नदीश
बुढ्यौलीले सयौँ मुज्जा पारेको बाबाको अनुहारमा
छन् केही खुसीका आकृतीहरु,
जस्तो, विदेश पुगेर मनग्गे कमाउदैछ छोरो
जोडिन्छ चारआना जग्गा
र बसिन्छ शानसँग राजधानीमा ।
छन् केही दुखका नक्साहरु पनि
जस्तो, कहिलै नफर्केला कि छोरो ?
हराउला कि उतै परदेशी रमझममा
चटक्कै बिर्सेर बाउ आमा र देश ।
बिरामी छिन् आमा
बिलौना गर्छिन् -
'बाबु यता भइस् भने त आधा रोग यसै निको हुन्थ्यो
अघाइन्जेल कहिले बस्न पाइन तँसँग '
म छोरो सम्झाउँछु -
'यता छु र त आधा रोग निको भैरहेछ आमा
राम्रो अस्पतालमा उपचार गर्नू सब ठीक हुन्छ ।'
म त यस्तो देश आइपुगेछु
छोडेर बुढा बा आमा एक्लै कतै अपार्टमेन्टमा
छोरा, शानसँग बसिरहेछ घर, श्रीमती छोराछोरीसँग
र भन्छ – ‘ आइ एम लिभिङ् विथ माइ फेमिली’
जिन्दगीलाइ सबैभन्दा धेरै जीन्दगीकै पीर
लाग्दोरैछ !
छोडेर हजारौँ सपनाहरु उतै
आइपुगेको छु म
हजारौँ मान्छेहरुको सपनाको देश
र घोत्लिहरेछु
कसरी निलिरहेछ हजारौँ सम्भावनाहरु
यो निर्जीब देशले
कसरी फस्दोरैछन् वाध्यताहरु
जिन्दगीको दलदलमा
र
निमेशभरमै कसरी बदलिँदो रैछ परिभाषा सपनाको
जिन्दगीमा सबैभन्दा निरश आफ्नै जिन्दगी
लाग्दोरैछ !
काम-कोठा, कोठा-काम…
चुपचाप बसेर अपार्टमेन्टभित्र
सप्ताहन्तमा हिसाब गर्नु छ आम्दानी खर्च
सोच्नु एउटै छ
कति बर्ष मोनोटोनस् जिउनुपर्ने हो
यो रोबर्ट जिन्दगी
एउटा आँगन,
एउटा छत,
र बाकीँ केही आधारभूत अभिलाषाहरुको निम्ति
फर्केर कहिले उत्खनन् गर्नु
ती पुराना सपनाहरु
सुरु गरेर शुन्यबाट जिन्दगीको मध्यान्हलाई
कहिले पुग्नु मक्किएका सपनाहरुको उचाई
र गाउनु जिन्दगीको रोमाञ्चक गीत
आफ्नै आँगनमा
उफ् जिन्दगी,
चिन्ता मात्रै गर्छस् तँ !
बूढो भैसकिछस् ।
No comments:
Post a Comment