Jan 14, 2011

आदिवासी

- भोगीराज चाम्लिङ
निरपराध मन
सेतै फुलेका कपाल
दाँत फुक्लेकी बूढी
निश्छल हाँसो
सरल इमान
र जमिन खोस्रिरहेको किसानको आदि-सुगन्ध
ऊ सम्झना गरिरहेछ इतिहास
आफ्नी आमाको

सङ्घारमा खुट्टा टेकाएर
एकनासले रातो क्षितिज नियालिरहेका
नीला आँखाहरु
औँला भाँचेर हिसाब गरिरहेको
रिसाएको झोक्किएको
क्रुद्ध र आक्रोशितजस्तो
ऊ खिचाइरहेछ आफ्नो
नौजवान तस्वीर आजको

आङको नाङ्गो तस्वीर
र पार्श्वको रामझुपडी
गरिबी पोकेको भाँडो
र बच्चाहरुका उदास आँखा
यी सबैलाई गोली मारिरहेको
दूरदराजको दरबार
र पहरा दिइरहेका शस्त्रधारीहरु
स्वर्गको ठेक्काघर ! मन्दिर
छल गरिरहेका पुजारीहरु
अग्ला महलहरु
र मुलुक मिचिरहेको संवेदनाहीन सहर
आँगनको डिलमा उभिएर
ऊ गमिरहेछ-
आखिर किन यस्तो
तर उसलाई प्रस्ट थाहा छ-
उसको अंश मिच्ने सहोदर
र कपटी पण्डित
आखिर यी दुबैमा कुनै भेद छैन
यी दुवैसँग उसको `विरोध छ`*

राजधानीभन्दा धेरै टाढा
उपनिवेशजस्तो गाउँको बासिन्दा हो ऊ
एउटा झन्डा चाहन्छ-
उसका बृद्ध बाआमाहरुलाई छहारी
उसका बच्चाहरुले राष्ट्रिय गान बजाएर गाउन मिल्ने
उसलाई आफ्नो शत्रुको जयगान गरिएको राष्ट्रिय गान मन पर्दैन
उसको घरको चारिकिल्लाको संरक्षक
अर्थात्
ऊ आफ्नो घरबासको स्वायत्तता चाहन्छ
हो ऊ यस्तो राष्ट्रिय झन्डा चाहन्छ ।
____________________
*कवि विमल निभाको `मतभेद` कविताको अंश
source: www.alagabhiyan.blogspot.com

No comments:

Post a Comment