दीपा राई पुन
यो प्रवासमा-
विकासका बाटाहरुले
क्षितिज छोएको देख्दा
म आफ्नै देश
यतै कतै टिल्पिलाएको देख्छु
लाग्छ,
यत्ति व्यवस्थित किन?
गोरेटो मात्र पुगे हुन्थ्यो मेरो गाउँ
चिटिक्क सुन्दर घरहरु
लस्करै देख्दा
म गाउँ बेसी र पाखामा
भिरालो भित्ता
र,
तुइन चड्दै पुग्ने
कतै खोला तर्दै जाने
मेरो ओतमा
घाम पानी नछिरे हुन्थ्यो
विद्युतीय रेलले
दुरी नाप्दा
म पहाड चढ्दै
सुरुङ् खन्छु मनले
मेरो भरिया दाइले
पसिना चुहाउँदै
पिँडौलामा गिर्खा
उमार्न नपरे हुन्थ्यो
समयको काँटासँगै
बस स्टेसनमा बस उभिँदा
मान्छेले समयलाई ख्याल गर्दै
आफ्नो गन्तव्यमा एक सेकेन्ड ढिलो नगर्दा
मेरो रानीपोखरीको घण्टाघर
स्थापनाकालदेखि रोएको देख्छु
मेरो विश्वविद्यालय
वर्षौँ देखि विक्षिप्त छ
कहिले चुट्टिएर
कहिले जलेर
घाउको टाटासँग
कसरी सपना आघात भएको
लामो लिखितम देख्छु
समय हारेको देख्छु
ज्ञान रोएको देख्छु
मान्छे भित्रको अभिमान मात्र
दनदनी बलेर रापमा
आफू पनि होमिदै
देशलाई तानेको देख्छु
देशलाई घचेटेको देख्छु ।
No comments:
Post a Comment