May 22, 2010

सपना

- रमेश स्वप्निल
सपना
सपना नै हुन्छ
जबसम्म पूरा हुँदैन ।

डोकोमा दूध दुहुनेहरु
वा
आकाशमा खेती गर्नेहरु
कहिल्यै
सपनाको नजिक पुग्दैनन् ।

कुनै सपनाहरु
आगोको लप्काजस्ता
धारिला र तेजिला हुन्छन्

कुनै सपनाहरु
साँझ नपर्दै झर्ने फूलजस्ता
कोमल र नरम हुन्छन् ।

किन-किन
मलाई त
आगो बोकेको सपना नै मनपर्छ ।

हाम्रो सम्पूर्ण जिन्दगी
लगभग
एउटा सपना हो ।

No comments:

Post a Comment