Apr 30, 2011

 

आकाशभरि कालो बादल मडारिएको छ । पानी दर्केला जस्तो मौसम छ । आज स्कूल छुट्टी हुने कुनै लक्षणसम्म पनि देखिएको छैन यतिबेलासम्म । कक्षाकोठाका केटाकेटीहरु एक टक हेरिरहेछन् ढोका नजिकै कोरिएको धर्को । घामको झुल्काले कतिखेर त्यो कोरिएको धर्को चुम्ने हो र उनीहरु मुक्त हुनेहुन् आजको दिनमा त्यो सम्भावना न्यून छ र पनि झिनो आशा देखिन्छ हरेकको मुहारमा हिजो-अस्ति जस्तै आजपनि घामले पाइला टेक्नेछ, ढोकानिरैको धर्को चुम्नेछ र उनीहरु पूर्ण उन्मुक्तिकासाथ चिच्याउँदै हानिनेछन् आ-आफ्नो घरतर्फ ।

उनीहरु बाँधिएका छैनन् कुनै फलामे साङ्लोले, न त उनीहरुलाई थुनिएको छ तालाबन्दी गरेर र पनि आफ्नो बेन्चबाट एक पाइला वर पर सर्न सकिरहेका छैनन् उनीहरु ।

साँझ झमक्कै परिसक्दापनि स्कूल गएका आफ्ना साना नानीहरु यतिबेलासम्म घर नफर्किँदा आमा बाबुहरु आत्तिन थाले । छर छिमेकमा पनि स्कूल गएका नानीहरु कोही फर्केको खबर छैन । गाउँको तीन कक्षासम्म पढाइ हुने स्कुल, त्यसमा पढ्ने कलिला नानीहरु, पढाउने दुइजना मात्रै माष्टर । के भयो त आज स्कूलमा ? कुनै अपि्रय घटना त घटेन ? गाउँलेहरु हतार हतार हानिन्छन् स्कुलतिर ।

अफिसमा ताला झुण्डिरहेको छ ।

पानी सिमसिम परिरहेको छ । सबै केटाकेटीहरुको डरले आक्रमण गरेको प्रष्टै देखिन्छ । आफ्नो अभिभावकहरु आफ्नो अगाडी पाउँदा एकाएक सबैजना डाँको छोडेर रुन थाल्छन् ।
'खोइ माष्टर ?'
दुइचारजनाको समूह माष्टरको पसलतर्फ हानिन्छन् ।
'किन यतिबेलासम्म घर नफर्केको ?'
'ऊ त्यो धर्कोमा जतिखेर घाम पर्छ त्यतिखेर मात्र हामी घर जान पाउछौँ' ढोका नजिकै धुलोमा कोरिएको धर्को देखाउँदै एकजना बालकले जवाफ दियो ।

+ + + + + + + + + + + + + + +

पानी दर्कन थाल्छ । बलेसीबाट खसेको पानीको बेगले ढोकानिर कोरिएको धर्को एकैछिनमा मेटाइदिन्छ । केटाकेटीहरु उफिरदै हिलोमा थुप्रै धर्काहरु कोर्न थाल्छन् ।

No comments:

Post a Comment