अग्लिरहेका इँटका पर्खालहरुभित्र
म आफूलाई होचो देख्छु, सार्है होचो
मेरो उचाई घटिरहेछ निरन्तर
म डल्लो देखिरहेछु सधैं
सिमेन्टका पिलरहरु तन्किरहेछन् दिनदिनै
पातलो शरीर भएर पनि च्यापिन्छु गल्लीहरुमा,
रोकिन्छु यात्राहरुमा
अगाडि चौतारो भएर सुस्ताउन कहाँ हो र ?
वारिपारिकाले मलाई खिसी गरेझैँ लाग्छ
म निसास्सिरहेछु आफ्नै आँगनमा
बन्दी छु आफ्नै कोठामा
म गुम्सिरहेछु काठमाण्डौमा ।
सन्ध्यामा केहीबेर लहडिन मन लाग्छ
अझै त मेरा अघिल्तिर
अन्तरे बाको धोतीजत्रो
खाली जमिन त छ नि
त्यहीँ फुल्छन् लालुपाते र गोदाबरी
फल्छन् नास्पाती र आरुहरु
चारैवटा जुनकिरी झुल्कन्छन् साझँमा
काग र भँगेरा बोल्छन् गोधूलीमा
सानो टुक्रो आकाश धमिलिन्छ बादलमाथि
अनि चर्का फ्लड लाइट्, नियन लाइट्, ट्युव लाइट्
बल्छन् बस्तीहरुमा
सडक उजेलिन्छ,
पार्कभित्र भरिन्छ प्रकाश
चोकहरु टल्किन्छन् बत्तीहरुले
झ्यार्र कोरेर सलाई
म बाल्छु सकिनै लागेको मैनबत्ती
तर मेरो मन-बत्ती कहिल्यै बल्दैन
कहिल्यै उजेलिन्न प्रकाशमा
यो उज्यालोभित्रको अँध्यारो शहरमा ।
मलाई थाहा छ,
मेरो अगाडिको चारआना जमिन
भोलि कसैले किन्ने छ
नोटहरु ओछ्याएर
त्यहाँ ठड्याउनेछ पाँचतले महल
रँग्याउनेछ लालुपाते रंगले
अनि त्यहाँ कहिल्यै फुल्ने छैन लालुपातेहरु
त्यहाँ फल्ने छैन आरु र नास्पातीहरु
बरु उसको लिभिङ रुममा हुनेछ,
प्लस्टिकका स्याउ र सुन्तला ।
त्यहाँ जुनकिरीहरु बिलाउनेछन्
काग र भँगेरा पनि बँसाइ सर्नेछन्
अनि म चढ्नेछु घरको छतमाथि
टोल्हाउनेछु हेरेर एक टुक्रो आकाशमा
र भन्नेछु, ताराहरु त छन् नि काठमाण्डौमा ।
सास फिल्टर हुन छाडिसक्यो अब
यी नासिकाका रौंहरुबाट
कार्बनमोनक्साइडले जितिसकेको छ वायुमण्डल
पशुपतिनाथलाई पनि धुलो-धुवाँको एलर्जी छ
ज्वरो आएको छ बौद्धनाथलाई
बाग्मती प्लास्टिकको घुम्टो ओढ्छिन्
सुन्दरता अढेको छ केवल सुन्दरीजलमा
लडेकाछन् रित्ता कमन्डलुहरु सडक-पेटीहरुमा
पसारो छ खाली गाग्रीहरुको थोपा चुहिने धाराहरुमा
ऊ पनि मेरो हो भन्दैन
तिमी पनि मेरो हो भन्दैनौ
म पनि मेरो हो भन्दिन
सायद कोही मेरो हो भन्दैन
हात उठाओ यो शहर कसको हो ?
यो काठमाण्डौ कसको हो ?
No comments:
Post a Comment