Jun 8, 2010

कविको मृत्यु

- नदीश
एकाविहानै, मुर्दा शहरको एक कुनामा
भेटिए सयौँ बेवारिसे लासहरु
मेरा निसास्सिएका आदिम सपनाहरु
हिँजै मरिसकेछन्

शदियौँदेखि जून उदाएकै हो आकाशमा
उदाइरहेछ आज पनि
र पक्कै उदाउनेछ भोलि

आगनभरि छरिएको जूनभित्र
आशाको खेती गर्थे कविहरु
रापिन्थे उनीहरु दिनभरिको चर्को घाममा
र हरेक साँझ
शीतलताको अघाउँजी बयान गर्थे

आज छरिएको छैन जून
कुनै पनि कविको आगनमा
मानौँ
यतिखेरको जून
विद्रोह गरिरहेछ कविसँग

एकाविहानै मुर्दा शहरको एक कुनामा
भेटिए सयौँ बेवारिसे लासहरु

बेखबर छ शहर !

आशाको खेती गर्ने एक हुल कविहरु
हिँजै मारिएछन्

No comments:

Post a Comment