Mar 31, 2015

डाक्टर साबको नाममा















हाङयुग अज्ञात 

डाक्टर साब !
मृत्यु सस्तोमा बिक्री हुने
हाटबजारमा
तपाईं किन आफ्नो मृत्युको मूल्य
करोडौं जनताको भावनामा टाँस्नु हुन्छ ?

अस्ति भर्खरै तेही खाटबाट
एकजना बुबाको जायज मागलाई
मृत्युले
हाम्रो आँखैबाट घिसार्दै लग्यो !

यो सरकारको कान छैन, डाक्टर साब !
जत्ति चर्को बोल्नुहोस्
तेत्ति बहिरो हुँदै जान्छ यो सरकार,
यो सरकारको मुटु छैन, डाक्टर साब !
जत्ति आँसु झार्नुहोस्
तेत्ति कङ्क्रीट हुँदै जान्छ यो सरकार,

डोरबहादुर विष्ट हराउने
माफियाहरूको जङ्गलमा
डाक्टर साब !
तपाईंको मृत्युुको हरियो झिंगा हेर्दै
आकाशमा घुम्दैछ्न्
सरकारका पाल्तु गिद्धहरू
उठ्नुहोस् डाक्टर साब !
अनशनको राजनीति फेल भैसकेको छ
मृत्युलाई आमन्त्रण नगर्नुहोस्
यो सरकार हाम्रो होइन डाक्टर साब !

हामीलाई
तपाईंको जीवन अमूल्य छ
सरकारलाई  त धेरैधेरै सस्तो छ
हाम्रो जीवन,

यो संक्रमण कालमा
को बौद्धिक ?
को डाक्टर ?
को इन्जिनियर ?

को कवि ?
को विद्यार्थी ?
को दार्शनिक ?
को कलाकार ?
चिन्दैन यो सरकार 
कस्सम पनि चिन्दैन
घरका इँट्टाहरू,

यो सरकारको आँखामा 
तपाईंको जीवनको मूल्य छैन
मात्र सत्ताको हवस छ डाक्टर साब !

www.hangyug.com बाट ।

No comments:

Post a Comment