Aug 14, 2011

रङ्गिन साँझ

प्रतिमा पाठक
             क्रान्तिकारी दर्शन र रुमानी भोगाइ सँगसँगै उडेका छन् हावा- हुरी चलेको यॊ विशेष साँझ । पानीको प्राथमिक बाछिटाका चुटाइ र उडेका पातहरुले तहल्का मच्चाइदिएका छन् सुन्दर अनुभूति बनेर । हृदयभित्रको प्रेम साँच्चै यस्तो चीज भइदियो जो उडेन यी पातहरु जसरी अरुले देख्ने गरी । मुटुभित्रै जमेन पनि ढुङ्गा झैँ  बिझ्ने गरी । बरु मेरो उद्देश्यको प्रतिबद्धता र सपनाको संवेदनशीलतासँग यसरी सङ्लिएर बगिदियो जीवनमा बग्ने हर बाढी भेलको मैदानमा पनि कि म सदैव यसको काचनताको ऋणी रहनेछु । जसले प्यास होइन उल्लास जगाएको छ तृप्तिको । हारको जलन होइन शीतलता दिएको छ प्राप्तिको । प्रेरणा दिएको छ समर्पणको ।
       पूर्वी आकाशमा कालो बादल गर्जन लगाइरहेछ । पश्चिम आकाशको सेतो बादल फाटेर धर्तीलाई चियाउन निस्केका सुनौला किरण यी मस्त नाचिरहेका भिन्नभिन्न हरिया आकृतिहरुमाथि पर्दा अनौठो परावर्तन भएको छ रङ्गिन भोगाइहरुको । लाग्दैछ सबै प्राणी कालो युगको बिरुद्धमा छन् र गर्जिनको लागि तयार छन् नव युगलाई निम्त्याउन । यथास्थितिलाई मृत घोषित गर्न हरेक लताहरु फर्फराइरहेछन् क्रान्तिको ध्वजा बनेर । चराहरुले आफ्नो वर्गीय गीत गाएझैँ लाग्छ स्वतन्त्रताका सेनानी बनी । यस ऋतुमा सुनिने यी पंक्षीको कुहू…॥कुहू को रटाइले नाराबाजी गरे झैँ लाग्छ र लाग्दैछ…बतासहरुले यो ध्वनीलाई यी हरिया डाँडाका पर्खालभन्दा पारि-पारिसम्म पुर् याइरहेछन् । सम्पूर्ण दृश्य नै सुनौलो भएर छरिएको छ । लाग्दैछ- हामी सबै सबै प्राणी सबै मानव एउटा युगीन युद्धको अन्तिम तयारीमा छौँ जसको जीत निश्चित छ। बिल्कुल अस्वभाविक लागिरहेको छैन यो साँझमा मभित्रको मानवको दार्शनिक उहापोहहरु ! आखिर कसरी नजरअन्दाज गरिदऊं विश्वलाई एकै सुत्रमा बाँध्ने प्रकृतिको यो अनुपम भोगाइ…यो ज्वलन्त आह्वान ! यस्तो पनि लाग्दैछ…॥यो तयारी वनभोजको हो विजयउत्सवको हो । हर्षोल्लास छ चारैतिर…। मनभित्रको तस्विर पनि पल्लो किनारमा बसेर हाँसिरहेछ…।मलाई भनिरहेछ आखिर हामीले यही नै त सपना देखेका थियौँ । हो दुविधाहरुको अन्त्य भएपछि मात्र द्वन्दको पाइला सुरु हुन्छ परिवर्तनको लागि । मैले पनि त दुविधाको अन्त्य गरेर द्वन्द्व सङ्घर्षको थालनी गरिदिएको थिएँ सपनाको सम्मान र शान्तिको निम्ति !
            झरी झन्झन् आक्रामक भएर दर्किन थालेको छ । स्वभाविक रुपमा दृश्यहरु गोधूलि प्रहरसँगै अँध्यारिन थाल्दैछन्……रक्तिम क्षितिजहरु काला बादललाई समाहित गरेर हरिया खम्बाहरुलाई पखाल्दै गइरहेछन् । निशाले झम्टिएर सबै रङ्गहरुलाई एउटै रङ्गमा डुबाइदिएकी छ । तर यो समयको प्रतिकि्रयावाद होइन सुरुवात हो…रात्रिकालिन दिवसको ! एउटै वर्गमा बेरिएका छन् अब सबै प्राणीहरु कि सबैलाई प्रतीक्षा छ त केवल भोलिको मिर्मिरेको । यस युगको स्वर्णिम रुपान्तरणको । किनकि मैले पनि स्वयम् आपैषसँग आपुनो युगको लागि प्रतिबद्धता गरिसकेको छु कि जिन्दगीको अन्तिम साँझ यो साँझप्रति सदा आभारी रहनेछु जसको उत्प्रेरणा र मार्गनिर्देशनले मेरो यसरी दूरगामी उपचार भएको छ ।
हुरी रोकिएपछिको भोलिको बिहानको मौनतामा मानवताका वर्गशत्रु सोत्तर भएको कल्पनाले मनलाई आल्हादित बनाइदिन्छ। फेरि सुनौलो बिहानीले सम्पूर्ण योद्धाहरुलाई सलाम गर्दै लाल अभिवादन टक्र्याउने छ। सलाम बिहानी ! सम्पूर्ण बाल बृद्धा युवा दस्ता र चराचुरुङ्गी सबैले यही सम्बोधन गर्नेछन् त्यो नव दिनको । साँच्चै क्रमिक बढ्दो गतिमा दर्कदै गरेको झरी मनलाई आत्मविश्वास र सपनाहरुले उद्धेलित गराउने बतास…मोर्चामा ठडिएका यी वृक्षहरुले सुसेलेको आवाज गर्जिरहेका मेघहरु ऊर्जाशक्तिको बोध गराउँदै चम्किरहेको बिजुली सम्पूर्ण स्थितिलाई नियालेर मेरो मनका भावहरुमा विजयको उत्घोष मिसाई गाइरहेका पंक्षीहरु…॥प्रेमिल जोडीहरुको भोगाइको सौन्दर्य दर्शाउने मिलनको आश्वासन दिलाउने यो श्रृङ्गारिक साँझ……
            वास्तवमै एंगेल्सले त्यसै भनेका होइनन् हाम्रा निम्ति सोचिदिने दार्शनिकहरु र जुधिदिने श्रमजीविहरु भएपछि संसारमा के कुनै त्यस्तो शक्ति हुन सक्ला जसले हाम्रो प्रगतिलाई रोक्न सकोस्  नव दिनकॊ मात्रै होइन…॥नव युगको शुभकामना दिन्छु नव अभियानको प्रस्तावनासँगै !

No comments:

Post a Comment