गतिविधिहरु  संचालन गर्दै आएको छ ।

सलामबिहानी
अलग अभियानको सबैभन्दा जेठो अभियान हो www.salambihani.com । समूहको स्थापनाकालदेखि नै यो निरन्तर संचालनमा छ । यसमा कविता, गीत र गजल गरी हरेक हप्ता तीन सिर्जना प्रकाशित भइरहेका छन् । यी बाहेक यो वेवसाइटमा लघुगद्य सिर्जनाहरु (कथा, निबन्ध, आलेख), विभिन्न भाषाका सिर्जनाहरु र साहित्यिक समाचारहरु पनि प्रकाशित भइरहेका छन् ।

सिर्जना सागर
साहित्यिक/साङ्गीतिक सिर्जना वाचन/श्रवनको कार्यक्रम हो 'सिर्जना सागर’ । २४औँ शृङ्खला पार गरिसकेको यो कार्यक्रम ललितपुरको लगनखेलस्थित नमूना उ. म. वि. मा हरेक महिनाको दोस्रो शनिबार संचालन हुँदै आएको छ । यसको संचालकमा अखिल 'नेपाल लेखक सङ्घ, ललितपुर' पनि रहेको छ ।

शब्दशिखा
'शब्दशिखा’ साहित्यिक मासिकको पहिलो अङ्क २०६६ जेठमा प्रकाशित भएको थियो । यसमा कविता, गीत र गजलको अलवा साहित्यका विभिन्न लघुविधाहरु प्रकाशित हुँदै आएका छन् ।

अलग अभियान ब्लग
समूहको सम्पूर्ण जानकारी दिने उद्देश्यसहित साचालित ब्लग हो www.alagabhiyan.blogspot.com । यसमा समूहको दस्तावेजहरु, सदस्यहरुको सिर्जना एवम् समूहका प्रत्येक गतिविधिहरुको जानकारी समाविष्ट गरिएको छ ।

अन्तरकृया
अलग अभियानले प्रत्येक महिनाको पहिलो शनिबार कविता अन्तरकृया, तेस्रो शनिबार गीत अन्तरकृया र चौथो शनिबार गजल अन्तरकृया गर्दै आएको छ । यसबाहेक समूहले 'प्रभास कविता अन्तरकृया १ र २’ 'शेर शल्यकृया(गजल अन्तरकृया १ र २'(गजल अन्तरकृया)’ 'अन्तरकृयामा अन्तरा १(गीत अन्तरकृया) जस्ता बृहत एवम् व्यवस्थित अन्तरकृयाहरुको आयोजना गरिसकेको छ ।

अलग अभियान आफ्ना अभियान/गतिविधिहरुलाई आगामी दिनमा अझै प्रभावकारी रुपमा अगाडि बढाउने प्रतिबद्धता पेश गर्दछ ।

Nov 18, 2010

गजलको गरिमा

-नदीश

 

अहिले नेपालमा धेरैले लेख्ने विधा गजल, सबैभन्दा धेरै लेखिने विधा गजल र सबैभन्दा पछि परेको विधा पनि गजल । सङ्ख्यात्मक रुपमा हामी समृद्ध छौँ गजलमा, यो यथार्थ हो र गुणात्मक रुपमा हामी अत्यन्तै गरीब छौँ, गजलमा यो एउटा तीतो यथार्थ हो । आफ्ना भावनाहरु पोख्नु र त्यसलाई गजल भन्नु एउटा कुरा र साँच्चीकै गजल लेख्नु अर्को कुरा । 

सामान्यतया शेरहरुमा रदीफ र काफियाको समिश्रणलाई गजल भनिन्छ र यसको गलत व्याख्या गरिन्छ । अन्त्यानुप्रयास मिलाएकै भरमा यदि सुन्दर कविता निर्माण हुन सक्छ भने यो मान्यतालाई पनि सही भन्न सकिएला । हो पक्कै पनि रदीफ र काफिया गजलको आत्मा हो तर यसले मात्रै गजलको मर्मलाई पूरा गर्न सक्दैन । गजलका केही मापदण्डहरु छन् जुन गजलकारले पुरा गर्नु आवश्यक छ ।

संरचनात्मक स्वतन्त्रता अर्थगत अधीनता :

प्रत्येक मिसराहरु व्याकरणीय दृष्टिकोणबाट स्वतन्त्र हुनु जरुरी छ । नेपालका कैयन गजल हस्तीहरुपनि यो मान्यताबाट टाढै देखिन्छन् । एउटै वाक्यजस्ता लाग्ने शेरहरुले गजलको मान्यतालाई उल्लङ्घन गरिरहेको हुन्छ । शेरको माथिल्लो भाग (मिसरा ए उला) एउटा स्वतन्त्र वाक्यजस्तो सुनिनुपर्छ जसले केही कुरा मागिरहेको हुन्छ र त्यसलाई शेरको तल्लो भाग (मिसरा ए सानी)ले पूरा गरिदिनुपर्छ । संरचनात्मक दृष्टिकोणमा स्वतन्त्र वाक्यजस्तो तर अर्थगत रुपमा एक अर्काको अधीनमा हुने गजलको द्वन्द्वात्मक प्रकृतिलाई हामी संरचनात्मक स्वतन्त्रता अर्थगत अधीनता भन्छौँ ।

साङ्गीतिक चेतना वैचारिक गहनता :

गजल मुख्यतयः ग्येय विधा हो । गजल श्रृजनाको क्रममा गजलकारभित्र साङ्गीतिक चेतना हुनु जरुरी छ । कुनैपनि पाठकले पढ्दा शेरहरु बिनाअवरोध बग्नुसक्नुपर्छ । अफ्ठ्यारा शब्दहरुको प्रयोगले गजलमा अबरोध उत्पन्न गर्छ । गजलको पहिलो शेर जुन किसिमको साङ्गीतिक कल्पनाबाट लेखिएको छ त्यसलाई सम्पूर्ण शेरहरुमा निरन्तरता दिनुसक्नुपर्छ फलतः कुनै पनि शेरहरुमा शब्दहरुको कमी या बढी महसुस नहोस् । अर्को कुरा गजलले उठान गर्ने विषयबस्तु हल्का हुनु हुँदैन । सरल शब्दमा सरल विम्व र प्रतीकको प्रयोगबाट गहन अर्थ दिन सक्नुपर्छ गजलले र यो मानेमा गजल कवितासँग मिल्दोजुल्दो हुनुपर्छ ।

उपयुक्त रदीफ र काफियाको छनौट :

काफिया मिलाउने नाममा गजलकारले आफ्नै किसिमका बिनाअर्थका शब्दहरु श्रृजना गर्नु आफ्नै गजलको हत्या गर्नु हो । प्रयोग भइरहने तथा हल्का काफियाबाटपनि गजलकार मुक्त हुनुपर्छ । नयाँ रदीफ र काफियाको प्रयोगले गजलमा मीठासता ल्याउनुको साथै गजलमा नयाँपन आउँछ ।

यसको अलवा गजलले प्रेम प्रणयका कुराहरुलाई मात्रै समेट्नुपर्छ भन्ने रुढीबादी मान्यतालाईपनि तोड्नु आजको आवश्यकता हो । साहित्यले समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्छ र गजल साहित्यको एउटा महत्वपूर्ण अङ्ग हो । गजलमा खाली कोरा प्रेम-प्रणयका कुरा मात्र ओकल्नुभन्दा परिवर्तनका आवाजहरु पस्केर अझै सुन्दर र शक्तिशाली बनाउन आजैदेखि पाइला चाल्ने कि ?

Nov 17, 2010

सङ्घर्षका कथाहरु

-रमेश स्वप्निल
नलेख भन्छौ लेखिरहन्छौँ सङ्घर्षका कथाहरु
नचढ भन्छौ चढिरहन्छौँ राता सगरमाथाहरु

थाक्दैनौँ हामी यात्रामा लक्ष नभेटुन्जेल
नहिँड भन्छौ हिँडिरन्छौँ पन्छाउँदै बाधाहरु


छुट्दैनौँ एक-आपसमा गन्तव्य हो परिवर्तन
नजुट भन्छौ जुटिरहन्छौँ अनगिन्ति साथहरु


जेल-नेल हत्कडी तोडेर अघि-
अघि 
नबढ भन्छौ बढिरहन्छौँ बोकेर आस्थाहरु

Nov 8, 2010

गदार भयो शहरमा


अहो हेर कत्रो ठूलो हुँकार भयो शहरमा
चारै तिर बेइमानी धिकार छ यो शहरमा

दुर्गन्ध छ फोहोरको घमण्ड छ धनको
थुकी हिड्दा खकारै खकार भयो शहरमा

गाउँघरमा बास छैन धेरैलाई गाँस छैन
धेरै खाइ कसैलाई डकार भयो शहरमा

जीवनको भिख माग्न इश्वरको पुजा गर्छन
श्रमिकको श्रममाथि गदार भयो शहरमा

Nov 6, 2010

रश्मि झुल्केका रातहरु प्रकाशित

सक्रिय युवा साहित्यकार तथा प्रभास साहित्यिक समूहकी साधारण सदस्य रश्मिला कवाङ `रश्मि`को पहिलो कृति `रश्मि झुल्केका रातहरु` (गजल सङ्ग्रह) प्रकाशित भएको छ । ९४ वटा गजलहरु समाविष्ट सो सङ्ग्रहको प्रकाशन पिता आसराम कवाङ र माता रामप्यारी कवाङले गरेका हुन् ।

सङ्ग्रहमा समाविष्ट अधिकांश गजलहरु उत्पीडित वर्ग, लिङ्ग, जाति र क्षेत्रको पक्षमा उभिएका छन् । सुदीप सुवालको अर्थपूर्ण आवरण र मिडिया प्लसको आकर्षक डिजाइनले सङ्ग्रहलाई थप ओजपूर्ण बनाएको छ ।