Apr 2, 2011

बज्यै

 नदीश

ती, आकाश हेरेर
आँशुलाई मोती भन्नेहरु
आफैले नबुझ्ने के-के जिनीस लेखिबस्दारैछन्
आँशु मोती भैदिए
तिमी पनि डाँको छोडेर रुन्थ्यौ होली बज्यै
र यसरी आँशु पिउनुको साटो
माथ्लाघरे मुख्याबाको भन्दा'नि ठूलो कौशीमा बसेर
पिउँथ्यौ होली
एक बटुको गोरस

निश्चित छ यो बर्ष पनि
पोहोर सालभन्दा दुगुना भारी बोकेर
झिसमिसेमै उकालो लाग्नेछन् नातिनीहरु
र शहरमा
निजी स्कूलहरु थपिनेछन्

निश्चित छ यसपाली पनि
शहर छिर्नेछन् केही भूराहरु
र बर्षदिनमा एकचोटी
टुप्लुक्क झुल्किनेछन् गाउँमा
आफ्नै दावँलीलाई
कुनै अजीव लोकको
अनौठो जीवलाई हेरेजस्तै गरी
टाढाबाट एकोहोरो हेर्नेछन् नातीहरु

गत साल
कुन्नि के जातिको सङ्गठनले हो
तिम्रै खड्कुराका दाउरा झिकेर
लगाइदिएथ्यो दौरा-सुरुवाल
सिउरिदिएथ्यो ढाकाटोपी
र घुमाएथ्यो सिङ्गो गाउँ
यो देखेर कम्ता रिसाकाथेनन्
माथ्लाघरे मुख्याबा
कस्तरी खनाका'थे उन'रुले
एक जर्किन मट्टीतेल
र दन्किएथ्यो आगो
सिङ्गो गाउँ उज्यालिनेगरी
मुटु चसक्क पारेर
तिमी भने एक तमासले सोचिरहन्थ्यौ
यत्तिका मट्टीतेल तिमीसँग भैदिए
कत्ति महिना टुकी बाल्थ्यौ होली
कत्ति महिना सहजै आगो सल्काउँथ्यौ होली

उता
रेष्टुरेन्टमा झुण्ड्याइएका
गाउँका तस्वीरहरु हेर्दै
सुन्दर गाउँले जीवनको कल्पना गर्नेहरु
शहरलाई अघाउँजी गाली गर्दारैछन्
उता शहरमा छापिने किताबले यसै भन्छ बज्यै
'पसिना रोपे अमृत फल्छ'
यो तीनबीसे जिन्दगीमा
पसिना भन्दा अर्थोक के नै रोप्यौ र तिम्ले
जीवन सेतै फुलिसक्दा
दुई जोर बन्धक आँखाहरु
जो फर्कलान्-नफर्कलान् ठेगान छैन
बस्
तिमीले पाएको यत्ति न हो ।

जिन्दगी, दुई दिनको भैदिए बज्यै
भोकै पनि कटाइदिन्थ्यौ होली
हाँसेरै बिताइदिन्थ्यौ होली ।

1 comment:

  1. यसलाई निर्धक्कका साथ राम्रो कविता भन्न सकिन्छ, तर यी मुद्दाहरु बासी भइसके कि ? अनि आफ्नै शिल्प निर्माणबारे पनि सोच्ने हो कि? अलग अभियानमा कविताको विषय र शिल्पबारे अर्को स्तरको चिन्तनको आवश्यकता भइसक्यो ।

    ReplyDelete