नमन अणु
बाटोहरु-
माकुराको जालो भई
नागबेली लाहरा जस्तै जेलिएका छन्
हातको किरिङमिरिङ रेखाहरु झैँ फिँजिएर
यसरी कहाँदेखि कहाँसम्म पुगेर
अन्त्य भएका छन्
त्यो मलाई पनि यकिन थाहा छैन
सदियौँदेखि-
बगाउँदै मोतीको दाना
यही बाटो भएर भरिया दाइ
ढाकर र टेकुवासंग रमाउँछ
र कहाँ निर पुगेर जिन्दगीको भारी बिसाउँछ
त्यो पनि मलाई यकिन थाहा छैन
महान विचार बोकेर
हजारौं जात्रीहरु, दिनहुँ यही बाटो-
राजमार्ग भएर जान्छन्
पृथ्वीको कुन भू-भागमा पुगेर
थकित गन्तव्यको पाइलाहरु
अन्त्य हुन्छन्
त्यो पनि मलाई यकिन थाहा छैन
म जन्मेको यतिका वर्ष हुँदा पनि अबुझ छु म
अब, नसोध्नू मलाई
यो बाटो कहाँ जान्छ भनेर
पूर्खाहरुलाई सोध्दा भन्छन्
यो बाटो युगौँ-युगदेखि
हामीले थाहा पाएदेखि यहीँ छ
मेरो अनुमानमा-
आदिम दिनहरुमा नै यो बाटो खोस्रेको हुनुपर्छ हाम्रै पूर्खाहरुले
र त बामे सरिरहेको छ निरन्तर-निरन्तर
हाम्रो जिन्दगीको हर सफरहरु...
No comments:
Post a Comment