Feb 22, 2015

तिम्रो होइन म














नाकिमा

मूलबाटोमा दौडदा–दौडदै लडेको छु
ढुङ्गामा घुँडा ठोकिएको छ
चोट लागेको छ
रगत बगेको छ
अनुहार अमिलो पार्दै
धूलो उठाएर घाउमा दलेको छु
उठेर फेरि कुदेको छु
हो,
त्यही मूलबाटोको हुँ म
त्यही ढुङ्गा र धूलोको हुँ म

मैदान र कान्लामा घाँस काटेको छु
घाँस काट्दा हात पनि काटेको छु
हतार–हतार तितेपातीको पात टिपेको छु
निचोरेर घाउमा हालेको छु
थाङ्नाले घाउ बाँधेर
फेरि घाँस काट्न थालेको छु
हो,
त्यही मैदान र कान्लाको हुँ म
त्यही घाँस र तितेपातीको हुँ म

दाउराको भारी बोकेर
‘खुइय्य’ गर्दै उकालो चढेको छु
वरपिपलको फेदमा
चौतारीमा बिसाएको छु
पिपलको पात नचाउँदै
सिरसिर चलेको हावा खाएको छु
ज्यान–मन हलुका बनाएको छु
हो,
त्यही उकाली र चौतारीको हुँ म
त्यही सिरसिरे वतासको हुँ म

खनिसक्नु पर्ने मेलो हेर्दा
बिहान हतास भएको छु
झरीमा रुझ्दै
घाममा डढ्दै
बेलुकी खेत खनिसकेको छु
सिरानदेखि पुछारसम्म
आफूले खनिसकेको खेत हेरेर
ठूलै युद्ध जितेझैँ रमाएको छु
हो,
त्यही खेतको हुँ म
त्यही माटोको हुँ म

ओ सहर !
तिम्रो हुँदै होइन म
तिम्रो हुनै सक्दिन म 

No comments:

Post a Comment