गणेशकुमार राई
चराहरुले गीत नगाएको पल-
उ बेला,
पाखामा बाख्रा लखेट्ने जाँगर पलाउँथेन
पालुवामा उमङ्ग भरिएको महसुस हुन्थेन
खोल्साका पानीमा गति भेटिन्थेन
र उराठ लाग्थ्यो रानीवन
चराले गाएको गीतमा कुन सङ्गीत हुन्थ्यो ?
र उनीहरुको भाका मलाई मन पर्थ्यो
तिनको कण्ठमा कुन माधुर्य खुल्थ्यो ?
र म झुम्मिन्थेँ उनीहरुको रागमा
मलाई अझैसम्म पनि थाहा छैन-
अज्ञात भाषामा गाउने चराहरुको गीत सुनेर
किन रमाउँथे होला म !
हामी बालक हुँदा मेरी आमाले पनि
अरुले नबुझ्ने भाषामा गीत सुनाउनुहुन्थ्यो
जसरी चराहरु अझै मैले नबुझ्ने भाकामा गाउँछन्
आमाले त्यसैगरि गाली गर्नुहुन्थ्यो आफ्नै भाषामा
जसरी चराहरु ठुङाठुङ गर्छन् आफ्नै लयमा
अहिले लाग्छ
आमाले बोलेको भाषा पनि
चराकै गीत रहेछ
आमाले गाउँदा देशले भाषा बुझेन
तर मन पराउँथ्यो लय
आमाको लय र भाषामा
कविता लेख्नु छ
आमाले कविता नबुझे पनि
बुझ्नुहुने छ आफ्नो भाषा
र भाषा नबुझे
देशले पनि लय त बुझ्नैपर्छ
चराको गीत अर्थात् आमाको भाका ।
No comments:
Post a Comment