Nov 29, 2010

गजल सङ्ग्रह प्रकाशनबारे

source: www.alagabhiyan.blogspot.com
अहिले गजलको माहोल बढ्दो भइकनपनि यसको स्तरियता खस्कदो छ । कैयन स्थापित साहित्यकारहरु गजल साहित्यप्रति चासो व्यक्त गर्दैनन् कतिपय त यसलाई साहित्यको अङ्ग नै मान्न तयार देखिदैनन् र हमेसा 'गजल नलेख्नू' भन्ने अर्ती दिइरहन्छन् । गजलप्रति यस्तो किसिमको वितृष्ना आउनु पक्कै पनि गजलकारको निम्ति सुखद कुरा होइन तर हामी स्वयम् गजलकारहरु नै गजलसाहित्यको खस्कदो स्तरका भागिदार हौँ ।

अलग अभियानले आफ्नो स्थापनाकालदेखि नै गजल साहित्यप्रति विशेष महत्व दिँदै आएको कुरा त सम्पूर्ण अभियन्ताहरुलाई सर्वविदितै छ । गजलका पुराना मूल्यमान्यताहरुलाई तोड्दै हामीले गजल लेखनका नयाँ मान्यताहरु स्थापित गर्दै आएका छौँ । परम्परागत गजल लेखनप्रति अलग अभियान पनि विमति प्रकट गर्दछ । सुन्दर रुप र सारको संयोजनबाट नै सुन्दर रचनाको जन्म हुन्छ भन्ने मान्यतानुसार हामी हाम्रा हरेक सिर्जनाहरुलाई अगाडि बढाइरहेका छौँ । सुन्दर रुप र सारको विवेचनात्मक व्याख्या अलग अभियानका कुनै पनि अभियन्ताहरुलाई गरिरहनु नपर्ला ।

अलग अभियानले 'शेर शल्यकृया-१ र २' गरी दुईवटा वृहत गजल अन्तरकृयाहरुपनि गरिसकेको छ । यसको अलवा हरेक महिनाको अन्तिम शनिबार गजल विभागको आयोजनामा गजल अन्तरकृयात्मक कार्यक्रम पनि चल्दै आएको छ । नेपाली साहित्यमा देखिएको गजलप्रतिको वितृष्नालाई कम गर्न र गजललाई पनि एउटा शक्तिशाली साहित्यिक विधाको रुपमा स्थापित गर्न अलग अभियानले आगामी एक वर्षभित्र संयुक्त गजलसङ्ग्रह प्रकाशन गर्ने निर्णय गरेको छ । अलग अभियानभित्रका सम्पूर्ण गजलकारहरुलाई हामी संयुक्त सङ्ग्रहमा आमन्त्रण गर्दछौँ ।
आगामी गजलसङ्ग्रको निम्ति हाम्रो अभियानले गजलकार छनौटका निम्न मापदण्डहरु तैयार पारेको छ र यी मापदण्ड पूरा गर्न सक्षम गजलकारहरु आगामी गजल सङ्ग्रहमा समावेश हुनेछन् ।

१. आगामी फागुन मसान्तभित्र इच्छुक गजलकारहरुले आफ्ना नयाँ १० गजलहरु गजलविभागलाई अनिवार्य रुपमा बुझाउनुपर्नेछ ।
२. प्राप्त भएका गजलहरुको आधारमा हामीले गजलकारको छनौट प्रकृया अगाडि बढाउनेछौँ र छनौटमा परेका गजलकारहरुले जेष्ठ मसान्तभित्र नयाँ थप १० गजलहरु बुझाउनुपर्नेछ ।
३. गजलसङ्ग्रहमा प्रत्येक गजलकारका पाँच-पाँच गजल सङ्ग्रहित हुनेछन् ।
४. गजल सङ्ग्रह प्रकाशनमा लाग्ने सम्पूर्ण आर्थिक भारको आफ्नो हिस्सा सङ्ग्रहित गजलकारहरु स्वयम्ले वेहोर्नुपर्नेछ ।
माथि उल्लेखित बुँदाहरुमा कुनै पनि सम्झौता गरिने छैन । उल्लेखित कुराहरु पूरा नभएको अवस्थामा गजलकारहरु सङ्ग्रहमा समाविष्ट हुने छैनन् ।
गजल लेखनका दौरान गजलकारहरुले निम्न बुँदामा केन्द्रित रहेर गजल लेखनलाई अगाडि बढाउनुहुन अनुरोध गरिन्छ-

संरचनात्मक स्वतन्त्रता, अर्थगत अधीनता :
प्रत्येक मिसराहरु व्याकरणीय दृष्टिकोणबाट स्वतन्त्र हुनु जरुरी छ । नेपालका कैयन गजल हस्तीहरुपनि यो मान्यताबाट टाढै देखिन्छन् । एउटै वाक्यजस्ता लाग्ने शेरहरुले गजलको मान्यतालाई उल्लङ्घन गरिरहेको हुन्छ । शेरको माथिल्लो भाग 'मिसरा ए उला' एउटा स्वतन्त्र वाक्यजस्तो सुनिनुपर्छ जसले केही कुरा मागिरहेको हुन्छ र त्यसलाई शेरको तल्लो भाग 'मिसरा ए सानी'ले पूरा गरिदिनुपर्छ । संरचनात्मक दृष्टिकोणमा स्वतन्त्र वाक्यजस्तो तर अर्थगत रुपमा एक अर्काको अधीनमा हुने गजलको द्वन्द्वात्मक प्रकृतिलाई हामी संरचनात्मक स्वतन्त्रता अर्थगत अधीनता भन्छौँ ।

साङ्गीतिक चेतना, वैचारिक गहनता :
गजल मुख्यतयः ग्येय विधा हो । गजल श्रृजनाको क्रममा गजलकारभित्र साङ्गीतिक चेतना हुनु जरुरी छ । कुनैपनि पाठकले पढ्दा शेरहरु बिनाअवरोध बग्नुसक्नुपर्छ । अफ्ठ्यारा शब्दहरुको प्रयोगले गजलमा अबरोध उत्पन्न गर्छ । गजलको पहिलो शेर जुन किसिमको साङ्गीतिक कल्पनाबाट लेखिएको छ त्यसलाई सम्पूर्ण शेरहरुमा निरन्तरता दिनुसक्नुपर्छ फलतः कुनै पनि शेरहरुमा शब्दहरुको कमी या बढी महसुस नहोस् । अर्को कुरा गजलले उठान गर्ने विषयबस्तु हल्का हुनु हुँदैन । सरल शब्दमा सरल विम्व र प्रतीकको प्रयोगबाट गहन अर्थ दिन सक्नुपर्छ गजलले र यो मानेमा गजल कवितासँग मिल्दोजुल्दो हुनुपर्छ ।

उपयुक्त रदीफ र काफियाको छनौट :
काफिया मिलाउने नाममा गजलकारले आफ्नै किसिमका बिनाअर्थका शब्दहरु श्रृजना गर्नु आफ्नै गजलको हत्या गर्नु हो । प्रयोग भइरहने तथा हल्का काफियाबाटपनि गजलकार मुक्त हुनुपर्छ । नयाँ रदीफ र काफियाको प्रयोगले गजलमा मीठासता ल्याउनुको साथै गजलमा नयाँपन आउँछ ।

लेखकीय पक्षधरता :
पक्षधरता गजल छनौटको अर्को महत्वपूर्ण आधार हो । गरिखाने वर्गको पक्षमा उभिएका गजलहरु पहिलो प्राथमिकतामा पर्नेछन् । समाजमा विद्यमान जातीय, लिङ्गीय, क्षेत्रीय लगायतका अन्तरविरोधहरु छनौटका थप आधारहरु हुनेछन् ।

उल्लेखित अवधारणामा पूर्ण ध्यान दिँदै गम्भीरताका साथ गजल लेखन, परिमार्जनमा लाग्नहुन अलग अभियानमा आवद्ध सम्पूर्ण अभियनताहरुमा आह्वान गर्दछौँ ।

२०६७-०८-०१
गजल सङ्कलन-छनौट-सम्पादन समिति
अलग अभियान

No comments:

Post a Comment