Jun 26, 2010

२१औं श्रृङ्खलामा 'सृजना सागर'

ललितपुर १२ असारः सिर्जना सुन्ने र सुनाउने नियमित मासिक साहित्यिक कार्यक्रम 'सृजना सागर' को २१औं गद्यविशेष श्रृङ्खला ललितपुरमा सम्पन्न भएको छ । www.salambihani.com   र अखिल नेपाल लेखक संघ, ललितपुरको संयुक्त आयोजनामा विगत २१ महिनादेखि लगनखेलको नमुना उ. मा. बि. मा संचालन भइरहेको सो कार्यक्रम उपत्यकाका उदयमान सर्जक तथा राष्ट्रिय स्तरका स्रष्टाहरुको मिलनकेन्द्रको रुपमा अघि बढिरहेको छ ।

कवि हरि ब. कर्माचार्यको सभापतित्वमा सम्पन्न २१ औं श्रृङ्खलामा विश्वदर्शन, रमेश स्वप्निल, विशद, दृश्य लगायतका स्रष्टाहरुले लघुकथा सुनाएका थिए भने तिलक चाम्लिङ्ग, लक्ष्मी, नवराज क्षितिजलगायतका केहि स्रष्टाहरुले कविता पनि वाचन गरेका थिए र त्यस्तै गायक/संगीतकार सोनामले तारा थुलुङ 'अथाह' द्धारा रचित र आफैले सङ्गित भरेको गीत गाउनुभएको थियो । कवि नाकिमाले संचालन गरेको सो कार्यक्रम भानुभक्त एफ. एम. का कार्यक्रम संचालन देव 'अन्जान'ले वाचित रचनामाथि सटिक टिप्पणी राखेलगत्तै समापन भएको थियो ।

हरेक महिनाको दोस्रो शनिवार ११ बजे संचालन हुने 'सृजना सागर' को २२ औं अंक आगामी साउन ८ गते सोहि स्थानमा सम्पन्न हुदैछ । सबै श्रृङ्खलामा वाचित रचनाहरुमध्येबाट छनोटमा परेका सृजनाहरु समेटेर सङ्ग्रह निकाल्ने तयारीमा रहेको बताउदै आयोजकले सबै ईच्छुक सर्जक तथा स्रोताहरुलाई आगामी अंकहरुमा उपस्थितीको लागि आह्वान समेत गरेका थिए ।

No comments:

Post a Comment