Feb 26, 2015

कैदी सम्भावनाहरु










प्रतिमा पाठक


यहाँ कलिला देवकोटाहरु पत्रिका बेचिरहेछन्
फूल बेच्छन् पारिजातहरु राजमार्गको देउरालीमा
विध्यापतिहरु ठेलामा तरकारीको लय मिलाउँछन्
शंकरहरु रेस्टुरेन्टमा काट्छन्
"एब्स्ट्राक्ट चिन्तन प्याज!"
भुपी र रिमालहरु गिलास भरिदिन्छन्
फनफनी घुमुन्जेल
आमाका सपनाहरु ...
एमिलि  डिकिन्सनहरुमा
डिप्रेसन छ करिएरका लागि    !

तेन्जिङ्हरुले त सधैं बोकेकै छ्न्
हिलारीका भारीहरु !
यहाँ एक्जिबिसन त लागोस्
कैदी सम्भावनाहरुको
हरेकका आँखाभित्र झल्किन्छ अपराध
उन्मुक्त सपनाहरुको ...
यहाँ फेसबुकको प्लास्टिक भित्ताहरुमा
ठोकेर अहमका मुड्किहरु
गरिरहन्छौँ अभ्यास कलात्मक बक्सिङ्गको
उता दोर्जेले च्याँग्राको सिङ्लाई
बनाएर बाइकको ह्यान्डल
स्टन्ट बाँच्छ जिन्दगी !

'रिकग्निसन' त देखिनेको हुन्छ
हाम्रा पहाड पछाडि ,
हिमाल मुनि
र फाँटहरुभित्र
कति ओस्कार बेकार गएका छन्
कति नोबेल ओझेल परेका छन्...

सबैतिर सुनिन्छ "क्वालिटी छैन यहाँ!"
'मान्छे'ले बाँच्नुपर्ने जीवनको क्वालिटी
कस्तो हुन्छ हँ ?

2 comments:

  1. एमिलि डिकिन्सनहरुमा
    डिप्रेसन छ करिएरका लागि!

    ReplyDelete
  2. Recognition ta nadkhine ko hunxa woww really awesome line

    ReplyDelete