Jun 24, 2011

इँटाको रातो जङ्गल

 स्व. स्वप्निल स्मृति

कसरी भन्न सक्छु
यो सहर मेरो हो
जबकि गाउँमा बितेको थियो मेरो बालापन
निकै लामो दूरी पार गरेर मात्र
म जहाँ उभिइरहेको छु- यहाँसम्म आइपुगेको हो ।

पहिले म कहिल्यै एक्लो थिइनँ
जब घरमुनिको कान्लाले छेक्दै गयो
गाउँ त्यस्तरी छोडिँदै आयो
जब खोला तरेँ
तब लाग्यो म साँच्चिकै कतै जाँदैछु
कि यहाँ आइपुग्दा
निदाइरहेको थिएँ म मालबाहक ट्रकमा
जब ब्युँझिएँ यहाँको कोलाहलले
कि बहुराष्ट्रिय कम्पनीका एजेन्टहरुले
लात्ताले हिर्काउँदै झारे
ट्रकको मालसँगै मलाई
त्यस्तरी म एउटा भँगालो
मिसिएँ यो मान्छेहरुको महासागरमा
त्यस्तरी म एउटा इँटा
थपिएँ यो इँटाको रातो जङ्गलमा
त्यस्तरी म एक चोइटा सिसा
कस्तरी जोडिएँ यो काँचको अग्लो दलमा ?
कसरी भन्न सक्छु म
यो सहर मेरो हो
कि हारालुछ भीडमा पाउँछु म आफूलाई बिलकुल एक्लो ।

म सोच्न सक्छु-
मान्छे कसरी जोडिने अर्को मान्छेमा
जब भुस्याहाभन्दा सहज मारिन्छन् मान्छे जेब्राक्रसमा
कालभैरव चक्कु हान्छ साइबर क्याफेमा
महादेव सिरिन्ज हान्छ र बौलाउँछ नाइट क्लबहरुमा
राजकुमार एके-४७ खेलाउँछ र भुइँचालो जान्छ टोलटोलमा
मान्छे कसरी मान्छे बन्ने ?
म देख्छु-
नयाँ सडक धमाधम लुगा फुकाल्दै छ जिन्स पुस्ताको
र प्रत्येकलाई बदल्दै छ सुपरमार्केटको डमीमा
जहाँ रिमोट कन्ट्रोलले चलाउँछ मान्छे
र थोत्रो बनाउँछ मष्तिस्कको पुर्जा
कस्तो सुखको रङ हो यो ?
दरबारमार्गमा दुईटुक्रा बिकिनी किन्दिएर
उफार्दै छ ज्याजमा बि्रट्नी स्पेयर्सहरु
ठमेल सय रुपैयाँमा सम्भोग गरेर लखेट्दैछ समलिङ्गी
यहाँको खुसीको विषय हो यो
पुतलीसडक डीभी परेर भाँडा माझ्दै छ अमेरिकाको
म आफैँलाई देाष दिन्छु-
यी दुनियाँ सवाल उठाउने म पागल हो ।
मध्यमवर्गीय बार्दलीमा
यस्ता हाइबि्रड आमाहरु घाम ताप्दै छन् ।
छोरी क्याटवाक गराउँछन् डिजिटल र् याम्पमा
बुहारी नाङ्गै बनाउँछन् पूजाकोठामा
यो आधुनिक धार्मिक सहर
सायद यिनै आमाहरुको हो ।
एटीएम रुममा
कस्ता तनावग्रस्त बुबाहरु छन् भने
सहर हल्लाउने एउटा मोटरसाइकल नकिन्दिए
हिप्पी गलफ्रेन्डलाई बुहारी नस्वीकारे
जङ्की छोराहरुले दिएका छन् आत्महत्याको अल्टिमेटम
यो सहर
सायद यिनै छोराहरुको हो ।

हमेसा पुरातात्विक क्षेत्रमा
मुस्कुराइरहेछन् पोलिथिनका माउन्ट एभरेस्ट
यसरी चलिरहेछ प्रदुषणको आँधी
सहर सुरसा हो र टकटक्याइरहेछ विद्रुप जिउ
यस्तो लाग्छ-
मभित्रको आदिकविसित छ यति नेगेटिभिटी
म कसरी वर्णन गर्नसक्छु यहाँको क्लनिङ ऐश्वर्य
कि फूल गोड्दागोड्दै
जन्माउनुभयो आमाले मलाई फूलबारीमा
अझै छ फूलको बासना ममा
त कसरी हुनसक्छ यो सहर मेरो ।

ग्यालरीमा सुसज्जित परीका पोट्रेट
र मिनरल वाटरका बोतलले सडक हिर्काइरहेका
महानगरका धनाढ्य श्रीमतीहरु
चोकमा स्थापित महापुरुषका सालिक
र ब्यान्डबाजा बजाइरहेका यहाँका सवारी चालक
यो सहरजस्तो छ वटा सहर जुवा हान्नसक्ने कुनै जुवाडे
वा पहाड ताछेर टाउन प्लानिङ गरिरहेका जग्गा दलाल
कसको हो यो सहर
यी बबरमहल केशरमहल हरिहरभवन बसन्तपुर
जसले बनाउँछन् धरहरा घण्टाघर रानीपोखरी…
ज-जसको छ कम्तीमा ए-एउटा ओडार
के तिनीहरुको हो ?
कति मर्छन् किच्चिएर यी महलका निदाल ओसार्दा कमिला-कामदारहरु ?
कति पुरिन्छन् भग्नावशेषभैष माटो थुपार्दा ट्याक्टर-मेरुदण्डहरु ?
कति टाँसिन्छन् बुट्टामै टुँडाल कुँद्दा कालीगढ-मनहरु ?
यो पश्चिमपट्टीको झ्याल
कुन रखौटी टोलाई बस्ने झ्याल हो ?
कुनै कुमालेको स्वाभिमान छ यो धरहरामा ?
कुन मानव सभ्यताको समय छ घण्टाघरमा,
कुन शताब्दीमा रगत सङ्लिएर पानी बन्छ रानीपोखरीमा ?
कसरी भन्न स्क्छु-
यो सहर मेरो हो
जबकि सबैभन्दा माया गर्ने मेरी प्रियसी गाउँमा छिन् ।

कसरी हुनसक्छ यो सहर मेरो
जबकि गाउँमा बितेको थियो मेरो बालापन
जब म काम गर्न सक्ने भएँ
जब म देख्न थालेँ स्वप्न
यो सहरले खरिद गर्यो मलाई सस्तो भाउमा
र महँगो दाउमा बिक्री गरेको सत्य हो ।

1 comment:

  1. हालमा मैले नेट मार्फत पड़न पाईरहेका कविताहरुमा निसन्देह यो कविता सबैभन्दा श्रेष्ठ कविता हो भन्न हिच्किचाएको छुइन। उमेरले मभन्दा लगभग दुइ वर्ष सानो स्वप्निलजीको सिर्जनात्मक उचाई भने मेरो एक अभिभावक-कै उचाईमा हेरेको छु। उहाँका कवितालाई मैले प्रकृतिका सौन्दर्यसित तुलना गर्न परे म 'झरना' भन्नछु। समुद्रको अलग र झरनाको अलग र हिमशैलको अलग स्वाद पाउँदछौं....जब मलाई झरना जस्तै निश्छल, गतिशील, सुन्दर, स्वच्छ कविताको याद आउँछ तब-तब स्वप्निल स्मृतिको याद गराईरहन्छ|उहाँको सिर्जनात्मकता सदैव हल्लाको केन्द्रहरुदेखि मुक्त रहुन....कविताको स्वरुपको सुन्दरता वा कलात्मकतासितै उच्च वैचारिक अन्तरवस्तुले कुनै चतुर्याइँबिना नै कुनै जबर्जस्तीको भ्रन्तिकर वा मायावी लाग्ने गाँठो निर्माण नगरी नै कवितामा एकाकार बनेको छ। यस्तै राम्रो काव्य-निर्माणमा स्वप्निलजीको कलम निर्बाध अघि बढिरहोस्।......................

    टीका भाइ

    ReplyDelete