Nov 18, 2010

गजलको गरिमा

-नदीश

 

अहिले नेपालमा धेरैले लेख्ने विधा गजल, सबैभन्दा धेरै लेखिने विधा गजल र सबैभन्दा पछि परेको विधा पनि गजल । सङ्ख्यात्मक रुपमा हामी समृद्ध छौँ गजलमा, यो यथार्थ हो र गुणात्मक रुपमा हामी अत्यन्तै गरीब छौँ, गजलमा यो एउटा तीतो यथार्थ हो । आफ्ना भावनाहरु पोख्नु र त्यसलाई गजल भन्नु एउटा कुरा र साँच्चीकै गजल लेख्नु अर्को कुरा । 

सामान्यतया शेरहरुमा रदीफ र काफियाको समिश्रणलाई गजल भनिन्छ र यसको गलत व्याख्या गरिन्छ । अन्त्यानुप्रयास मिलाएकै भरमा यदि सुन्दर कविता निर्माण हुन सक्छ भने यो मान्यतालाई पनि सही भन्न सकिएला । हो पक्कै पनि रदीफ र काफिया गजलको आत्मा हो तर यसले मात्रै गजलको मर्मलाई पूरा गर्न सक्दैन । गजलका केही मापदण्डहरु छन् जुन गजलकारले पुरा गर्नु आवश्यक छ ।

संरचनात्मक स्वतन्त्रता अर्थगत अधीनता :

प्रत्येक मिसराहरु व्याकरणीय दृष्टिकोणबाट स्वतन्त्र हुनु जरुरी छ । नेपालका कैयन गजल हस्तीहरुपनि यो मान्यताबाट टाढै देखिन्छन् । एउटै वाक्यजस्ता लाग्ने शेरहरुले गजलको मान्यतालाई उल्लङ्घन गरिरहेको हुन्छ । शेरको माथिल्लो भाग (मिसरा ए उला) एउटा स्वतन्त्र वाक्यजस्तो सुनिनुपर्छ जसले केही कुरा मागिरहेको हुन्छ र त्यसलाई शेरको तल्लो भाग (मिसरा ए सानी)ले पूरा गरिदिनुपर्छ । संरचनात्मक दृष्टिकोणमा स्वतन्त्र वाक्यजस्तो तर अर्थगत रुपमा एक अर्काको अधीनमा हुने गजलको द्वन्द्वात्मक प्रकृतिलाई हामी संरचनात्मक स्वतन्त्रता अर्थगत अधीनता भन्छौँ ।

साङ्गीतिक चेतना वैचारिक गहनता :

गजल मुख्यतयः ग्येय विधा हो । गजल श्रृजनाको क्रममा गजलकारभित्र साङ्गीतिक चेतना हुनु जरुरी छ । कुनैपनि पाठकले पढ्दा शेरहरु बिनाअवरोध बग्नुसक्नुपर्छ । अफ्ठ्यारा शब्दहरुको प्रयोगले गजलमा अबरोध उत्पन्न गर्छ । गजलको पहिलो शेर जुन किसिमको साङ्गीतिक कल्पनाबाट लेखिएको छ त्यसलाई सम्पूर्ण शेरहरुमा निरन्तरता दिनुसक्नुपर्छ फलतः कुनै पनि शेरहरुमा शब्दहरुको कमी या बढी महसुस नहोस् । अर्को कुरा गजलले उठान गर्ने विषयबस्तु हल्का हुनु हुँदैन । सरल शब्दमा सरल विम्व र प्रतीकको प्रयोगबाट गहन अर्थ दिन सक्नुपर्छ गजलले र यो मानेमा गजल कवितासँग मिल्दोजुल्दो हुनुपर्छ ।

उपयुक्त रदीफ र काफियाको छनौट :

काफिया मिलाउने नाममा गजलकारले आफ्नै किसिमका बिनाअर्थका शब्दहरु श्रृजना गर्नु आफ्नै गजलको हत्या गर्नु हो । प्रयोग भइरहने तथा हल्का काफियाबाटपनि गजलकार मुक्त हुनुपर्छ । नयाँ रदीफ र काफियाको प्रयोगले गजलमा मीठासता ल्याउनुको साथै गजलमा नयाँपन आउँछ ।

यसको अलवा गजलले प्रेम प्रणयका कुराहरुलाई मात्रै समेट्नुपर्छ भन्ने रुढीबादी मान्यतालाईपनि तोड्नु आजको आवश्यकता हो । साहित्यले समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्छ र गजल साहित्यको एउटा महत्वपूर्ण अङ्ग हो । गजलमा खाली कोरा प्रेम-प्रणयका कुरा मात्र ओकल्नुभन्दा परिवर्तनका आवाजहरु पस्केर अझै सुन्दर र शक्तिशाली बनाउन आजैदेखि पाइला चाल्ने कि ?

No comments:

Post a Comment