Feb 28, 2015

क्यानभास जस्तै मेरो देश









मञ्जु मार्मिका 

एउटा बृहत प्रर्दशनी कक्षमा
उस्तै गरी झुण्ड्याइएकोछ
एउटा विशाल क्यानभास
न पोतिएका छन् त्यहाँ कुनै रङ्ग
न बनेका छन् कुनै तस्विर
राखेर खाली क्यानभास
मानिसका हुल
त्यही तमासा हेर्न लामबद्ध छन्
पोत्न नसकिएका रङ्गहरु
छरपष्ट छन् वरिपरि
कहिले पश्चिमे हावाको झोँक्काले
पूर्वतिर पुर्याउन खोज्छ
कहिले दक्षिणको हावा आएर
उत्तरतिर पुर्याउन खोज्छ
केवल हल्लिइरहेछ क्यानभास
यसैलाई सुन्दर देख्नेहरु
एक पटक छोएर जान्छन्
यसको दुःख बुझेर जान्छन्
एउटा कसिलो सङ्कल्प बोकेर
व्यथा नबुझ्नेहरु
एक झल्को हेरेर
एक मुस्कान हाँसेर जान्छन्
क्यानभास त दोषी थिएन
असल कलाकारको अभावमा
बेवारिसे भै झुण्डिरहेछ
जसरी हल्लिरहेछ मेरो देश
सदाबहार हावाको स्पर्शसँगै
झिनो आशा बोकेर
अडिएको क्यान्भासमा
समयको आँधीसँगै
पोतिनेछन् एकदिन
वरिपरि छरिएका रङ्गहरु
अनिमात्र मुस्कुराउनेछन्
खालि क्यानभासलाई सुन्दर देख्नेहरु 

No comments:

Post a Comment