Feb 20, 2011

धनियाँको अचार

अस्मिता मानन्धर

ऊ जानुअघि 
हरिया धनियाँहरू पिनेर
खुवाएथेँ ।

हरिया धनियाँहरूसंगै 
धेरै माया मीठो पसिना 
र सुनौँलो भविष्यको कल्पना
पिनेर
उसैलाई खुवाएथेँ ।

ऊ गैसकेपछि
मेरा बारीमा धेरै धनियाँहरू छरिएर उम्रिए
म प्रत्येक धनियाँका बोटहरूलाई
अगाध मायाले
सिँचिरहेछु प्रत्येक दिन
तर, प्रत्येकपटक
छिप्पिदै-वैलाउदै छन् 
मेरा बारीका धनियाँहरू ।

सम्भवतः ऊ गैसकेपछि
उतैको धनियाँले तानेजस्तो छ 
उतैको मिश्रण मन परेजस्तो छ
मेरा बारीका धनियाँहरूजस्तै
म पनि सायद 
कहिल्यै याद आइन ।

अहिले
त्यहीँ धनियाँहरुसंगै
चाउरिएका छाला, तीता आँसु
र विक्षिप्त सम्झना मात्र होइन
आफ्नो जिन्दगी नै पिनेर
अचार बनाइरहेछु ।

5 comments:

  1. शैलीमा जादु, स्पष्टतामा अस्पष्टता ।

    ReplyDelete
  2. यसरी ठूलो/गम्भीर विषयलाई पनि सरल/सहजताका साथ प्रस्तुत गर्ने अस्मिताको शैलीदेखि प्रभावित छु म । समाजमा विद्यमान अन्तरविरोधहरुलाई पनि उनले आगामी कवितामा स्थान दिनेछिन् भन्ने कुरामा पनि आशावादी छु ।

    ReplyDelete
  3. साँच्चै शैलि मिठो छ धनियाको अचार भन्दा तर
    आफ्नो जिन्दगी नै पिनेर
    अचार नबनाउन अनुरोध गर्छु ।

    ReplyDelete
  4. सरल शब्द, सरस शैली !

    ReplyDelete
  5. चाउरिएका छाला, तीता आँसु
    र विक्षिप्त सम्झना मात्र होइन

    आफ्नो जिन्दगी नै पिनेर
    अचार बनाइरहेछु

    ReplyDelete