Jan 11, 2011

परिवर्तन

- स्व.स्वप्निल स्मृति

हिउँदे दिन
राजमार्गका नाङ्गा रुखहरु पढेर
ती हरुले भने-
हावा मरिसक्यो ।

नाङ्गा रुखमा चराका
पुराना गुँडहरु औंल्याएर
ती हरु चिच्याए-
गीतको मृत्यु भयो ।

रुखमा अल्झिएका चङ्गाहरु हेरेर
ती हरुले खित्का छाडे-
बस्तीमा केटाकेटीहरु मरिसके ।

नाङ्गा रुखहरुमा फूल नदेख्दा
ती हरुको ठहर थियो-
सबै तन्नेरीहरु बुढा भइसके ।

तर एकदिन-
रुखमा रङ्गीन पातहरु पलाए
पातहरुमा हुरीले नाच्यो-
नूतन नृत्य
चराहरुले बनाए नयाँ गुँड
र गुन्गुनाए-
स्वतन्त्रताको मन्जुल गीत
आकाशमा उडे-
असरल्ल बेलुन र चङ्गाहरु
दौडिरह्यो राजमार्ग-
वेगवान् पहाडी नदीझैं
तन्नेरीहरु छालझैं सलबलाए ।

त्यतिखेर ती हरु मरिसकेका थिए ।

No comments:

Post a Comment