Mar 6, 2011

भूत

विशद

 

मार्टिनकी आमा नातीलाई सँगै च्यापेर सिकागो शहरको सडकमा ओर्लिइन् । उनीसँगै सडकमा ओर्लेका हजारौ अमेरिकीहरु प्रेसिडेण्ट चुनावको नतिजा सुन्न निकै व्यग्र थिए । सडकको ठूलो टिभीस्क्रिनमा नतिजा देखाइनुअघि सबैको धड्कन एकदमले रोकियो ।

धेरैले सोचेजस्तै मिस्टर ओबामाले बाजी मारे । मार्टिनकी आमा आँखामा रसाएको आशु पुछ्दै नातीसँगै जोडजोडले उफ्रिइन, ताली बजाइन्, लगभग नाँचीन्। त्यो भीडको मन्चमा सुन्दर श्रीमती र छोरीको साथमा अमेरिकाका पहिला काला प्रेसिडेण्ट मिस्टर ओबामा आइपुगे । मान्छेहरुले यो रोमान्चक माहोलको पुरापुर आनन्द लिए । जब ओबामाले इराकबाट एक वर्षमै सेना फिर्ता बोलाइन्छ भनेर भाषण गरे गड्गडाहट तालीले सिँगो आकाश थर्कीयो । त्यो गड्गडाहटमा मार्टिनकी आमाको ताली सबैभन्दा चर्को सुनिन्थ्यो । अब उनलाई पक्का विश्वास भयो उनको सैनिक छोरो जो धेरै डलर बटुल्ने सपना लिएर इराकमा खटिएको थियो अब ठिकठाक घर फर्कनेछ । उनलाई विश्वास यो कारणले पनि थियो किनकी यो पालीको प्रेसिडेण्ट उनकै काला जातिमध्यको एक थियो ।

मार्टिनको बुवा पनि सेनामै थिए । केहि वर्षअघिसम्म उनी अफगानिस्तान युद्धमा खटिएका थिए । एकदिन अचानक जागीर छोडेर उनी घर फर्किए । मार्टिनकी आमाले धेरैपल्ट कारण सोधेपछि उनले भनेथे "यहाँ गोराले हामी कालामाथी हेप्यो भनेर उठ्ने हातले अब साम्राज्य बढाउने नाउमा निर्दोष अफगानीको हत्या गर्न सक्दैन ।" घर फर्किएको भोलीपल्टबाटै धेरै मिडियाले उनलाई गद्दारको उपमा दिन थाले र अन्ततः त्यहि कारणले उनले आफ्नो मानसिक सन्तुलन गुमाए । आफ्नो अन्तिम घडिमा मार्टिनको बुवा "भूत ! भूत !" भन्दै कराउदै मरे । त्यसपछिदेखि नै इराकमा रहेको आफ्नो छोरोको चिन्ताले मार्टिनकी आमालाई पिरोल्न सुरु गर्यो ।

ओबामा प्रेसिडेण्ट चुनिएको एक दुई तीन वर्ष बित्यो । इराकमा हजारौं मान्छे मारिएको समाचारले मार्टिनको घर झन्-झन् त्राशमय हुन थाल्यो । मार्टिनकी आमाले दिनहुँजसो आशा लाग्दो आँखाले फ्रेममा सजिएको ओबामाको तस्विर हेर्न थालिन् ।

सन् २०११ को नोभेम्बरको एउटा चिसो साँझमा टिभीले फुक्यो उनको छोरो पनि अब कहिल्यै फर्कन नसक्ने भएर यो संसारबाट विलाएको खबर । उनी एकदमै ढुँगाजस्तै भइन् विल्कुल गतिविहिन । फेरि अचानक उठिन् उनी र बिस्तारै बढिन् कालो प्रेसिडेण्टको तस्विरतिर । उनले त्यो फ्रेमलाई जोडले भुइँमा पछारिन् । फ्रेमको सिसा ठूलो आवाज आउने यरी फुट्यो । त्यसपछि उनले फुटेको फ्रेमबाट ओबामाको तस्विर निकालिन् । फोटो च्यातचुत पारिन् । नातितिर फर्किएर उनले सानो स्वरमा बोलिन् "बाबु ! त्यो ह्वाइटहाउसमा जो आएपनि अन्त्यमा भूत बन्छ भूत मान्छे मार्ने भूत ! त्यहाँ कहिल्यै नजानु है ।" बुढी फेरि पागलझै हाँस्न थालीन् ।

3 comments:

  1. राम्रो ! आख्यानमा पनि विशदजीको विशद सम्भावना छ । त्यसलाई पुष्टि गर्दै आउनु भएको छ । प्रस्तुतिमा चाहिँ नवीनताको अपेक्षा गर्छु ।

    ReplyDelete
  2. सम्भावना यस कथाबाट पनि देखिएको छ । निरन्तरताको दिनुहोला !!

    ReplyDelete
  3. mithasta ma halka kami bhayo ki bishad g .... tara taipaile uthan garne bisayabasthu lai maile salam garchhu!

    ReplyDelete