Apr 19, 2010

ऊ पहाड र म शहर

- शकुन आँशु
उस्को दुखिरहने मन
म सँगै धड्किरहने मुटु
एकैसाथ पोको पारी
कागजी हस्ताक्षरहरुमा
बन्द गरी पवनपंक्षीलाई पठाइदिएछ
मेरो निवाससम्म

उसको आकस्मिक आगमनले
मेरा अपूर्णभैष लाग्ने जीवन
सार्थक तुल्याइदियो
तड्पिएकॊ मन शान्तभैष पाएँ
उस्को यथार्थ जीवन-मृत्यु
संगालेँ र बगाएँ
खुसीका विष्णुमतीहरु
उस्कै समिप बसेर

हिमालपारिको नागरीक ऊ
चौंरी र भेडीगोठ धाउने
काचनजङ्घा र टाकुरा छुने
ठन्डी-ठन्डी पहाडहरुमा
इमेल मोबाइल जाम हुन्छ
त्यसैले उस्ले आफ्ना आवाजहरु
पानामा रेकर्ड गराएर
स्नेह स्पर्श कोरी पठाएको छ

आधुनिक परिबेशको प्रेम
अस्पष्ट भाका थिएन
ऊ आधुनिक मान्छे
म आधुनिक मान्छे
इतिहासले सिकाएको छ
प्रेमिल मनहरुको एकात्मकता र बाहुल्यता

उसले पढेको
र मैले सुनेको
सान्सारिक प्रेमजोडीहरु
रोमियो-जुलियट
मुनामदन
लैला-मजुन र
मधुमालतिको कथा
तर
तर त्यस्ता एकादेशीय
र अलौलिक कथा भएनौँ हामी
हामी त स्वयम् हिमाल पहाड र धरती चिर्ने यथार्थताको
शास्वत अंकित छाप बन्यौँ
हिमाल छातिमा
पहाड काखमा
गगन आँखामा
नचाएर बाँचिरहेछ

हरेक ऋतुहरुमा परिवर्तन छैन
हरपल माघे जाडो
र पनि जाडो नभनिकन
भोक नभनिकन
नाङ्गो शरीर नचाएर
संघर्षै-संघर्षको पेरीफेरीमा रमाइरहन्छ ऊ

तिमी बहादुर छौ महान छौ
र धैर्यवान पनि छौ
तिम्रो मतको पर्याय हुँ म
तिम्रो निर्णयको भागीदारी हुँ म
भविश्यका सुनौला मार्गहरुमा
तिमी अगाडि छौ
भयङ्कर ग्रेटवालमाथि
तिमी उभिनेछौ
र विश्वको ताजमहल तिमीले ठड्याउनेछौ

मैले उसलाई
यसरी नै पठाएँ जवाफिला उपहारहरु
म सुसेल्छु उस्को निम्ति
ऊ बग्छ मेरो निम्ति
दुरसंचार र दुरभास बिनाको
हाम्रो आत्मिक प्रेम
पहाड र म शहर ।

No comments:

Post a Comment