Feb 20, 2012

के जिन्दगी भनेको यही हो

प्रतिमा पाठक

आकाशमा बाटो खन्दै
एकाबिहानै धर्तीसम्म आइ
मेरो चिसिएको मुटुसम्म पसेको
यो सुनौलो घामलाई सोधेँ
बिहानी हुनु भनेको यही हो ?

सधैँ सधैँ आँखा अगाडि उभिएर
मेरा हर आँशु र हाँसोको साक्षी बनेका
ती पुराना वर पीपललाई सोधेँ
के धैर्यता भनेको यही हो ?
दृढता भनेको यही हो ?

हिजो साँझ आफ्नै गुँडमा फर्केर
फेरी बिहानै
आफ्नो जम्बो टोलीसँग फिर्ता भएका
यी पंक्षीहरुलाई सोधेँ
के जिजीविषा भनेको यही हो ?
संघर्ष भनेको यही हो ?

सधैँ सधैँ एकतमासले उत्तरतिर ठडिएर
मेरा मौन प्रश्नका उत्तर दिइरहने
यी दुई पहाडसँग सोधेँ
के विश्वास भनेको यही हो ?
साथ भनेको यही हो ?

आखिर
बिहानी उज्यालो धैर्यता दृढता
संघर्ष विश्वास अनि साथ…।
कच्चापदार्थ हुन् जीवन निर्माणको
फेरि किन रित्तिएर म
अनौठो पीडाले अन्यौल हुँदै
म आफ्नै जिन्दगीसँग
मात्रै प्रश्न गर्दैछु अचेल
के जिन्दगी भनेको यही हो ?

No comments:

Post a Comment