Jul 24, 2011

तिमीलाई कुरिरहेछु



सुनौलो बिहानीको गाथा गाउँदै
सदभावको घडा सजाएर
अन्धकार रातमा
तिमी हराएकी थियौ
वषौ पुरानो भइसक्यो समय
इतिहासको कालखण्डमा खुशी भएथे
एउटी निडर छोरी जन्माएछु भनेर

उहिल्यै देखि

अनवरत सुस्काइरहेका सुस्केराहरु
पोको पारेर हराएको त्यो
अध्यारो रात डरलाग्दो थियो
घोडालाई टापले थिचे जस्तै गरि
थिचिएका भावनाहरुलाई
कुम्लो पारेर न्यानो अँगालोमा
हावाहुरी चलेको रातमा
तिमी हराएकी थियौ
छोरी हराउँदा खुशी हुने
एउटी आमा तिम्री म
अहिले पनि तिमीलाई कुरिरहेछु ।

उकालो ओह्रालो

आउने जाने बटुवाहरुलाई
कयौ पटक सोधिसके छोरी
साटेर रगत र पसिना
तिमी सुनौलो बिहानीको गाथा गाउँदैछौ रे
तिम्रो स्वागतमा
सदभावकै घडा सजाएर
समयले पर्खिरहेछ
सुनौलो बिहानी लिएर आऊ
साउनको भेलमा जीवनको बाजी थापेर
त्यही जीवन बचाउने साइला माइलाहरु
अझैपनि धाइरहेकै छन मान्छे बेच्ने बजार ।

समयको उछिन पाछिनलाई पच्छ्याउदै

बदलिरहने हावाका झोक्काहरु सँग
तिमी निर्मल र स्वच्छ
हावा बनेर आऊ
तिमीले फुकिरहेको आगो बालेर
उज्यालो रात लिएर आऊ ।
तिमीलाई जन्माएको मैले नै
तिमीलाई निडर बनाउने पनि मै हुँ
तिमी जस्तै निडर सन्तानहरुलाई कुरिरहेछु
अहिले पनि तिमीलाई कुरिरहेछु

No comments:

Post a Comment