Apr 3, 2015

बिरे











अविनाश भट्टराई

मलाई चिन्नु भयो हजुर?
उही क्या त,  बिरे 

पोहोर आउनु भाथ्यो'नि हाम्रो गाउँ
चुनाउको बेला
खेत देखाएको थिएँ बाढीले बगाएको 
छाप्रो चैँ पहिरोले पुर्यो भनेको थिएँ
जहान गुमाएँ मैले त्यही पहिरोमा
भनेको थिएँ-
दिन काटेको छु हेरेर रित्तो बगर 
रात काटेको छु ओढेर प्लाष्टिकको छानो    
"पछि शहरमा भेट्नु, व्यवस्था गरिदिउँला"
भन्नु भएको थियो नि
हो, त्यही बिरे हुँ हजुर
त्यही बिरे हुँ
काम -भारी बोक्ने

अझै चिन्नु भएन
चुनाउ जितेपछि तपाईले
मेरै रगत लाउनु भएको थियो नि निधारभरी
हरेक साँझबिहान
चौलिनुहुन्छ चामल मेरै पसिनाले 
बिरामी हुँदा तपाईं
पानी होइन मेरै पसिना चढाएका थिए डाक्टरले
तपाईंले पिउने 'रेड लेवेल' कि के रक्सी नि
मिसिएको त्यहाँ मेरै एकमुठी रगत    
तपाईंको मोटो सुनको सिक्रीमा
टाँसिएको मेरै पहेँलो छाला
हेर्नुस् मेरो पिठ्यू !  
भारी बोक्दा बोक्दा
तपाईं चढ्ने मोटरको पांग्राजस्तो
यी हेर्नुस् थाप्लो !
नाम्लो लाउँदा लाउँदा एक इन्चि तल धसेको
अब तपाईंले नचिने
मलाई मोदीले चिन्छन् ?

यो पटक तपाईंसँग
चामल छानो माग्न आएको हुइन

' यो देशको के हुँ ?' जवाफ खोज्न आएको हुँ        

No comments:

Post a Comment