Jul 11, 2011

शब्दहरुको महासम्मेलन होइन


 

समकालीन गजलाकाशमा विपल अकेला तारा हुन्, समर्जन ध्रुवतारा र म जूनकीरी । मलाई जूनकीरीसम्म बनाउने समर्जनसँगको सामिप्यता हो । विपलको भूमिकालाई पनि म बिर्सन सक्तिन ।

मलाई कवि बनाउने पवन, उसको सानो लाइब्रेरी र मेरो साहित्यिक प्यास ।
लाइब्रेरीमा खुसुक्क छिर्थेँ, किताब चोर्थेँ
कोठामा ल्याउँथेँ । त्यो पटक त गजल सङ्ग्रह नै परेछ । गजलकार को थिए. सङ्ग्रहको नाम के थियो, स्मरण भएन । गुलाबी रङको आवरण. केही पृष्ठ पल्टाइए. केही शेर लेखिए । चित्त खाएन, च्यातिए र फालिए । घडीको सुइले धेरै फन्को मार्यो । गजल सुनिएन पनि, लेखिएन पनि र पढिएन पनि ।

रहर र बाध्यता हुरी बनेर आयो, सुदीपलाई आमोद र सुमनलाई लोकस बनायो । हामीबीचको भौतिक, आत्मिक, वैचारिक हर दुरी छोटियो । फलतः एक अर्काको साहित्यिक प्रारम्भ, निरन्तरता र विकास महत्वपूर्ण भयो एक अर्कालाई । त्यस पहिले मेरो लागि न समर्जनसँगको साहित्यिक सम्बन्ध महत्वपूर्ण थियो न त गजल नै । तर अहिले त मलाई पर्याय हुन् गजल र समर्जन ।

मैले भर्खर गजलको आधारभूत
सरंचना बुझेको हुन्छु, 'बगाउन' (समर्जनको भाषामा) जान्न अझै बाँकी नै हुन्छ विपल अकेला गाउँबाट एक झोला गजल बोकेर आउँछन् र मेरो अगाडि थुपारिदिन्छन् । मेरो आँखाबाट हर्षासु खस्दछ । विपलको गाउँले कोशेली कम्ती मीठो हुँदैन, समर्जन र म बाँडीबाँडी खान्छौँ । विपलबाट हामी मौलिकता लिन्छौँ र उनलाई आधुनिकता दिन्छौँ । अन्ततः उनले बुझ्दछन् शब्दहरुको महासम्मेलन होइन साहित्य

(साउन ०६४, अप्रकाशित गजल सङ्ग्रह 'जिगिषा' को लागि लेखिएको भूमिका)

No comments:

Post a Comment